निशा राई
धरान, चैत १८ गते । धरान-१४ स्थित विजयपुर डाँडामा रहेको पिण्डेश्वर बाबाधाम मन्दिरमा रथोत्सव सुरु भएको छ ।
कोशी प्रदेशकै प्रख्यात रुद्राक्षारण्यमा रहेको पिण्डेश्वर बाबाधाम मन्दिर महात्म्यमा रथोत्सवको उल्लेख भएका कारण यो वर्षदेखि रथोत्सव गर्न थालिएको पिण्डेश्वर बाबाधाम समितीका अध्यक्ष विकास कुमार बनेपालीले जानकारी दिनुभयो ।
परापूर्वकालमा यहाँको स्थान रुद्राक्षको जंगल रहेको र देवताहरुले अमृतको अंशद्वारा पिण्डको आकारमा निर्माण गरेर शिवजीको स्थापना गरेको मान्यता रहेको छ । देवता र दानवहरुले संयुक्त रुपमा गरेको समुन्द्र मन्थनबाट उत्पन्न अमृतको सारलाई देवताहरुले यहाँ स्थापना गरेको रुद्राक्षारण्य महात्म्यमा उल्लेख छ । भगवान श्री पिण्डेश्वरलाई रुद्राक्षका देवता पनि भनिन्छ।
भगवान श्रीपिण्डेश्वरको विविध आराधना र उत्सवहरुकाबारे रुद्राक्षारण्यमा वर्णन गरिएको र यी उत्सवहरु मध्ये भगवान विष्णुले १५ दिन पिण्डेश्वरको आराधना गरेर उत्सव मनाएको कारण पनि यो रथोत्सव गरिएको अध्यक्ष बनेपालीले बताउनुभयो ।
रुद्राक्षारण्य महात्म्यको अध्याय १६ को ४९, ५० र ५१ श्लोकमा भगवान विष्णुले चैत्र शुक्ल प्रतिपदादेखि पूर्णिमा सम्म पिण्डेश्वर महादेवको पुजा अर्चना गरेर रथोत्सव गर्नु भएको वर्णन छ । पूर्णिमाका दिन शिवगंगा (शिवजट्टा)मा गएर रथोत्सव समापन गरि भगवान श्रीहरि वैकुण्ठ प्रस्थान गर्नुभएको उक्त महात्म्यमा उल्लेख रहेको छ ।
यस्तो उत्सव यसअघिनै हुनुपर्ने हो तर अहिले आएर आयोजना हुनु पनि खुसीको कुरा रहेको जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले बताउनुभयो । यस्ता कार्यहरुले तीर्थस्थलहरुको महत्वमा श्रीवृद्धि हुने र मठ मन्दिरहरुमा धार्मिक गतिविधी भइरहन सघाउ पु¥याउने बताउनुभयो ।
यो रथोत्सवले आसन्न कोशी प्रदेश पर्यटन वर्षलाई पनि सघाउ पुर्याउने कोशी पर्यटन वर्ष निर्देशन समितिका सदस्य वासुदेव बरालले बताउनुभयो । कोशी प्रदेशको पर्यटनको मेरुदण्ड धार्मिक पर्यटन नै भएका कारण यस्ता गतिविधीले पर्यटकहरुलाई आकर्षित गर्न सक्नेमा विश्वास रहेको उहाँले बताउनुभयो ।
रथोत्सव कार्यक्रममा प्रत्येक दिन रुद्री पाठ अनुष्ठान, भगवानको विशेष पूजा अर्चना एवं प्रत्येक साँझ भजन किर्तन हुनेछ भने चैत्र २२ गते दन्तकाली मन्दिर, २३ गते बुढासुब्बा र पञ्चकन्या मन्दिर परिक्रमा गर्ने र चैत ३० गते धरान बजार रथयात्रा गरी परिक्रमा गरेर शिवजट्टामा पुगेर समापन गरिने पिण्डेश्वर बाबाधाम समितिले जानकारी दिएको छ ।