रामकृष्ण बोहरा
बागलुङ, चैत्र १८ गते । गलकोट नगर अस्पताल बागलुङले पूर्वाधारसँगै सेवा विस्तार गरेकाे छ । फिजियोथेरापी सेवा सुरु गर्न लागेको अस्पतालले त्यसको लागि भौतिक संरचना पनि थप्दै छ ।
गलकोट समाज युकेको सहयोगमा फिजियोथेरापी सेवा सञ्चालनका लागि सहयोगको प्रतिवद्धता आएपछि अस्पतालले तयारी गरेको हो । अस्पतालभित्रै चिकित्सकहरुको आवास राखेर सेवा दिने तयारी छ । चालु वर्ष नगरपालिका र प्रदेश सरकारको सहयोगमा ४० लाख रुपियाँको लागतमा चार कोठा थप गर्न लागिएको हो ।
अस्पतालमा भिडियो एक्सरे, अल्ट्रसाउण्ड, ल्याब, ओपिडी, सुत्केरीसहित पोष्टमार्टम सेवा संचालनमा छ । त्यस बाहेक अस्पतालमा फिजियोथेरापी सेवा पनि सञ्चालनको तयारी भएको अस्पतालका प्रमुख डा. राजेश पौडेलले बताउनुभयो ।
अस्पतालले एकै वर्षमा ३० हजार बढी बिरामीलाई सेवा दिएको छ । सल्यक्रिया सेवा सुरु भएपछि अस्पतालले चालु वर्षको असोजदेखि फागुन मसान्त सम्ममा १६ जनाको अपरेशन भएको छ । पालिकाले दक्ष चिकित्सक, प्रसुतीकर्मीसहित उपकरण र पूर्वाधार व्यवस्थापन गरेको डा. पौडेलले बताउनुभयो ।
नगरपालिकाले पूर्वाधार निर्माणमा साथ दिएको छ भने गण्डकी प्रदेश सरकारले सामाग्री खरिद, उपकरण तथा तालिम लगायतमा साथ दिएको डा. पौडेलले जानकारी दिनुभयो । पूर्वाधार र सामाग्री पुगेपछि परिवार स्वास्थ्य महाशाखाले गत भदौ १६ गते अस्पताललाई अपरेशन सेवाको अनुमति दिएको थियो ।
गलकोट र ताराखोलासंगै बडिगाड गाउँपालिका र राजमार्गका बिरामीले समेत नगर अस्पतालबाट सेवा पाएका छन् । दैनिक १ सय ५० देखि १ सय ८० जनासम्म बिरामी अस्पतालमा उपचार गर्न आउने गरेको अस्पतालको तथ्याङ्क छ । सेवालाई प्रभावकारी बनाउन एम्बुलेन्ससंगै पोष्टमार्टम सेवा समेत सुरु भएपछि सदरमुकाम बागलुङ बजार जाने झन्झट कम भएको स्थानीय बताउँछन् ।