• २० चैत २०८१, बुधबार

जुस र जाम बन्ने खाद्यफल जङ्गलमै नास

blog

बैतडीको सुर्नया गाउँपालिकाको धुलिधार वन क्षेत्रमा पाइने लेकाली कालो ऐँसेलु । तस्बिर: गोकर्ण दयाल

गोकर्ण दयाल   

बैतडी, चैत १८ गते । गिठा, कन्दमूल, बेल, सिता फल, हलुवाबेद, चुत्रो, ऐँसेलु, मछाइनु, लेकाली कालो ऐँसेलु, काफल, डाले चुक, तिमिलो लगायतका जङ्गली खाद्य फलको उपयोग नहुँदा खेर जाने गरेका छन् । जङ्गली खाद्य फलबाट जाम, जेली र जुस बनाउन सकिने सम्भावना भए पनि उपयोग हुन सकेको छैन । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)को तथ्याङ्क अनुसार नेपालमा २५६ वटा जङ्गली खाद्य फल रहेका छन् । जङ्गली खाद्य फल पोषणका हिसाबले अत्यन्त महत्त्वपूर्ण रहेको नास्टका वैज्ञानिक डा. लोक रञ्जन भट्टले बताउनुभयो । 

उहाँले खोज अनुसन्धान गरेर लेख्नु भएको ‘नेपालका जङ्गली खाद्यफलहरु’ पुस्तकमा २५६ वटा जङ्गली खाद्य फलको विशेषता उल्लेख गरिएको छ । २५६ खाद्य फल मध्ये आधाभन्दा बढी सुदूरपश्चिम प्रदेशमा पाइने डा. भट्टले बताउनुभयो । यद्यपि जङ्गली खाद्य फलको उपयोग हुन सकेको छैन । 

नेपालमा जङ्गली खाद्य फलका बारेमा सन् १९७८ देखि गरिएका कामको समीक्षासमेत पुस्तकमा समेटिएको उहाँले जानकारी दिनुभयो । बन फलको विविधता, खाद्य र पोषण सुरक्षा, आय र रोजगारी सिर्जनामा पुर्‍याउन सक्ने सम्भावना रहेको उहाँको भनाइ छ ।

२५६ वटा जङ्गली खाद्य फलका बिरुवाहरूको वैज्ञानिक नाम, स्थानीय नामहरू, संक्षिप्त बानस्पतिक विवरण, पारिस्थितिक, भौगोलिक वितरण, फूल फुल्ने र फल लाग्ने समय, उपयोग र पोषण सम्बन्धी जानकारी समावेश गरिएको छ ।

पोषण र खाद्य सुरक्षामा टेवा  

जङ्गली फलफूल मध्ये डाले चुक पोषणका हिसाबले अत्यन्तै उपयोगी रहेको बताइएको छ । डाले चुकमा भिटामिन र एन्टिकक्सिडेन्ट प्रशस्त मात्रामा पाइने भएकाले यो फल पोषणका लागि वरदार भएको नास्टका वैज्ञानिक डा. लोक रञ्जन भट्टले बताउनुभयो । 

खाद्य सङ्कटका बेला जङ्गली खाद्य फल घँगारु, बेडु, तिमिलो खाएर छाक टारेको दशरथ चन्द नगरपालिका–६,का गोविन्दराज जोशीले अनुभव सुनाउनुभयो । उहाँले बुवा बाजेका पालमा मेलको रोटी खाएको स्मरण गर्नुभयो । 

पछिल्लो समय बढी उपभोग हुने जङ्गली खाद्य फल काफल हो । चैतदेखि वैशाखसम्म पाक्ने यो फल वन जङ्गलबाट टिपेर व्यापारसमेत हुने गरेको छ । काफलपछि किरमडा (चुत्रो), ऐँसेलु र लेकाली कालो ऐँसेलुको व्यापार नभए पनि गाउँघरमा उपभोग हुँदै आएको छ । 

यो बाहेकका कयौँ जङ्गली खाद्य फल वनमै खेर गइरहेको भूमिहीन र खाद्य अधिकारको अगुवाई गरिरहनु भएको अधिकारकर्मी नरीराम लोहारले बताउनुभयो । उहाँले सुदूरपश्चिमको बैतडी लगायतका पहाडी जिल्लामा पाइने जङ्गली खाद्य फलबाट जाम,जेली र जुस बन्न सक्ने सम्भावना भए पनि प्रविधि र सीप सिकाउने निकाय नभएको गुनासो गर्नुभयो ।