• २० चैत २०८१, बुधबार

सुपरखुदी जलविद्युतले नसमेटेको भन्दै स्थानीय आन्दोलित

blog

आयोजनाको प्रभावितमा नसमेटिएको भन्दै आन्दोलित स्थानीयवासी सञ्चारकर्मीलाई गुनासो सुनाउँदै । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, चैत १८ गते । मर्स्याङ्दी गाउँपालिकाको वडा नं. २, ३ र ९ भएर बग्ने खुद खोलामा निर्माणाधीन २६ मेगावाट क्षमताको सुपर खुदी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रमा नसमेटेको भन्दै वडा नं. ९ का बासिन्दा आन्दोलित भएका छन् । 

करिब ६० प्रतिशत काम सकिँदा पनि आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआईए)मा अति प्रभावित ९ नम्बर वडालाई समावेश नगरी सञ्चालन गरेको र अहिले संस्थापक सेयर (प्रमोटर सेयर)मा समेत यस वडालाई समावेश नगरेको विषयप्रति स्थानीय आक्रोशित भएका हुन् । आयोजनाको सरोकार तथा सहयोगी समिति साथै छरछिमेक कार्यक्रममा समेत मुख्य प्रभावित यस वडाका प्रतिनिधिलाई समावेश नगराएकोमा स्थानीयको आपत्ति छ ।

आयोजनालाई ध्यानाकर्षण गराउन स्थानीयले रामबहादुर थापाको नेतृत्वमा समन्वय तथा सङ्घर्ष समिति गठन गरेको छ । उस्तै प्रकृति र अवस्थितिका वडा नं. २ घन पोखरा र वडा नं. ३ खुदी प्रभाव क्षेत्रमा समावेश गरिएको र वडा नं. ९ सिम्पानीलाई बेवास्ता गरिएको सङ्घर्ष समितिका संयोजक राम बहादुर थापाले बताउनुभयो । “खोलामा बाढी आउँदा हाम्रै घर खेत बनाएको छ । सडक भत्काएको छ”, थापाले भन्नुभयो, “तल्लो तटीय क्षेत्रका हामीले क्षति र दुःख बेहोर्ने, लाभ भने दिन नमान्ने ? यो त अन्याय भयो भनेर आन्दोलित भयौँ ।” 

आफूहरूले यस विषयमा एक वर्ष देखि आवाज उठाए पनि सम्बन्धित पक्षबाट सुनुवाइ नभएको वडाध्यक्ष हरिश्चन्द्र थापाले बताउनुभयो । “हाइड्रोलाई भने पनि मान्दैन, पालिकाले पनि सहजीकरण गरिदिँदैन । हामी त अन्यायमा पर्‍यौं”, वडाध्यक्ष थापाले भन्नुभयो, “सुनुवाइ नभएपछि आन्दोलनसँगै ऊर्जा मन्त्रालयमा गुहार मागेका छौँ ।”

थापाका अनुसार ऊर्जा मन्त्रालयको वातावरण विभागले विद्युत् विकास विभागलाई स्थानीयको मागबारे ध्यानाकर्षण गराएको छ । गाउँपालिकाले समन्वय तथा सङ्घर्ष समितिलाई साथ दिनुपर्नेमा त्यस्तो नभएको भन्दै समितिका अध्यक्ष थापाले दुःखेसो पोख्नुभयो । पूर्व वडाध्यक्ष नारायणबहादुर थापाले खुदीखोलाले सिम्पानीको तटीय क्षेत्र कटान गर्नेदेखि मठमन्दिर, अन्त्येष्टि गर्ने संरचनाहरूमा क्षति पुर्‍याएको तर त्यसको कुनै परवाह नगरिएको बताउनुभयो ।

मर्स्याङ्दी गाउँपालिकाका पूर्व उपाध्यक्ष होमबहादुर विकले यस विषयमा सिम्पानीबासी माथि अन्याय भएको बताउनुभयो । सरोकारावालाहरुले उठाएको मागलाई गाउँपालिकाले सकारात्मक रूपमा समन्वय गरिदिनुपर्नेमा सहयोग नगरेको उहाँले बताउनुभयो । 

स्थानीयले माग पूरा नभए काममा अवरोध गर्ने चेतावनी दिएपछि आयोजना पक्ष संवादमा आएको छ । आयोजनाका साइड इन्चार्ज कृष्णदास श्रेष्ठले वार्ताबाट समाधान निकाल्न सकारात्मक रहेको र सञ्चालकहरूले केही दिनको समय मागेको बताउनुभयो ।

रन अफ दि रिभर प्रकृतिको यो आयोजनाबाट बार्षिक १२९ दशमलव १९ गिगावाट प्रतिघण्टा विद्युत् उत्पादन हुने निर्माण कम्पनी सुपर खुदी हाइड्रोपावरले जनाएको छ ।