• २० चैत २०८१, बुधबार

प्रदेशस्तरीय अन्तरपालिका महिला भलिबलको उपाधि चुरेलाई

blog

उपाधि चुमेको चुरो गाउँपालिकाका खेलाडीलाई पुरस्कार वितरण गर्दै सामाजिक विकास राज्य मन्त्री सरस्वती खड्का । तस्बिर: पुष्कर भण्डारी

पुष्कर भण्डारी 

डडेलधुरा, चैत १८ गते । जिल्ला सदरमुकामको टुँडिखेलमा सम्पन्न द्वारिकादेवी ठकुरानी स्मृति प्रदेश अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि चुरे गाउँपालिका कैलालीले जितेको छ । आइतबार अपराह्न भएको फाइनल खेलमा नौगाड गाउँपालिका दार्चुलालाई हराउँदै चुरेले उपाधि जितेको हो । उपाधिसँगै चुरेले एक लाख १११ रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

चुरेले फाइनलमा नौगाडलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको आयोजक जिल्ला भलिबल सङ्घ डडेलधुराका अध्यक्ष राजेन्द्र ठगुन्नाले जानकारी दिनुभयो । उहाँका अनुसार द्वितीय भएको नौगाडले ५१ हजार एक सय ११ रुपियाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा अमरगढी नगरपालिका डडेलधुरालाई हराउँदै डडेलधुराकै परशुराम नगरपालिका तृतीय भयो । परशुरामले २५ हजार एक सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको अध्यक्ष ठगुन्नाले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको पाँच लाख रुपियाँ बजेटमा जिल्ला भलिबल सङ्घ डडेलधुराले शुक्रवारदेखि अमरगढी नगरपालिका ४ टुँडिखेलमा प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा डडेलधुराका तीन, बैतडी, दार्चुला र कैलालीका एक एक गरी ६ टिमले सहभागिता जनाएका थिए । 

प्रतियोगिताको समापनमा बोल्दै सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले जिल्लामा खेल मैदानको आवश्यकता रहेको उल्लेख गर्दै आउँदो बजेटमा खेल मैदान निर्माणका लागि रकमको सुनिश्चित गर्ने बताउनुभयो । यस अघि भएको अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिताको फाइनलमा आफू उपस्थित भएको र खेल क्षेत्रमा महिलाको विकासका लागि यस वर्ष पाँच लाख रकमको योजना बनाई प्रतियोगिता सञ्चालन गर्न सफल भएको उहाँले जानकारी दिनुभयो ।

भलिबल इनडोर खेलिने प्रतियोगिता हो । उहाँले भन्नुभयो, हाम्रो जिल्लामा इनडोर खेलाउन आवश्यक पूर्वाधार छैन । तर पनि हाम्रा युवतीलगायत युवाहरू भलिबल खेल तर्फ निकै आकर्षित छन् । राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडीहरू पनि यस जिल्लाले जन्माएको छ । आगामी बजेट आउँदासम्म म राज्यमन्त्रीमा भए पनि नभए पनि भलिबल खेलकालागि आवश्यक पूर्वाधार निर्माण गर्न रकमको माग गर्ने छु । हामी सबैले खेल मैदान निर्माणका लागि आ आफ्नो क्षेत्रबाट पहल गरौँ । मेरो यही आग्रह छ ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नेपाल सरकारको नारा नै रहेको उल्लेख गर्दै उहाँले युवालाई खेलकुदमा जोड्न सके लागु पदार्थ दुर्व्यसनी र आपराधिक घटनाबाट टाढा राख्न सकिने बताइन । कुलतमा नलाग्न उहाँले युवाहरूलाई आग्रह गर्नुभयो ।