• २० चैत २०८१, बुधबार

पुल मर्मतका लागि बजेट आएन कार्यान्वयनमा

blog

स्याङ्जा र गुल्मी जोड्ने कालीगण्डकी नदीमा जीर्ण अवस्थामा रहेको पुल । तस्बिर : तिलाचन पाण्डे

तम्घास समाचारदाता

तम्घास, चैत १८ गते । एक दशकदेखि जीर्ण रहेको मोटरेबल पुल मर्मतका लागि बजेट भए पनि कार्यान्वयनमा आएको छैन । स्याङ्जाको मिर्मी र गुल्मीको हर्मीचौर जोड्ने गरी कालीगण्डकी नदीमा २०५२ सालमा इटालियन सरकारले निर्माण गरिदिएको मोटरेबल पुल जीर्ण भएपछि गण्डकी प्रदेशले पुल मर्मतका लागि ८० लाख रुपियाँ बजेटको व्यवस्था गरेको थियो तर त्यसको कार्यान्वयन गर्ने पूर्वाधार विकास कार्यालय स्याङ्जाका इन्जिनियर शिव ढुङ्गानाले उक्त स्थानमा रहेको पुल मर्मत गर्न नसकिने निष्कर्षमा पुगेको बताउनुभयो । पुल धेरै पुरानो भएको र उक्त स्थानमा नयाँ पुल नै आवश्यक देखिएकाले हाललाई मर्मत गर्ने कार्य कार्यान्वयन गर्न नसकिने उहाँको भनाइ छ । 

स्थानीय सडक तथा पुल शाखा पोखराको विज्ञ टोली र स्थानीय जनप्रतिनिधिसहितको टोलीले स्थलगत अनुगमन गर्दा उक्त स्थानमा नयाँ पुल नै आवश्यक देखिएको हो । कालीगण्डकी जलविद्युत् परियोजना ‘ए’ निर्माणका क्रममा गुल्मीको हर्मीचौर र स्याङ्जाको मिर्मीलाई जोड्ने गरी कालीगण्डकी नदीको रेप्कामा इटालियन सरकारले निर्माण गरिदिएको पुल जीर्ण बन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य भएको सवारीचालकले गुनासो गर्दै आएका छन्  । 

कालीगण्डकी नदीले पुलका पिल्लरमा कटान गर्दै लगेपछि पुल जीर्ण बन्दै गएको हो । बुटवल र पोखरादेखि गुल्मीको पूर्तिघाट र बागलुङसम्म जाने सवारीसाधनले सो पुल प्रयोग गर्दै आएका छन् । पुल जीर्ण बन्दै गर्दा पनि सरोकारवाला कसैले विकल्पका रूपमा नयाँ पुल बनाउन पहलकदमी नलिएको सवारीचालक र स्थानीयले गुनासो गर्दै आएका छन् ।  

जुनसुकै समयमा पनि पुल भत्किन सक्ने भन्दै हजारौँ जनताको जिउधनबारे कसैले पनि चासो नदेखाएको सवारीचालक गगन तरामुले गुनासो गर्नुभयो । सो पुल हुँदै जोखिम मोलेरै यात्रा गर्नुको विकल्प नरहेकाले मुटु दरिलो बनाएर मात्रै यात्रा गर्ने गरेको सवारीचालक बताउँछन् । बर्सौंदेखि जीर्ण अवस्थामा रहेको पुलबारे हालसम्म पनि कसैको ध्यान पुग्न नसक्नु दुःखद भएको यहाँका स्थानीयले जनाएका छन् । खोला नै नभएका ठाउँमा पुल निर्माण गर्ने प्रचलन हुनुले पनि यो समस्या भएको तरामुले बताउनुभयो । यता कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष वेदबहादुर थापाले उक्त स्थानमा नयाँ पुलका लागि पहल भइरहेको दाबी गर्नुभएको छ ।