बबई समाचारदाता
बबई (बर्दिया), चैत १८ गते । गुलरियाको हिमाली आधारभूत विद्यालय र कृष्णसार आधारभूत विद्यालयका किशोरकिशोरी हिजोआज साथीसँग खुलेरै यौन तथा प्रजनन स्वास्थ्यका कुरा गर्छन् । गुलरियामा रहेको राधाकृष्ण थारू जनसेवा केन्द्रले हिमाली आधारभूत विद्यालय र कृष्णसार आधारभूत विद्यालयका किशोरकिशोरीलाई दौँतरी शिक्षा तालिम दिएपछि उनीहरू खुलेर यौन तथा प्रजनन स्वास्थ्यका कुरा गर्ने भएका हुन् ।
गुलरियाको राधाकृष्ण थारू जनसेवा केन्द्रले हिमाली आधारभूत विद्यालयका १० र कृष्णसार आधारभूत विद्यालयका १० गरी २० जनालाई दौँतरी शिक्षाको तालिम दिएपछि उनीहरू हिजोआज खुलेर यौन तथा प्रजनन स्वास्थ्यका कुरा गर्ने भएका छन् । विद्यालयमा मात्र होइन, विद्यालय समयभन्दा बाहिर फुर्सदको समयमा पनि उनीहरू आफ्ना साथीहरूको घरमा गएर बालविवाह नगर्न, प्रजनन स्वास्थ्यका कुरा साथीभाइसहित साथीका अभिभावकलाई सम्झाउने गर्छन् ।
आफूले विद्यालयमा अध्ययन गरेको विषय र तालिममा आफूहरूले पाएको ज्ञान तालिम नलिएका साथीमा बाँड्न पाउँदा निकै खुसी लागेको कृष्णसार आधारभूत विद्यालयकी छात्रा लक्ष्मी गोडियाले बताउनुभयो ।
आफूहरूले पाँच दिनसम्म लिएको तालिम समुदाय र आफ्ना साथीभाइसमक्ष सुनाउन र सजग गराउन खाली समयको समेत सदुपयोग भएको र किशोरकिशोरीको यौन तथा प्रजनन अधिकारका विषयमा आफूहरूले कुरा गर्ने गरेको हिमाली आधारभूत विद्यालयका छात्र मोहम्मद हुसैनले बताउनुभयो । राधाकृष्ण थारू जनसेवा केन्द्रले गत वर्षदेखि गाउँस्तरमा रहेका विद्यालयमा स्वच्छ खानेपानी र किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी चेतनामूलक काम गर्दै आइरहेको राधाकृष्ण थारू जनसेवा केन्द्रका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठले बताउनुभयो ।
विद्यालयमा अध्ययन गर्ने अधिकांश बालबालिका मधेशी समुदायका भएकाले उनीहरूको स्वास्थ्य सबल बनाउनका लागि किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजना अन्तर्गत दौँतरी शिक्षामार्फत उनीहरूलाई तालिम दिएपछि उनीहरूले साथीसँग यौन तथा प्रजनन स्वास्थ्यका कुरा गरून् र स्वास्थ्य सबल होस् भन्ने उद्देश्यले तालिम दिइएको राधाकृष्ण थारू जनसेवा केन्द्रका कर्मचारी सुमित्रा पौडेलले बताउनुभयो ।