धुलिखेल (काभ्रेपलाञ्चोक), चैत १८ गते । यहाँको महाभारत गाउँपालिका–५ मुख्य टोलका नीरज पुलामीले कफीखेतीबाट आम्दानी लिन थाल्नुभएको तीन वर्ष भयो । मकैको तुलनामा कफी खेतीबाट धेरै आम्दानी हुने भएपछि अहिले उहाँ मकै छाडेर कफी खेतीमा लाग्नुभएको छ ।
यसअघि उहाँ मकै खेतीको भरमा हुनुहुन्थ्यो । तीन वर्ष अगाडि छ सय बोट कफी रोपेर खेती सुरु गर्नुभएका उहाँले हाल नयाँ बोटहरु रोप्ने तयारीमा बारीभरि खाल्डो खन्नुभएको छ । “यसवर्ष मात्रै चार सय किलो फल्यो”, उहाँले भन्नुभयो, “केही बिक्री भयो, केही बाँकी छ ।” दाजुभाईकोसहित गरेर उहाँहरुले १८ रोपनीमा कफी लगाउनुभएको छ । कफी काँचो प्रति केजी रु एक सय ३० र सफा गरेर सुकाएपछि रु आठ सय ३० सम्ममा बिक्री गर्नुभएको उहाँले बताउनुभयो ।
करिब १० वर्ष अगाडिदेखि थोरै मात्रामा कफी खेती सुरु गर्नुभएका सोही गाउँका अर्का किसान लालबहादुर मोक्तानले पनि मकै खेतीभन्दा कफीबाट राम्रो आम्दानी भएपछि कफी खेतीलाई प्राथमिकता दिनुभएको छ । स्थानीय सरकारले सिँचाइको व्यवस्था गरिदिएमा अझ उत्पादन वृद्धि गर्न सकिने मोक्तानको भनाइ छ ।
नीरज र लालबहादुर मात्रै होइनन् । यहाँका अधिकांश किसान कफीखेतीतर्फ आकर्षित भएका छन् । उत्पादन भएको कफी बिक्रीका लागि बजारसम्म धाउनु नपर्ने, घरमै खरिद गर्न व्यापारी आउने भएकाले पनि जिविकोपार्जनमा टेवा पुगेको स्थानीय कान्छा ब्लोन बताउनुहुन्छ । मकैले खाद्यान्नका रुपमा मात्रै धान्ने गरेकामा कफीबाट नगद प्राप्त गर्न सकिने भएकाले मकैभन्दा कफी सबैको रोजाइ बन्न थालेको उहाँले बताउनुभयो ।
महाभारत गाउँपालिका–४ कोलटार लामागाउँका जगतबहादुर र शङ्खलाल थोकरले कफी खेती गरेर वार्षिक रु १५ लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।
वडा नं। ५ का वडा अध्यक्ष विजय राना मगरले किसानहरुले कफी खेतीमा चासो दिनथालेपछि कफी उत्पादनलाई अभियानकै रुपमा अगाडी बढाएको बताउनुभयो । त्यसमा सिँचाइको आवश्यक भएकाले गाउँपालिका र प्रदेश सरकारले सहयोग गरेमा यहाँको किसानको जीवनस्तर परिवर्तन गर्न सकिने उहाँको भनाइ छ ।
महाभारत साना किसान कृषि सहकारी संस्था लिमिटेडले कफीका लागि आवश्यक तालिम, प्रशोधन गर्ने मेसिन, सुकाउने तारजाली, त्रिपाललगायतका सामग्री सहहयोग गर्दै आएको संस्थाका अध्यक्ष हस्तबहादुर दर्लामीले बताउनुभयो ।
महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले गाउँपालिकाले किसानको आर्थिक उपार्जनमा सहयोग पु¥याउने गतिलो माध्यम कफी खेती भएकाले पालिकाले अनुदानमा खेतीलाई व्यवसायीकरण गर्दै लगेको बताउनुभयो । डाँडापारिको जनताको लागि पहिलो आवश्यकता बाटो र बिजुली रहेकामा त्यसलाई पूरा गरेर हाल नागरिकको जीवनस्तर माथि उठाउन कफी उत्पादनमा जोड दिएको र बिरुवा वितरण, प्रशोधन उपकरणलगायत अन्य सामग्री वितरण गर्दै आएको उहाँले बताउनुभयो ।
कफी खेतीलाई वृद्धि गर्न पालिकाको ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ २० को नोट’ अभियान चलाएको र सो विवरण कृषि शाखामा पेस गरेर एक बोट बराबर रु २० का दरले अनुदान दिँदै आएको उहाँको भनाइ छ । सोही योजनाअनुसार वडा नं। ५ मा कफी उत्पादन अभियानलाई प्रभावकारी बनाउन बागमती प्रदेश सरकारसँगको साझेदारीमा ‘समुदायमा आधारित एक वडा, एक उत्पादन’ कार्यक्रम लागू गरिसकेको उहाँले बताउनुभयो ।
कृषि विकास कार्यालय प्रमुख कुलप्रसाद दवाडीले महाभारत गाउँपालिकामा गत वर्षबाट सामुदायमा आधारित एक वडा, एक उत्पादन कार्यक्रम सञ्चालन हुँदै आएकामा यसवर्ष कफी उत्पादनको क्षेत्रमा उत्पादन गुणस्तर र उत्पादकत्व वृद्धिका लागि कफी प्रशोधन प्रविधि विषयक तालिम प्रदान गरिएको बताउनुभयो । महाभारत गाउँपालिकामा कफी उत्पादनको काम सम्झौता गरेर कार्यान्वयनको चरणमा अगाडि बढाइसकेको र खानीखोला गाउँपालिकामा सम्झौताको चरणमा रहेको उहाँले जानकारी दिनुभयो ।
यस वर्ष मात्रै ४० हजार कफीको विरुवा वितरण गर्ने र गरिरहेको खेतीलाई प्रविधिमैत्री बनाएर गुणस्तरीय कफी उत्पादनमा जोड दिने कृषि कार्यालयले जनाएको छ । त्यसका लागि किसानलाई पलपर मेसिन, सुकाउनका लागि त्रिपाल वितरण र कफीमा देखिने रोगका समस्या समाधानका लागि तालिम दिइरहेको कार्यालय प्रमुख दवाडीको भनाइ छ ।
यसवर्ष सो वडामा प्रदेश सरकारको रु ३० लाख, गाउँपालिका र किसानको १०/१० लागत गरी रु ५० लाख लागत साझेदारीमा कफी प्रशोधनमा प्रविधिको प्रयोग र सामग्री वितरण भइरहेको छ । रासस