• २० चैत २०८१, बुधबार

खट जुधाउँदै सकियो ‘पाँहाचह्रे’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १८ गते । नेवार समुदायको चाड अन्तर्गत पाँहाचह्रेको तेस्रो दिन तथा अन्तिम दिन असन जात्रा (न्हि जात्रा) धुमधामसाथ मनाइएको छ । काठमाडौँको असनमा आइतबार रातो, निलो र पहेँलो टोपीमा सझिएर देवीको खट घुमाई चिलाख साटिएको छ ।  हरेक वर्ष घोडेजात्राको भोलिपल्ट तिन अजिमा अर्थात् लुँमडी अजिमा, कङ्ग अजिमा र तेबहाल (वचुँ) अजिमालाई आआफ्ना ठाउँबाट बाजागाजासहितको टोलीले खट जात्रा गरी असन पुर्‍याएर जात्रा सम्पन्न गरिन्छ । यो जात्रालाई नेवारी भाषमा ‘द्यःल्वाकेगु’ जात्रा (खट जुधाउने जात्रा) पनि भनिन्छ ।

पहेँलो टोपीले सजिएको समूहले आफ्नो काँधमा लुमडी भद्रकाली र निलो समूहले वचुँ भद्रकालीको खट बोकेका थिए । यस्तै रातो टोपी लगाएको समूहले कङ्ग अजिमा खट बोकेको थियो । यसरी तीन ठाउँबाट आएका अजिमालाई असनमा भेला गराई एकापसमा घुमाइएको थियो । तीन दिदीबहिनीको रथ एकआपसमा ठोक्काउने नभई एकअर्कालाई आदर र सम्मान गरिने चलन छ । यस क्रममा दियोसहितको चिलाख साटासाट गरिएको थियो । चिलाख साटासाट गर्ने परम्परालाई रथ जुधाउने भनिने संस्कृतिविद् डा. चुन्दा वज्राचार्यले बताउनुभयो । उहाँले तीन देवीको खट असनचोक पुगेपछि घर घरबाट चामलको रोटी अर्थात् चटामरी फाल्ने चलन रहेको बताउनुभयो । 

डा. वज्राचार्यका अनुसार यसरी फालिएको चटामरी फेला पार्नेलाई शुभ हुने जनविश्वास छ । त्यसपछि अर्को वर्ष टुँडिखेलमा पुनः भेट गर्ने वाचाका साथ असन जात्रा (न्हि जात्रा) सम्पन्न हुन्छ । सांस्कृतिक अभियन्ता राजन महर्जनले पहिले असनमा सात खट जात्रा गरी ‘द्य ल्वाकेगु’ जात्रा हुने स्मरण गर्दै अहिले दुई देवीको मात्र हुने जानकारी दिनुभयो । तीन वटा खट भए पनि दुई वटा खट भद्रकाली (लुँमडी र वचुँ अजिमा) र एउटा खट कङ्केश्वरीको हुन्छ ।