सन्तोष दहित
दाङ, चैत १७ गते । तुलसीपुर उपमहानगरपालिका ९ स्थित कृष्ण मन्दिरको ओरालोमा केशर शाहीको घरको फूलबारीमा अहिले बगमबेली फूल फुलेर मनमोहक वातावरण बनाएको छ । फूलले आफ्नो आकर्षक रंग र बगमबेलीको अनौठो फूलझरिका कारण स्थानीय र बाह्य पर्यटकहरूको मन तानेको छ ।
खासगरी रातो र सेतो फूलहरूको संयोजनले यो फूलबारीलाई आकर्षक बनाएको छ । तुलसीपुर बजारदेखि करिब ३ किलोमिटर पश्चिम कृष्ण मन्दिरको ओरालोमा फूल हेर्न र फोटो खिच्न विभिन्न ठाउँबाट मानिसहरू आउनेगरेको स्थानीयहरु बताउँछन् । स्थानीय श्याम केसीका अनुसार तुलसीपुर सुर्खेत सडक खण्डमा गाडी रोकेर फोटो खिच्न र टिकटक बनाउन आउनेहरूको भीड दिन प्रतिदिन बढ्दै गएको छ।
बिहान र बेलुकीका समयमा यहाँको दृश्य एकदमै आकर्षक र सुन्दर देखिने गरेको उहाँले बताउनुभयो । बेलुकीपख मेलाजस्तो लाग्छ, उहाँले भन्नुभयो, भिडियो र फोटो खिचाउनेहरुको भिड सधैं लाग्छ ।
तुलसीपुर सुर्खेत रोडको सडक खण्डमा रहेको बगमबेली फूलमा फोटो खिचाउन बजार आउने र बजार फर्किने नागरिकहरु गाडी रोकेर फोटो खिचाउने गरेको उहाँले बताउनुभयो । एउटै बोटमा रातो र सेतो फूल्ने बगमबेली फूलले आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षणको केन्द्रविन्दु बनेको छ । उहाँको अनुसार अहिले घोराहीदेखि पश्चिम हापुरसम्मका मानिसहरु त्यहाँ टिकटक बनाउन आउँछन् ।
विहान र बेलुकीपख भीड थामी नसक्नेहुन्छ, केसीले भन्नुभयो, विहानभन्दा बेलुकीपख बजारका नागरिकहरु त्यहाँ टिकटक बनाउने र फोटो खिचाएर फर्किने गर्नुहुन्छ । घरधनी केशर शाहीले आफ्नो घरको सौन्दर्यको लागि घरको वरिपरिदेखि आँगनभरि विभिन्न किसिमका फूलहरु रोप्नुभएको छ ।