काठमाडौँ, चैत १७ गते। प्रेस चौतारी नेपालले यही चैत १५ गते शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा पत्रकार सुरेश रजकको मृत्युका सम्बन्धमा छानबिन गर्न माग गरेको छ।
आज एभिन्यूज टेलिभजनको केन्द्रीय कार्यलयमा आयोजित ‘शोकसभा’मा चौतारीका अध्यक्ष गणेश पाण्डेले एभिन्यूज टेलिभजनकर्मी रजकको मृत्युको सम्बन्धमा तत्काल छानबिन गर्न र उहाँका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्नुभयो।
शुक्रबार भएको प्रदर्शनका क्रममा पत्रकार रजक र प्रदर्शनकारी सविन महर्जनकोे पनि मृत्यु भएको थियो। प्रदर्शनका क्रममा नेपाल प्रहरीका ५३, सशस्त्र प्रहरी बलका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएको भएको प्रहरीले जनाएको छ।
त्यसैगरी प्रदर्शनकारीले नौ वटा सरकारी सवारी साधन, छ वटा सरकारी वा निजी नखुलेका सवारी साधनमा आगजनी गरेका थिए। प्रदर्शनकारीले विभिन्न १४ स्थानमा आगजनी गर्नुका साथै नौ वटा संस्थामा तोडफोड र एक स्थानमा लुटपाट गरेका थिए। रासस