• १९ चैत २०८१, मङ्गलबार

गुल्मीमा रेडक्रसको नयाँ नेतृत्व

blog

नवनिर्वाचित पदाधिकारी शपथ ग्रहण गर्नुहुँदै । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 

गुल्मी, चैत १७ गते। नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखाको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ। शनिबार जिल्लाको सदरमुकाम तम्घासमा भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको ४१ औँ साधारण सभाको अधिवेशनले नयाँ कार्यसमितिलाई सर्वसम्मत चयन गरेको हो। 

अधिवेशनबाट नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखाको सभापतिमा कृष्णप्रसाद भण्डारी सर्वसम्मत निर्वाचित हुनुभएको छ। शाखाको १७ सदस्यीय कार्यसमितिको उपसभापतिमा राधा पन्थी र लालबहादुर कुँवर रहनुभयो। मन्त्रीमा ज्ञानहरि सापकोटा, कोषाध्यक्षमा महेन्द्रप्रसाद भण्डारी, उप-मन्त्रीमा ईश्वरी पौडेल र उप-कोषाध्यक्षमा विष्णुप्रसाद भण्डारी सर्वसम्मत निर्वाचित हुनुभयो। 

त्यसैगरी सदस्यमा अनुपकुमार श्रेष्ठ, पिताम्बर अर्याल, अनन्तराम पौडेल, टंकप्रसाद पन्थ, सरस्वती भण्डारी, सावित्रा श्रेष्ठ, मिठु गौतम घिमिरे, महेन्द्र गौतम, पूर्णलाल आचार्य र मेघराज न्यौपाने सर्वसम्मत निर्वाचित हुनुभयो। शाखाको कार्यसमिति चयनका लागि भएको उम्मेदवारी दर्ता आवश्यक पद र सङ्ख्या अनुसार उम्मेदवारी दर्ता भएपछि निर्वाचन समितिले कार्यसमिति सर्वसम्मत भएको घोषणा गरेको हो। 

साधारणसभामा निवर्तमान कार्यसमितिका मन्त्री लालबहादुर कुँवरले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष ज्ञानहरि सापकोटाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पनि सर्वसम्मत रूपमा पारित भएको हो। यस शाखामा तीन हजार ५०४ आजीवन, १६ साधारण, २१ विशिष्ट, चार यशष्कर, तीन हजार २५ जुनियर र २६ हजार ५९१ युवा सदस्य रहेका छन्।

साधारणसभासँगै अधिवेशनको उद्घाटन गर्नुहुँदै रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले विपद र विपत्तिमा उद्धारका लागि सरकारभन्दा पहिला रेडक्रस पुगेको बताउनुभयो। नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले सामाजिक र मानवीय सेवामा समर्पित सबैभन्दा ठुलो संस्था रेडक्रस भएको बताउनुभयो।