अविनाश चौधरी
धनगढी, चैत १७ गते। कञ्चनपुरको बेलौरी नगरपालिका–२ स्थित टेंढुवा गाउँ पसेको पाटेबाघलाई नियन्त्रणमा लिइएको छ।
वनकर्मीसहित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकति संरक्षणको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिएको हो। शुक्रबार राति टेंढुवा गाउँ पसेर बाघले एक स्थानीयको बाच्छोलाई मारेको थियो। हिजो दिनभरि गहुँबारीमा बसेको बाघ आज बिहान त्यसमा देखिएको थिएन।
हिजो बसेको स्थानभन्दा केही पर गहुँमै फेला पारेर आज दिउँसो बाघलाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामविचारी ठाकुरले बताउनुभयो। “बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिइसकेका छौं”, उहाँले भन्नुभयो।
गाउँ पसेको बाघ नियन्त्रणका लागि वनकर्मीसहित सुरक्षाकर्मीको टोलीले रातभरि पहरा दिएका थिए। नियन्त्रण गरिएको बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पठाइने ठाकुरले जानकारी दिनुभयो। गाउँमा बाघ पसेपछि स्थानीय त्रसित बनेका थिए।