• १९ चैत २०८१, मङ्गलबार

अराजक शान्तिपूर्ण आन्दोलन

blog

चैत १५ नेपालको इतिहासमा बुद्धिहीनहरूको सबैभन्दा ठुलो भेला भएको दिनका रूपमा अङ्कित हुन पुगेको छ । एकातिर काठमाडौँको प्रदर्शनीमार्गमा गणतन्त्रवादीको भेला आयोजना गरिएको थियो भने अर्कोतिर कोटेश्वरको तीनकुनेमा राजावादीको सभा थियो । गणतन्त्रको रक्षार्थ उभिएकाको विभिन्न स्थानबाट निस्किएका जुलुस शान्तिपूर्ण रहे । प्रदर्शनीस्थलमा एकत्रित भएपछिको भेला पनि शान्तिपूर्ण नै रह्यो । जनताका अधिकारका नाममा गरिएका कार्यक्रम समय असमय जस्तोसुकै अवस्थामा भए पनि गलत भन्न मिल्दैन र कुनै दोष लगाउने ठाउँ नदिई नै भृकुटीमण्डपको कार्यक्रम समापन भयो । जनताले प्राप्त गरेका अधिकार व्यक्ति विशेषका हातमा सुम्पने उद्देश्यका साथ आयोजना गरिएको तीनकुनेको कार्यक्रम भने प्रारम्भको विन्दुमै गलत थियो । कार्यक्रम सर्वसाधारणलाई असह्य पीडा दिँदै टुङ्गिएको छ ।

तीनकुनेमा दुई जना निर्दोष युवाको ज्यान गयो । जीवन र मृत्युको दोसाँधमा अस्पतालमा उपचार गराइरहेका अरू दर्जनौँ सर्वसाधारण छन् । मृतकको यो सङ्ख्यामा वृद्धि नहोस् भन्ने कामना हृदय भएकाहरूले गरिरहेका छन् भने अरू केही मृतक थपिए रगतको होलीमार्फत सत्ता परिवर्तन गर्न सहज हुने अपेक्षा निर्दयीहरूले गरिरहेका पनि हुन सक्छन् । अलिक बढी र सामान्य घाइतेको सङ्ख्या सरकारी आँकडामा ११० भनिए पनि सरकारका नजरमा नपुगेका अरू धेरै हुन सक्ने सम्भावना छ । रगतकै आहालमा हुर्केका र सत्ताका लागि रगत बगाउन र आफ्नै ज्यान दिन पछि नपर्नेहरूका लागि यो घटना सामान्य नै लाग्न सक्छ तर कुरो बुझेर र नबुझीकनै जुलुसमा होमिन पुगेका निहत्ता नागरिक दुई जनाको मात्रै ज्यान जानु पनि लोकतन्त्रवादीका लागि दुःखद हो । 

चैत १५ को दिन पूर्वराजा र उनका समर्थक भनिएकाहरूलाई सामान्य नै लाग्न सक्ला किनभने विसं २०४६ र विसं २०६२–६३ का जनआन्दोलनमा यस्ता घटना कति भए कति । राजावादीको नेतृत्व गरेका नवराज सुवेदीलाई यो घटना फासफुस बराबर लागेको हुन सक्छ किनभने हजारौँ मान्छे सडकमा उत्रँदा अराष्ट्रिय तब देख्ने गरेका उनलाई एक सय दस बीस जना घाइते हुनु केही जस्तो नलाग्न सक्छ । यस्तैमा रमाउँदै आएका कमल थापा र राजेन्द्र लिङ्देनहरूका निमित्त पनि खुसीकै समाचार बन्न सक्छ । अराजकतामै रमाउने दुर्गा प्रसाई जस्ताका लागि त यो पर्वोत्सव नै हो तर आमनेपाली जनताका लागि भने दुःखदायी दिनका रूपमा चित्रित हुन पुगेको छ ।

बन्दुकसँग खेल्नेलाई तीनकुनेको द्वन्द्व शान्तिपूर्ण नै लाग्ला । दमनबाटै विरोधीलाई तह लगाउने बानी परेका पूर्वपञ्चलाई विजय हासिल गरेको अनुभव भएको हुन सक्छ । हिंसाबाटै संसार जित्न सकिन्छ भन्ने मान्यता राख्नेहरूले चैत १५ लाई गौरवपूर्ण दिनका रूपमा लेखेर राख्लान् । अराजकता सिर्जना गर्नुमै आफूलाई सफल देख्नेहरूले यो अवसरलाई सुवर्ण ठानेका होलान् । जनताको रगत देख्दा ऊर्जा प्राप्त गर्नेहरूका निमित्त तीनकुने घटना उमङ्गका रूपमा रह्यो होला तर शान्तिप्रिय नेपालीका लागि यो दिन मनपेट पोल्ने दिनका रूपमा रहन पुग्यो ।

राजावादीहरूले अराजक भिड जम्मा गरे । आन्दोलनको नेतृत्व लिएकाहरूले अराजकता सिर्जना गर्न हरेक प्रयास गरे र एकत्रित भएको भिडलाई उद्दण्डता प्रदर्शन गर्न उत्तेजित पारे । जब भिड आतङ्क, आगजनी, तोडफोड र भड्कावमा प्रवेश ग¥यो, आन्दोलनका नेता भनिएकाहरू खुसुक्क घरतिर लागे । लगातार घण्टौँसम्म अराजक गतिविधि भइरहे र त्यसको जिम्मेवारी लिने र अराजक आन्दोलनको आह्वान र अगुवाइ गर्ने त्यहाँ कोही भएनन् । आन्दोलन आयोजकको उद्देश्य भनेको काठमाडौँको जनजीवन आतङ्कित बनाउनु र शान्त वातावरणलाई बिगार्नु मात्रै भए जस्तो देखियो । आयोजकको जिम्मेवारी लिने र उत्तरदायित्व बहन गर्ने काम कसैबाट भएको छैन बरु उच्च सहनशीलता प्रदर्शन गरेको प्रहरीलाई आरोप लगाउने काम मात्रै गरेका छन् ।

सर्वसाधारण व्यक्तिका घर जलेका छन् । निजी घरमा जथाभाबी ढुङ्गामूढा प्रहार गरिएको छ । तीनकुने क्षेत्रको बाटामा जोडिएको एउटै घर पनि सग्लो छैन भन्दा हुन्छ । आन्दोलनकारी भनिएकाहरूको आँखामा परेका चाहे सरकारी हुन् या निजी कुनै पनि गाडी बच्न सकेनन् । गाडीभित्रै मान्छे राखेरसमेत गाडी फोडिएको छ । लोकतन्त्रका लागि लडेका नेताहरूको घर खोजी खोजी ध्वस्त पार्ने प्रयास गरिएको छ । व्यापारिक संस्था लुटिएका छन् । अराजकताको पराकाष्ठा जे हुन्छ, त्यही गरिएको छ ।

आन्दोलनको स्वरूप हेर्दा शक्ति प्रदर्शन गर्ने र सभा गर्ने मात्रै उद्देश्य थिएन भन्ने पुष्टि हुन्छ । कमान्डर तोकिएका दुर्गा प्रसाईले चलाएको अनियन्त्रित गाडी र निषेधित क्षेत्र तोड्न उनले गरेको प्रयास सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती प्रचार गरिएको छ । प्रहरीमाथि नै कुद्ने गरी चलाइएको उक्त गाडी देखेर दुर्गा प्रसाई जस्तै प्रहरी असंवेदनशील भएको भए त्यहीँ नै अप्रिय घटना घट्ने थियो तर प्रहरी संयमित बनेको देखिन्छ । प्रसाई भने आफ्ना समर्थकलाई गाडीको पछाडि आउन र वातावरण उत्तेजक बनाउन पूर्णरूपेण उद्यत देखिन्छन् । त्यहीँबाट प्रहरीमाथि ढुङ्गा बर्साइन्छ र आन्दोलन क्षेत्रको वातावरण बिग्रन पुग्छ ।

यी सबै कर्तुतका जिम्मेवार को को त ? अबको प्रश्न यही नै हो । तोडफोड भएका सबै घर र मृतक तथा घाइतेका लागि क्षतिपूर्ति कसले दिने ? के यसमा कुनै भूमिका नभएका सोझा जनताले तिरेको करबाट दिने ? यसो गर्नु सरासर गलत हुन्छ । उनीहरूले क्षतिपूर्ति पाउनै पर्छ तर त्यो क्षतिपूर्ति आन्दोलन आह्वानकर्ताकै सम्पत्तिबाट दिने परम्पराको थालनी हुनु पर्छ । जनता भड्काएर आफू दुलोभित्र पस्ने र सोझा जनतालाई मारमा पार्ने सबैलाई कारबाहीको दायरमा ल्याउनु पर्छ । बुढेसकालमा प्रधानमन्त्री बन्न पाइहालिन्छ कि भनेर सपना देखेका नवराज सुवेदीहरूसम्म मात्रै होइन कि अनुसन्धान गरी कहाँसम्म पुग्नुपर्ने हो त्यहीँसम्म पुग्नु पर्छ ।

आन्दोलनको एउटा सीमा हुन्छ । विसं २०४६ र २०६२/६३ का जनआन्दोलनमा तीनकुनेमा जम्मा भएका भन्दा दसगुणा बढी आन्दोलनकारी एकैठाउँमा जम्मा हुन्थे । प्रहरी त के सेना आउँदा समेत नडराइकन मैदानमा डटेर बसेका हुन्थे तर एम्बुलेन्स आउने बित्तिकै न कसैले अनुरोध गर्नु पर्दथ्यो, न बल प्रयोगको नै आवश्यकता हुन्थ्यो, आफैँ बाटो छाड्दथे । दुध बोकेका गाडी, खानेपानी ओसार्ने साधन जस्ता अति आवश्यकीय साधनलाई कुनै रोकतोक हुँदैनथ्यो, दमकलको त कुरै गर्न परेन । राजावादी भनिएकाहरूको समूहले भने दनदनी आगो लागिरहेको घरमा जान लागेको दमकललाई समेत बाटो प्रशस्त गरेनन् । घर ध्वस्त भयो र त्यहीँभित्र एक जना पत्रकारको ज्यान गयो । यसैलाई नै आन्दोलनको सफलता ठानिएको छ भने योभन्दा आततायी व्यवहार अरू कुनै हुन सक्दैन ।

जनताका अधिकार प्राप्तिका लागि आन्दोलन हुन्छन् । विश्वमा भएका आन्दोलन अध्ययन गर्ने हो भने जनता सार्वभौम हुनका लागि सडकमा निस्कन्छन् । आफूसँग भएको अधिकार कुनै एक व्यक्तिमा सुम्पने उद्देश्य राखेर आन्दोलन भएको सायद आजसम्म कतै छैन । नेपाल भने अचम्मको देश छ–सहिदहरूको बलिदानीपूर्ण सङ्घर्षबाट जनतामा आएको सार्वभौमिकता पुनः वंशीय परम्परामा सुम्पनका लागि सडकमा मर्न मार्न उत्रने जनता भएको देश नेपाल नै बनेको छ । पञ्चायतकालको कठोर शासन व्यवस्था नदेखेकाहरूले पनि विसं २०६१ को ज्ञानेन्द्रको शासन त देखेकै थिए तर तिनै फेरि श्रीपेच फर्काउन सडकमा उत्रिनुलाई दिने उपमा केही होला जस्तो लाग्दैन ।

राजाको शासनले गर्ने भनेको जनताका स्वतन्त्रतामाथि पहिलो प्रहार गर्ने हो । विसं २०६१ मा शेरबहादुर देउवाको सत्तालाई अक्षम घोषित गरेर आफ्ना हातमा शासन लिएपछि तत्कालीन राजा ज्ञानेन्द्रबाट भएको पहिलो काम भनेको सम्पूर्ण सञ्चार माध्यममाथिको नियन्त्रण थियो । चलेका सबै मिडियामा सेना खटाएर नियन्त्रित सूचना मात्रै प्रवाह गर्न लगाइएको थियो । जनता सुसूचित भए भने र वाक् स्वतन्त्रता कायम नै रह्यो भने निरङ्कुश शासन सञ्चालन गर्न सकिँदैन भन्ने ज्ञान तानाशामा मात्रै हुन्छ । अहिलेको तीनकुनेको आन्दोलनको प्रथम प्रहारको सूचीमा कान्तिपुर मिडिया र अन्नपूर्ण पोस्टको कार्यालयमा ढुङ्गामुढा हुनुले त्यसैलाई पुष्टि गर्छ । त्यति मात्रै होइन, हिमालय टेलिभिजनको गाडीभित्रका पत्रकारलाई ओर्लनै नदिई तोडफोड गरिएको छ ।

राजावादीले सत्तामा हुँदा र आन्दोलन दुवैमा आतङ्क मच्चाए । यो आन्दोलन राजनीतिक उद्देश्यका लागि नभई लुटपाट, आतङ्कका लागि भन्ने गृह मन्त्रालयको दाबीलाई राजावादीकै क्रियाकलापले सत्य साबित गरिदिएको छ । यस्ता अराजक कदमलाई दमन त गर्नै पर्छ तर दमन मात्रै समाधान होइन भन्ने पनि बुझ्न सक्नु पर्छ । सानै सङ्ख्यामा भए पनि जनता आफ्नै खुट्टामा आफँै बञ्चरो हान्न किन तयार भए भन्नेतिर सरकारको ध्यान जान आवश्यक छ । कुन नारालाई बेचेर सद्दे आलुलाई खराब भन्दै कुहिएको आलु बेच्न राजनीतिक व्यापारी सफल भएका छन् । आकलन गरी त्यसलाई निस्तेज पार्न लोकतन्त्रवादको दुहाइ दिनेहरू सफल हुनै पर्छ ।

कुरा सोझै छ । लोकतन्त्रमा देखिएका केही विकृतिका बाछिटालाई राजावादीले उछालेका छन् । विकृतिका मुहान बन्द गर्नुको सट्टा त्यही मुहानलाई प्राथमिकतामा राख्दा जनमानसमा वितृष्णाले ठाउँ लिएको छ । सत्ताको केन्द्रमा भ्रष्टाचारका आरोपी नदेखिने हो भने यस्ता आन्दोलन त्यसै सेलाएर जान्छन् । समानुपातिक र आरक्षणका सिटमा चुनाव हारेका, आफन्त आदिलाई दिइने गरेको मौकालाई अन्त्य गरिदिने हो भने लोकतन्त्रप्रतिको उत्साह यसै बढेर जान्छ । छोराछोरी, सालासाली, भतिजभतिजी, श्रीमती, भान्जाभान्जी आदि नातेदारलाई योग्यताको कसी मिच्दै दिइएका राजनीतिक नियुक्ति आजैदेखि सच्याउन थाल्ने हो भने लोकतन्त्रका विरुद्ध आवाज उठाउनेहरू आफैँ दुलोभित्र पस्न थाल्नेमा कुनै शङ्का छैन ।