व्यक्तिसँग भएको बौद्धिक शक्ति, सिप, सुझबुझ, परिस्थिति अनुकूल काम गर्ने गराउन सक्ने क्षमता, अनुभव, ज्ञान, मानसिक तथा प्राज्ञिक शक्ति एवं अरूबाट काम लिन सक्ने खुबी तथा क्षमतालाई प्रतिभा भनिन्छ । कतिपयले आफूमा भएको प्रतिभालाई कलात्मक ढङ्गले प्रस्फुटन गरी मौसम र परिस्थिति अनुसार उपयोग गरी सफलता हासिल गर्छन् त कतिपयले आफूमा भएको प्रतिभा तथा क्षमता थाहा नै पाउँदैनन् । आफूसँग भएको प्रतिभालाई उचित व्यवस्थापन गर्दा सही मार्गदर्शन मिल्छ ।
कर्मचारीले आफूमा भएको प्रतिभा व्यवस्थापन गरी वस्तु वा सेवामा गुणस्तरता हासिल गर्न, उत्पादकत्व वृद्धि गर्न, स्वच्छ व्यवस्थापन गर्नु, सहकर्मीमा उत्प्रेणा बढाउनु, अधिकतम प्रतिफल हासिल गर्न तथा सेवाग्राहीलाई सन्तुष्ट गराउन सक्छन् । यसले सोचनीय तथा काल्पनिक शक्तिलाई समृद्धि र उर्वर बनाउँछ । आफूमा लुकेको प्रतिभाको उचित व्यवस्थापन हुँदै जाँदा थप प्रतिभा जागृत हुँदै जान्छ । प्रतिभाले प्रतिभालाई नै मलजल गर्छ ।
सङ्गठनले आफ्नो मातहतमा रहेका पुराना अनुभवी कर्मचारीको प्रतिभा र नवप्रवेशी कर्मचारीको प्रतिभालाई संयोजन गरी अधिकतम उपलब्धि हासिल गर्न उपयोग गर्नु पर्छ । सङ्गठनमा आबद्ध प्रायः कर्मचारी प्रतिस्पर्धामार्फत आउने हुनाले उनीहरूमा केही न केही खुबी तथा प्रतिभा लुकेकै हुन्छ । सङ्गठनले ती कर्मचारीमा रहेको खुबी तथा प्रतिभा पहिचान गरी कार्यक्षेत्रमा उपयोग गर्न उत्प्रेरणा गर्नु पर्छ ।
सङ्गठनले आफ्ना लागि मानव स्रोतसाधन व्यवस्थापन गर्दा बजारमा भएका प्रतिभालाई आकर्षण गर्ने, दक्ष तथा सक्षम प्रतिभाको छनोट गर्ने, तालिम दिने, दक्षता अभिवृद्धि गर्ने, वृत्ति विकासको अवसर दिने, राम्रा व्यक्तिलाई सङ्गठनमा टिकाइराख्ने, सेवाकालीन तालिम दिने जस्ता क्रियाकलाप गर्नु पर्छ । प्रतिभा व्यवस्थापन सङ्गठनको एउटा अनिवार्य तथा अपरिहार्य रणनीतिक योजना पनि हो । यसले व्यक्तिमा लुकेर रहेको क्षमता तथा गुणस्तरताको उपयोग गरी अधिकतम प्रतिफल हासिल गर्न सहयोग गर्छ । कर्मचारीका लागि उचित कार्यस्थल, उचित कार्यवातावरण, कर्मचारीमैत्री व्यवस्थापन, निष्पक्ष, समान तथा न्यायिक व्यवहार, उचित तलब सुविधा, कामको उचित मूल्याङ्कन तथा प्रशंसा, कर्मचारीको मर्यादा, प्रतिष्ठा तथा मूल्यको कदर गर्ने जस्ता विषयमा ध्यान दिई प्रतिभाको विकास गर्नु पर्छ ।
अनुभव, शैक्षिक योग्यता, दक्षता तथा कार्य क्षमताभन्दा फरक काम दिएर प्रभावकारितामा ह्रास ल्याउने, अधिकारभित्र नपरेको काम लगाउने, बारम्बार मानसिक तनाव दिएर निराश बनाउने, आफ्नो मान्छे राख्न अनेक दाउपेच रच्ने व्यक्तिप्रति होसियार हुनु पर्छ । माथिल्लो तहका कर्मचारीमा चाकडी र चाप्लुसी गरेर आफ्नो जागिर टिकाउने र मुनिकालाई अपजस लगाएर आफू राम्रो बन्ने, कार्यसम्पादन राम्रो देखाएर जागिर खानेभन्दा अरूलाई लटपटाएर जागिर खाने प्रचलन हाबी छ । राम्रो काम भएमा आफूले जस लिने र बिग्रेमा आफूमुनिलाई थोपर्ने, जो व्यवस्थापनको नजिक बसेर सिन्को भाँच्दैन उसैले समारोहमा प्रशंसा पाउने तथा पुरस्कृत हुने जस्ता विकृतिले गर्दा व्यक्तिमा भएको प्रतिभा तथा खुबी पलायन हुने गर्छ ।
जनताको घरदैलोसम्म सार्वजनिक प्रशासन तथा सेवा पुर्याउनुपर्ने वर्तमान परिस्थितिमा कर्मचारीको प्रतिभालाई कुशल व्यवस्थापन गरेर सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सक्नु पर्छ । कुनै पनि सङ्गठनको कुशल व्यवस्थापन कर्मचारीको प्रतिभा र खुबीले गर्ने हो । शैक्षिक योग्यता र कार्य अनुभव कर्मचारीले हासिल गरेको प्रत्यक्ष देखिने तत्व हो भने कार्यशैली, व्यवस्थापकीय खुबी, कर्मचारीलाई हातमा लिन सक्ने क्षमता, कामलाई आफू अनुकूल बनाउन सक्ने दक्षता, जस अपजस तथा मनमुटावलाई उपलब्धिमा परिणत गर्ने खुबी, द्वन्द्वलाई परणाममुखी बनाउन सक्ने सिप तथा परिस्थितिलाई तारताम्य मिलाउन सक्ने कला जस्ता प्रतिभा कर्मचारीमा अन्तरनिहित तत्व हुन् ।
विभिन्न योग्यता तथा क्षमताका कर्मचारी सङ्गठनमा हुने भएकाले सबै कर्मचारीले एकैनास प्रतिभा देखाउँछन् भन्ने छैन । कहिलेकाहीँ विभिन्न कारणले उनीहरूमा नैराश्यता, मलिनता, लोसेपना, फरक विचार तथा भावना आउन सक्छ । यस्तो अवस्थामा सङ्गठनले कार्यालय व्यवस्थापन, बजेट तथा योजना तुर्जुमा, मानवीय सम्बन्ध, समन्वय, जनसम्पर्क, सूचना प्रविधि, नवीन तथा समसामयिक विषयमा तालिम तथा कार्यशाला गोष्ठी सञ्चालन गरी प्रतिभालाई पुनर्ताजगी गराउनु पर्छ । वार्षिक रूपमा कर्मचारीलाई रमणीय प्राकृतिक पर्यटन गर्न पठाउनु पर्छ ।
योग्यताको कदर नहुनु, कर्मचारीको गुटबन्दी, युवा शक्तिको विकासमा ध्यान नदिनु, प्रतिभाको उचित उपयोग गर्ने अवसर नदिनु, युग सुहाउँदो शिक्षा नीतिको अभावककै कारण प्रतिभा पलायन भइरहेका छन् । शिक्षाको गुणस्तर खस्कनु, बढ्दो शैक्षिक बेरोजगारी, नागरिक शिक्षाको अभाव, पर्याप्त सेवा सुविधा नहुनु, राज्यले अवसर सिर्जना गर्न नसक्नु जस्ता समस्याले पनि देश छाड्ने प्रतिभा बढिरहेका छन् ।
प्रतिभा पलायनको समस्याले गर्दा देशले दक्ष, अर्धदक्ष, बौद्धिक तथा शैक्षिक क्षमतावान् उर्वर जनशक्ति गुमाइरहेको छ । राज्यलाई समृद्ध र उन्नत बनाउन विद्यमान शिक्षित, सचेत, नैतिकवान्, कुशल तथा इमानदार युवा परिचालन गर्न सकिएको छैन । वास्तवमा सरकार प्रतिभा व्यवस्थापन गर्न पछि परेको छ । डाक्टर, वकिल, इन्जिनियर, कम्प्युटर, चित्रकला, कलाकारिता जस्ता विषय अध्ययन गर्ने अनि आफ्नो देशमा अवसर नभएपछि विदेश हाँकिने समस्या दिन प्रतिदिन बढिरहेको छ ।
व्यक्तिमा रहेको ज्ञान, सिप तथा प्रतिभा कुनै पनि सङ्गठनको अमूल्य निधिको रूपमा हुँदाहुँदै पनि स्वतन्त्र रूपमा काम गर्न नपाउँदा व्यक्तिमा रहेको ज्ञान, सिप, प्रतिभा तथा कुशलता त्यसै पलायन हुँदै गइरहेको छ । व्यक्तिमा भएको क्षमता तथा प्रतिभालाई उचित व्यवस्थापन गर्न उच्च तहको व्यवस्थाकले कर्मचारीको रुचि, दक्षता, अनुभव तथा योग्यता अनुसार काम तथा जिम्मेवारी दिनु पर्छ । राज्यले पनि देशमा भएका सबै युवा राज्यका सम्पत्ति हुन् भन्ने कुरालाई हृदयङ्गम गरी शिक्षा, युवा, सहकारी, कृषि, रोजगारी जस्ता नीति, कानुन तथा योजनाबद्ध कार्यक्रमले सरोकारवाला पक्षको प्रतिभा व्यवस्थापन सम्बन्धमा सम्बोधन गर्नु पर्छ ।