गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत १७ गते । चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडेजात्रा पर्व विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । जात्रा परापूर्वकालमा गुरुमापा नामक दैत्यमाथिको विजयका रूपमा मनाउने गरेको हो ।
परापूर्वकालमा टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रुखमा बास गर्ने गुरुमापा नाम गरेको राक्षसले उपत्यकाको मानव बस्तीमा गएर विभिन्न प्रकारले दुःख दिने र बालबालिका खाइदिने गरेको किंवदन्ती छ । यस्तो घटना नरोकिएपछि उपत्यकावासीले उक्त राक्षसलाई मार्नका लागि अनेक उपाय खोज्न थालेका थिए । त्यसै क्रममा उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको र त्यसैको विजय उत्सवका रूपमा घोडेजात्रा मनाउने परम्परा सुरु भएको मानिन्छ । सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आज राति त्यही रुखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ । यो पर्व काठमाडौँ उपत्यकाको प्रचलित प्राचीन जात्रामध्येको एक मानिन्छ ।
घोडेजात्राको आफ्नै ऐतिहासिक मान्यता, मूल्य र महत्व रहेको छ । औँसी तिथिमा मनाइने घोडेजात्राले तान्त्रिक मान्यतालाई आत्मसात् गरेको पाइन्छ । यस पर्वलाई पिशाच चतुर्दशी पनि भनिन्छ । घोडेजात्रा नेवार समुदायको एउटा ठुलो चाड पनि हो । नेवार समुदायले यस पर्वलाई बढी उल्लासमय वातावरणमा मनाउँछन् । काठमाडौँको टुँडिखेलनजिकै रहेका ‘लुकुवा महादेव’ वा पिशाचेश्वर महादेवको पूजाअर्चना पनि गर्ने परम्परा रहिआएको छ ।
यिनै लुकुवा महादेवलाई पिशाच चतुर्दशीका दिन रछानबाट झिकी नुहाइदिएर सफासुग्घर तुल्याई मद्यमांस आदि तामसी भोग चढाइन्छ । यो दिन टुँडिखेलमा घोडा दगुराउने कामका साथै अरू विभिन्न देवीदेवताका रथयात्रा पनि गर्ने गरिन्छ । घोडेजात्रापछि लसुन छिपिएको हुन्छ, खानलायक हुँदैन भन्ने किंवदन्ती पनि आजसम्म त्यत्तिकै चरितार्थ रहेको पाइन्छ । काठमाडौँ उपत्यकाको तीन सहरमा भव्य रूपमा घोडेजात्रा मनाइने गरिन्छ । जात्रामा विशेष गरी विवाह भएर गएकी चेलीबेटीलाई भोज खुवाउने प्रचलन अहिलेसम्म नेवारी समाजमा कायम छ । यो चाड तीन दिनको भए पनि अन्तिम दिन चैत शुक्ल परेवाको दिन मातृका देवीका खटहरू सहरमा परिक्रमा गराइ छ वटा गल्लीबाट ल्याई असन चोकमा सात वटा खट घुमाउने कामलाई सप्तमातृकाको आपसमा ढोगभेट भएको पनि भनिन्छ भन्ने किंवदन्ती छ ।