कृष्णबहादुर धामी
दार्चुला (खलङ्गा), चैत १५ गते । जिल्लामा उत्पादित कृषिजन्य वस्तुको प्रवर्धन, स्थानीय कला र संस्कृतिको संरक्षण गर्न सुदूरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सव –२०८१ को आयोजना गरिएको दार्चुला उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
हिमालको काखमा रहेको ब्याँस गाउँपालिकाको वडा १ टिङ्कर गाउँमा उत्पादन हुने फापर, उवा, जिम्बु र ब्याँस १ कै छाङ्रु गाउँमा उत्पादन हुने नप्पल र आलुका परिकार महोत्सवमा अवलोकन गर्न र स्वाद लिन पाइने उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेशसिंह थापाले जानकारी दिनुभयो ।
यति मात्र नभई जिल्लाका अन्य स्थानीय तहमा उत्पादन हुने कृषि वस्तुहरूको समेत महोत्सवमा प्रदर्शनी एवं प्रवर्धन गरिने उहाँले बताउनुभयो । ‘अपिनाम्पा, मालिकार्जुन, चौलानी र महाकाली दार्चुलाको शान, स्थानीय उत्पादन, कला संस्कृति संरक्षण र प्रवर्धनमा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सुदूरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सव –२०८१ को महाकाली नगरपालिका –४ बिरेन्द्र वनस्थित नेपाली सेनाको मैदानमा आज औपचारिक कार्यक्रमबिच उद्घाटन गरिएको छ ।
महोत्सवको संविधानसभा पूर्वसदस्य एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले पानसमा बत्ति बालेर उद्घाटन गर्नुभयो । महोत्सव २५ चैतसम्म चल्नेछ । महोत्सवमा दार्चुला जिल्लाको विविधता झल्किने सांस्कृतिक झाँकी, ब्याँसी सौका समुदायको विशिष्ट पहिरन, संस्कृति र भेषभुषा, दुहुँ, मार्मा, लेकम र ब्याँस क्षेत्रको रहन–सहन खानाका परिकारको प्रदर्शनी रहनुका साथै स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
नेपाल–भारत र चीन त्रिदेशीय सीमा नजिकमा आयोजना गरिएको महोत्सवले राष्ट्रियता पहिचानलाई समेत ठुलो मद्दत पुग्ने अपेक्षा गरिएको छ । मेला स्थलभित्र स्थानीय उत्पादन, कला, संस्कृति पेसा–व्यवसाय र रैथाने परिकार प्रदर्शन गर्नका लागि एक सय एक स्टल राखिने उद्योग वाणिज्य सङ्घले जनाएको छ । महोत्सवमा ३० लाख रुपियाँको कारोबार हुने आँकलन गरिएको छ ।
दस दिनसम्म सञ्चालन हुने महोत्सवको सुदूरपश्चिम प्रदेशका जिल्लाहरू बझाङ, बैतडी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र छिमेकी मुलुक भारतको पिथौरागढ, डिडिहाट, ओगला, अस्कोट, जोलजिवी धारचुला, ब्याँस, चौदास र दार्माबाट गरी ६० हजार मानिसले अवलोकन गर्ने आयोजक दार्चुला उद्योग वाणिज्य सङ्घले जनाएको छ । महोत्सवमा प्रतिव्यक्ति एक सय रुपियाँ प्रवेश शुल्क तोकिएको छ । विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई परिचयपत्रका आधारमा ५० रुपियाँ शुल्क तोकिएको छ ।