• १८ चैत २०८१, सोमबार

नहर निर्माण तीव्र

blog

बबई समाचारदाता

बबई (बर्दिया), चैत १५ गते । बर्दियाको बबई सिँचाइ आयोजनाले चालु आर्थिक वर्षमा गुलरिया नगरपालिका क्षेत्रभित्र नहर निर्माणको काममा तीव्रता दिएको छ । बर्दिया जिल्लामा ३६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले आव २०४५/४६ सालमा नहर निर्माण थालिएको थियो । गुलरिया नगरपालिकामा नहर निर्माण सम्पन्न भए बारबर्दिया नगरपालिका, बाँसगढी नगरपालिका, बढैयाताल गाउँपालिकामा गरी ३६ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्ने छ ।

गुलरिया नगरपालिका क्षेत्रमा सुरु गरेको नहर निर्माणको काम अबको तीन वर्षमा सम्पन्न हुने बबई सिँचाइ आयोजनाले जनाएको छ । पश्चिम मूल नहरका लागि सबैभन्दा अन्तिम गुलरिया नगरपालिका रहेको र गुलरिया नगरपालिकामा पनि चार किलोमिटर मूल नहर र १०.७५ किलोमिटर शाखा नहरको काम भइरहेको छ भने बाँकी ९.४ किलोमिटर मूल नहरको कामका लागि ठेक्का प्रक्रिया सुरु भएको छ । मूल नहर र शाखा नहर निर्माण भएपछि गुलरिया नगरपालिकाको छ हजार १५० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने गरी काम सुरु गरिएको बबई सिँचाइ आयोजना बर्दियाका आयोजना प्रमुख सुशीलचन्द्र देवकोटाले बताउनुभयो । 

उहाँले गुलरिया नगरपालिका क्षेत्रभित्रको शाखा र मूल नहर निर्माणको काम सम्पन्न भए आगामी तीन वर्षभित्र आयोजनाको लक्ष्य पूरा हुनेसमेत बताउनुभयो । बर्सौंदेखि आकासे पानीको भर पर्दै आइरहेका गुलरियाका कृषकहरू बबई सिँचाइ आयोजनाको नहर निर्माण सुरु भएपछि खुसी देखिएका छन् । नहरको पानीले खेतबारी सिँचाइ गर्न पाउने हो भने कृषकको उत्पादनसमेत बढ्ने भएकाले निर्माण व्यवसायीलाई समयमा काम गरिदिन गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले आग्रह गर्नुभयो । 

नहर निर्माण भएपछि केही मात्रामा भए पनि राहत मिल्ने गुलरिया नगरपालिका–७ का कृषक प्रवेश यादवले बताउनुभयो । सम्झौता समयअघि नै काम सम्पन्न गर्ने गरी मूल नहर र शाखा नहरको काम भइरहेको निर्माण व्यवसायी विमल केसीले बताउनुभयो । बबई सिँचाइ आयोजनाले अहिलेसम्म निर्माण सम्पन्न गरेको मूल नहर र शाखा नहरबाट २६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ भने गुलरिया नगरपालिकाको नहर निर्माण सम्पन्न भए आयोजनाले राखेको लक्ष्य अनुरूप ३६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने छ ।