• १८ चैत २०८१, सोमबार

प्रयोगविहीन सवारीसाधन

भयो विवरण सङ्कलन, भएन व्यवस्थापन

blog

तम्घास समाचारदाता

तम्घास, चैत १५ गते । गुल्मीमा लामो समयदेखि प्रयोगविहीन रहेका सवारीको विवरण सङ्कलन भए पनि त्यसको व्यवस्थापन गर्ने काम भने अगाडि बढ्न सकेको छैन ।  २०८० वैशाखमा जिल्ला प्रशासनमा प्रयोगविहीन सवारीसाधनको विवरण सङ्कलन गर्न शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका तत्कालीन प्रमुख लोकनाथ मरासिनीको संयोजकत्वमा सात सदस्य रहेको एक समिति बन्यो । उक्त समितिले जिल्ला प्रशासनमा प्रतिवेदनसमेत बुझायो । 

समितिले बुझाएको प्रतिवेदन अनुसार चार वटा गाडी र ३८ वटा मोटरसाइकल प्रयोगविहीन रहेका छन् । चार वटा गाडीमध्ये दुई वटा जिल्ला समन्वय समितिको र गुल्मी अस्पतालमा दुई वटा एम्बुलेन्स गरी चार वटा गाडी छन् । जिल्ला समन्वय समिति गुल्मीको परिसरमा रहेका चार वटा गाडीमध्ये दुई वटा गाडीको कार्यालयमा अभिलेख पाइन्छ भने दुई वटा गाडी कार्यालय परिसरमा भए पनि अभिलेखमा नभएको कार्यालयले जनाएको छ । 

चार वटा ल्यान्ड रोभर कम्पनीका गाडीमध्ये बा. १ झ ६६८० र ६६८१ नम्बरका गाडी मात्रै कार्यालयको अभिलेखमा छ । अभिलेखमा रहेका दुई गाडीको पनि लामो समयदेखि नवीकरण भएको पाइँदैन । अन्य  दुई गाडीमध्ये एउटा गाडीको नम्बर प्लेट नै छैन भने अर्कोको राम्रोसँग बुझ्न सकिँदैन । यस्तै जिल्ला दूरसञ्चार कार्यालयको भवनअगाडि एउटा डोजरको भग्नावशेष छ । 

गुल्मीमा दूरसञ्चार कार्यालय स्थापनाकालदेखि नै उक्त डोजर उही अवस्थामा छ । हालसम्म पनि कुनै कम्पनी वा व्यक्तिले डोजरको दाबी गर्न आएका छैनन् । उक्त डोजर आफूहरूलाई निल्नु न उकेल्नु भएको कार्यालयले जनाएको छ ।

गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले प्रयोगविहीन रहेका सवारीको व्यवस्थापन गर्नका लागि कठिन भएको बताउनुभयो । कुनै गाडी लामो समयदेखि नवीकरण नभएको र कुनैको अभिलेख नै नभएका कारण लिलाम बिक्रीमा समेत जान नसकिएको उहाँको भनाइ छ । नवीकरण गर्नका लागि पनि लामो समयको भएकाले सम्बन्धित कार्यालयसँग बजेट नहुने हुँदा समस्या भएको गौतमले बताउनुभयो ।