बैतडी समाचारदाता
बैतडी, चैत १५ गते । वनमा यतिखेर काफल, कोइरालो, बेडु, तिमिलो, ऐँसेलु, चुत्रो, मछाइनोलगायत दर्जनौँ जङ्गली फल लटरम्म फलेका छन् तर बाँदर ग्रामीण किसानको बारीमा गहुँ, केराउ, मुसुरो खान पल्केको छ । जङ्गलमा रहेको फल खान छाडेर बाँदरले किसानको बारीमा रहेको अन्नबाली तथा तरकारी खान थालेपछि किसान हैरान भएका छन् ।
बाँदरले खेतीपाती नाश गरेर गाउँमा आतङ्क मच्चाउन थालेपछि किसान जमिन बाँझो छाड्न बाध्य छन् । भारतपारिबाट महाकाली नदी तरेर आएका बाँदरका कारण दशरथ चन्द नगरपालिका–४, ५, ६, ८ र १० नम्बर वडाका सयौँ परिवार विस्थापित भएका छन् ।
बाँदरकै कारण दशरथ चन्द नगरपालिकाका ११ वटा वडाको एक हजार ६२० हेक्टर खेतीयोग्य जमिन बाँझो रहेको छ । नगरको कुल दुई हजार ५९५ हेक्टर खेतीयोग्य जमिनमध्ये ९७२ हेक्टरमा मात्रै खेती हुने गरेको नगरपालिकाका कृषि शाखा प्रमुख दीपक कार्कीले बताउनुभयो । उहाँका अनुसार कुल खेतीयोग्य जमिनको ३७ प्रतिशत हिस्सामा मात्रै खेती हुने गरेको छ । त्यो पनि बाँदरका कारण किसानले अन्नबाली भित्र्याउन नपाउने उहाँले बताउनुभयो ।
भारतपारिबाट झुलाघाट पुल तरेर बैतडी आउने बाँदर राति झुलाघाट बसपार्कमा बास बस्ने गरेका छन् । बिहानपख बाँदरको झुन्ड दशरथ चन्द नगरपालिका ५, ६, ८ र १० नम्बर वडाका धौल्याली, साङ्डी, पुजरगाउँ, त्रिपुरा, पल्लाचौडाली, बाडीलेक, देवलहाट, आइत, भटाला, झाका, बुड्डा, खडेनीलगायत गाउँमा पस्ने गरेको छ । बाँदरले बारीमा लगाएको खेतीपाती मात्र होइन भान्सा कोठामा पकाएको खानासमेत छिनेर खान थालेका छन् ।
बारीमा लगाएको खेती र भान्सामा पकाएको खानेकुरा बाँदरले छिनेर खान थालेपछि गाउँमा आतङ्क सिर्जना भएको दशरथ चन्द नगरपालिका–४ का युवा किसान दीपक ठगुन्नाले बताउनुभयो ।
बाँदर आतङ्कका बारेमा किसानले गुनासो लिएर नगरपालिका आउने गरेको दशरथ चन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ) ले बताउनुभयो । बाँदर मार्ने ऐन कानुन नभएकाले नगरपालिकाले केही गर्न नसक्ने उहाँले बताउनुभयो । किसानलाई वैकल्पिक खेतीका रूपमा टिमुर, कागती, मौरीपालन जस्ता अन्य व्यवसाय गर्न नगरपालिकाले सहयोग गरिरहेको उहाँले बताउनुभयो ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) को तथ्याङ्क अनुसार नेपालमा २५६ वटा जङ्गली खाद्य फल रहेका छन् । तीमध्ये सुदूरपश्चिमको बैतडीलगायतका पहाडी जिल्लामा आधाभन्दा बढी खाद्य फल पाइने नास्टका वैज्ञानिक डा. लोकरञ्जन भट्टले बताउनुभयो ।
उहाँले खोज अनुसन्धान गरेर लेख्नुभएको ‘नेपालका जङ्गली खाद्य फल’ पुस्तकमा २५६ वटा जङ्गली खाद्य फलको विशेषता उल्लेख गरिएको छ । यद्यपि जङ्गली खाद्य फलको उपयोग हुन सकेको छैन । भारतबाट आएका बाँदरलेसमेत यी फलमा रुचि नदेखाएको उहाँले बताउनुभयो ।