हुम्ला समाचारदाता
हुम्ला, चैत १५ गते । जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–५ को चार हजार ६७० मिटर अग्लो नारा लेकमा जमेको चार फिट हिउँ छिचोलेर स्थानीय बासिन्दा लिमी पुग्नुपर्ने बाध्यता आइलागेको छ । काम विशेषले लिमीको हल्जी गाउँका स्थानीय गाउँ फिर्ता हुनका लागि नाराको हिउँ छिचोलेर जानु परेको हो ।
नाराको हिउँ छिचोलेर हिल्सा हुँदै लिमी पुग्नुभएका सुनखानी आधारभूत विद्यालयका शिक्षक विकल तामाङले निकै कष्टका साथ हिउँ छिचोल्नु परेको बताउनुभयो । काम विशेषले गाउँपालिका केन्द्र आएका बेला हिउँ परेर नारा लेकको हिल्सा र लिमी जाने बाटो बन्द भएपछि याल्वाङमै रोकिनुभएका उहाँले तीन जना साथी मिलेर नारा लेकमा जमेको हिउँ छिचोल्दै जानु परेको जनाउनुभयो । नारा लेकदेखि चोर लाग्नासम्मको सात किलोमिटर सडकमा तीनदेखि चार फिट हिउँ जमेको छ । बाक्लो हिउँ जमेको उक्त दुरी पार गर्न उहाँहरूलाई पाँँच घण्टा समय लागेको थियो ।
हिउँमा हिँड्दा खुट्टाका औँलासमेत हिउँले असर गरेका कारण हिँड्नसमेत समस्या भएको उहाँको भनाइ छ । विद्यालय सञ्चालनमा रहेकाले एक्लै जान नसकिने तर पछि दुई जना अन्य लिमीकै युवा भेट भएपछि हिउँ छिचोलेर जाने आँट गरिएको जानकारी उहाँले दिनुभयो । गत माघ र फागुनको महिनामा हिउँ छिचोल्दै लिमीबाट ४३ जनाको टोली नारा लेक काटेर सदरमुकाम सिमकोट आइपुगेको थियो । त्यसपछि पनि पटक पटक हिउँ परिरहेको छ । बाक्लो हिउँ छिचोल्दै लिमीका तीन जना युवा हिल्सा आइपुगेको प्रहरी चौकी हिल्साका प्रहरी सहायक निरीक्षक ललितबहादुर रावतले बताउनुभयो ।
अहिले पनि सडकमा बाक्लो हिउँ जमेका कारण जोखिम मोलेर पैदल यात्रा नगर्न सर्वसाधारणलाई प्रहरीले आग्रह गरेको छ । यसअघि फागुन अन्तिम साता सात जना पैदल यात्रुलाई सशस्त्र प्रहरी र नेपाल प्रहरी मिलेर लेकको हिउँमा फसेको अवस्थामा उद्धार गरेको थियो । यातायातका साधन सञ्चाल हुन भने समय लाग्ने देखिएको छ ।