• १८ चैत २०८१, सोमबार

कर्णालीमा ‘फोरजी’ सेवा विस्तार

blog

बुलबुले समाचारदाता 

सुर्खेत, चैत १५ गते । कर्णालीका ७२ पालिकामा नेपाल टेलिकमले फोरजी सेवा विस्तार गरेको छ । ७९ वटा स्थानीय तह रहेको प्रदेशका अधिकांश पालिकामा फोरजी सेवा पुगिसकेको छ । अब सात वटा पालिका बाँकी छन् । डोल्पा र हुम्ला जिल्लाका गरी सात वटा पालिकामा फोरजी सेवा पुग्न बाँकी छ । 

नेपालमै पहिलो पटक २०७३ सालमा काठमाडौँ र पोखराबाट फोरजी सेवा सुरु गरेको सरकारी स्वामित्वको कम्पनीले कर्णालीका ७२ पालिकामा सेवा विस्तार गरेको हो । सेवा क्षेत्र विस्तारको काम धमाधम भइरहेको नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय सुर्खेतले जनाएको छ । प्रदेशका १० वटै जिल्लामा सरकारी स्वामित्वको फोरजी सेवा पुगेको छ । सुर्खेत क्षेत्रभरि ७० ठाउँमा मोबाइल सेवाका लागि फोरजी सेवाका टावर निर्माण गरिएको प्रादेशिक कार्यालयका प्राविधिक प्रमुख मधुसुदन दाहालले बताउनुभयो । 

दैलेखमा ३०, डोल्पामा १०, हुम्लामा छ, जाजरकोट र जुम्लामा २१/२१ कालीकोटमा २२, रुकुमपश्चिममा १९, सल्यानमा ४० ठाउँमा फोरजी सेवाका लागि टावर निर्माण गरिएको छ । जिल्ला जिल्लाको जनसङ्ख्याका आधारमा फोरजी सेवा विस्तार गरिएको दाहालले जानकारी दिनुभयो । अब बाँकी रहेका सात वटा पालिकामा फोरजीका सय वटा टावर निर्माण गरिने उहाँले बताउनुभयो । विकास र उत्पादनमा प्रविधिको प्रयोगका रूपमा फोरजी सेवालाई विस्तार गर्न लागिएको जनाइएको छ । प्रयोगकर्ता बढेसँगै फोरजी सेवा विस्तारको काम तीव्र गतिमा अघि बढेको हो । 

नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका प्रमुख कमल लामिछानेले सेवा सुधारका लागि बजेट र कार्यक्रमको व्यवस्थापन भइरहेको जानकारी दिनुभयो । डिजिटल कर्णाली निर्माण गर्ने गरी काम अघि बढाइएको उहाँको भनाइ छ । एडिएसएल, इभिडिओ, थ्रिजी डाटा, वाइम्याक्स, फाइबर इन्टरनेट, डिएसएल इन्टरनेट, स्काइडाटा, जिपिआरएस, डाइअफ इन्टरनेटलगायत सेवा उपलब्ध गराउँदै आएको टेलिकमले आगामी दिनमा यी सबै सेवालाई थप गुणस्तरीय बनाउँदै प्रदेशभर विस्तार गर्ने योजना बनाएको छ । कर्णालीका अधिकांश स्थानमा अहिले पनि टेलिफोनले काम गर्दैन । नेटवर्कको सिग्नल भ एपनि फोनले काम नगर्ने गरेको गुनासो बढिरहेको छ । सेवा विस्तारसँगै सबै क्षेत्रसँग छलफल गरेर सेवालाई प्रभावकारी बनाउन लागिएको निर्देशनालयले जनाएको छ ।