पिशाच चतुर्दशी नेवार समुदायको एक विशेष पर्व हो । यो पर्व पाँचह्रे नामले पनि प्रख्यात छ । यस पर्वलाई चैत्र कृष्ण चतुर्दशीका दिन मनाइन्छ । यो चाडको दिनमा खाइने मुख्य मुख्य वस्तुमध्ये प्रमुख लसुन भएकाले त्यसैको नामबाट यस चाडलाई ‘लाउने चाड’ भनी अर्को नामले पनि पुकार्छन् । काठमाडौँ उपत्यकाका निवासीमध्ये धेरैजसोले यस चाडलाई दसैँं र तिहार झैँ मनाउने गरेका छन् ।
यो चाडको दिन बाल–बालिका, युवक–युवती, बुढाबुढी आदि सबैले बिहान सबेरै सूर्योदयभन्दा अघिदेखि नै उठी त्यसै बेलादेखि मध्याह्नकालसम्म ठुलो हर्षोल्लासका साथ भद्रकाली, रक्तकाली, श्वेतकाली, कङ्केश्वरी आदि आआफ्ना पीठका देवी र भैरब, गणेश आदि देवताको दर्शन, पूजन गर्न जाने गर्दछन् । दिउँसो मध्याह्नकालदेखि बेलुकी सायङ्कालसम्म आआफ्नो घरमा मानिसले आफ्ना परिवारसँग बसी विविध प्रकारका खानेकुरा खाई चाड मनाउँछन् । अनि सायङ्कालदेखि मध्यरातसम्म पनि लोग्ने मानिसमध्ये धेरैजसो घरघरबाट निस्की भद्रकाली, कङ्केश्वरी लुमडी रक्तकाली तथा अन्य देवदेवीको खटयात्राका साथ सहर परिक्रमा गरे हिँड्छन् । कोही व्यक्ति यसै चाडको बखत बजाइने बजाइने नाच खिंचा नामक बाजा बजाएर ती जात्रा गरिएका देवदेवीका खटयात्राको साथमा र त्यसै पनि डुलेर हिँड्ने गर्छन् ।
बालबालिका, युवकयुवती र बुढाबुढीले सूर्यास्त भएदेखि मध्य रातसम्मको समयसम्म पनि बसेर लुकुमहाद्य नामक महादेवको एक रूपलाई जाँड, रक्सी, लसुन, मासु तथा अन्य विभिन्न प्रकारका तामसिक खाने कुरो राखी पूजा गर्छन्, रायोको सागमा र मूलाको सागमा फुल्ने लुँ बुँ, वहबुँ नामक फूल चढाउँछन् । उक्त महादेवकहाँ बालिएका बत्तीबाट उतपन्न भएको ध्वाँसोबाट गाजल बनाई आँखामा लगाउँछन् । उक्त महादेव कहाँ बालिएका बत्तीको ध्वासोबाट बनाइएका गाजल लगाउनाले आँखाको रोग निको भई आँखा तेजिला हुन्छन् भन्ने कथन छ । त्यसकारण केटाकेटीहरूले ‘‘बाघको आँखा कानो सानो मुसाको आँखा तेजिलो’’ भन्ने नारालाई दोहर्याइ कराउँदै अनुहारै ख्याकको जस्तो देखिने गरी गाजल लाएर हिँड्ने गर्छन् ।
यो दिन पूजा गरिने उक्त लुकुमहाद्य नामक शिवलिङ्ग खाल्डामा स्थापना गरी माटोले पुरेर राखेका हुन्छन् र शिवरात्रिको दिन एक दिन र यही पाँचह्रे चाडको दिन एक दिन खाल्डामा रहेका माटो झिकी उक्त लुकुमाद्यलाई पूजा गरिन्छ । त्यसपछि घरघरमा राती आधा रातसम्म आमा र बुढी बज्यैहरूले आफ्ना नातिनातिनालाई यही चाडसँग सम्बन्धित दन्त्यकथा र पौराणिक कथा सुनाउने गर्छन् । आजकल आधुनिक युगमा उपरोक्त अनुसार चाड मनाउने गरेको कमै मात्रामा देखिन्छ । यसको मुख्य कारण आजकलका युवकयुवती चाडै विदेश पलायन हुनु हो । यस चाडको बखत जात्रा गरिने भद्रकाली, कङ्केश्वरी देवीकोबारे आमा तथा बुढी बज्यैहरूले सुनाएको कुरा अनुसार इन्द्रायणीको जात्रा पिशाच चतुर्दशीको दिनमा नभई बालाचतुर्दशीको दिनमा भएको भन्ने बारेमा यस प्रकारको कुरा सुनिन्छ । कङ्केश्वरी, भद्रकाली, श्वेतकाली, रक्तकाली, इन्द्रायणी, मैतीदेवी, टङ्केश्वरी आदि देवीका जम्मा आठ जना दिदी बहिनी छन् । जसमध्ये लुतीमरु अजिमा (इन्द्रायणी) सबभन्दा गरिब र धेरै छोराछोरी भएकी थिइन् । यही कारणले गर्दा लुतिमरु देवीले सुख पाएकी थिइनन् । एक समय यही चाडको दिन एक ठाउँमा भोज निम्तो गरेको बखत ती देवीका दिदी बहिनीमध्ये सबैलाई अनेक सम्मानका साथ स्वागत सत्कार गरेको तर इन्द्रायणी एउटीलाई गरिब भएकी हुनाले कसैले पनि एक लवजसम्म पनि बोलेन । त्यसै बखत उक्त अजिमाका केटाकेटीले भोक लाग्यो भनी कराउँदै हल्ला मचाउँदा उनीहरूलाई निम्ता गर्ने घरपतिलाई कराएको सुन्न मन नलागेकाले रिसले चुरमुरिई टाढाबाट ‘लौखा’ भन्दै साह्रो भइसकेका रोटी छुट्याउन लगाएछन् ।
तीमध्ये एउटा रोटीले लुतिमरु अजिमाको एक जना बालकको टाउकोमा चोट लागि रगत निस्के छ । रगत जम्मै सुनमा परिणत भएछ । अपमान गरेको सहन नसकी अपशोच गर्दै भोजै नखाई फर्केपछि फेरि त्यही पहिले भोज डाक्ने व्यक्तिले पहिले झैँ सबै उपर्युक्त देवीका दिदी बहिनीलाई भोजको निम्तो गरे । त्यस बखत इन्द्रायणी देवी आफ्ना छोराछोरी जम्मैलाई अनेक गहना र पोशाक लगाउन दिई भोजको निम्तोमा गइन् । त्यसबेला भोज बोलाउने उक्त घरपतिले उनीहरूलाई खुब सम्मानपूर्वक स्वागत सत्कार गरेर भोज खुवाउन ल्याएछ । यी भोजन हामीलाई खुवाएको होइन गहना र पोसाकलाई खुवाएको हो भन्दै यसबेला पनि केही नखाई पहिले झैँ लगत्तै घर फर्केर आए । त्यसबेलादेखी इन्द्रायणी एउटीको जात्रा पिशाच चतुर्दशीको दिन नभई बाला चतुर्दशीको दिन गर्ने गरेको हो भन्ने मान्यता छ ।
वंशावलीको कथन अनुसार यो चाडको बखत खटयात्रा गरिने भद्रकाली, कङ्केश्वरी, इन्द्रायणी (लुती) आदि देवीको स्थापना कलिगत ३८२५ मा राजा गुणकामदेवले ‘येँ’ नाम गरिएको पहिलेको काठमाडौँ सहरको क्षेत्र बढाई कान्तिपुर सहर भनी नामकरण गरेको देश रक्षार्थ विभिन्न दिशामा स्थापना गरेको प्रमाण छ । फेरि ती देवहरूको खटयात्रा गर्ने र १२ वर्षमा एक पटक ती देवीमध्ये धेरैजसोको नाच नचाउने प्रथा राजा अमर मल्लले नेपाल संवत् ८५० मा चलाएका हुन् भन्ने प्रचलन छ ।
त्यसकारण यी कुराबारे राम्रो ज्ञान प्राप्त गर्न धेरै समय लाग्छ । अहिलेलाई भूमिका मात्र भए पनि प्रस्तुत गर्नु उचित लाग्यो । साधारणतया आधुनिक दृष्टिकोणबाट मनन गर्दा यो चाडलाई पहिले पहिलेका विद्वान्ले अरू चाडलाई झैँ आफ्नो कृषिप्रधान देश नेपालका जनतालाई केही दिन आराम विश्राम गराउन दिई हरबखत काममा व्यस्त रहेको दिमागलाई विश्राम दिन यो चाड मनाउने प्रचलन राखेको पाइन्छ । यस चाडको गतिविधि हेर्दा पनि मानिसको स्वास्थ्य रक्षा र आमोद–प्रमोदका लागि नै धार्मिक तथा तान्त्रिक रङ्गमा रङ्गाई यस चाडलाई मनाउने दिइराखेका हुन् कि भन्ने भान हुन्छ । यो चाडबारे अलि गहिरिएर मनन गर्दा अनेक शिक्षाप्रद कुरा दृष्टिगोचर हुन्छ । यो चाडको बखत सफासुग्घर, लिपघस तथा नुहाउने नगर्ने व्यक्तिले पनि नुहाई धुवाई गरिने कार्यबाट स्वास्थ्य–रक्षा तथा सफा सुग्घरको कार्यमा बानी लगाउने शिक्षा ग्रहण गर्न सकिन्छ ।
यी कुराका अतिरिक्त यस चाडको बखत टुँडिखेलमा र असनमा खट जुधाउने भनी क्रमैसँग बढी उमेरका देवीलाई कम उमेरका देवीले ढोगाई परिक्रमा गराउने प्रचलन पनि छ । जुनसुकै बेलामा र जहाँतहीँ पनि तल्लो दर्जाका र कम उमेरका व्यक्तिले माथिल्लो दर्जाका र बढी उमेरका व्यक्तिलाई मान मर्यादा, आदर सत्कार तथा सम्मान गर्नु पर्दो रहेछ भन्ने अनुशासन पालक विषयक व्यावहारिक ज्ञान हासिल गर्न सकिन्छ । यी कारणले गर्दा यो चाडको आफ्नै विशेषता छ । तसर्थ हामीले यो चाडलाई आफ्नो देश, काल र परिस्थिति अनुसार आफ्नो आस्थासँग मिल्ने गरी मनाउँदै जान सके संस्कृतिको संरक्षणमा टेवा पुग्ने छ ।