वीरगन्ज समाचारदाता
वीरगन्ज, चैत १४ गते । ४५ वर्षीय राजेशप्रसाद चौहान टाउकोमा चोट लागेपछि वीरगन्जको नारायणी अस्पतालमा उपचारका लागि आउनुभयो । ओपिडीको टिकट काटेपछि डा. उमेश कुशवाहासँग परीक्षण गराउँदा टाउकोको सिटी स्क्यान गर्न लेख्नुभयो । सो अस्पतालमा सिटी स्क्यान नहुँदा निजी अस्पतालमा जान भनियो । अस्पतालमा अत्याधुनिक सिटी स्क्यान मेसिन रहेको सुनेका चौहानले अचम्मित हँुदै सोधखोज गर्दा विगत तीन महिनादेखि सिटी स्क्यानले काम नगर्दा बिरामीलाई समस्या भएको थाहा पाउनुभयो ।
चौहान प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । उहाँ जस्ता दैनिक २० देखि २५ जना बिरामी सिटी स्क्यानका लागि नारायणी अस्पतालबाट नजिकका अन्य निजी अस्पतालमा जान बाध्य छन् । नारायणी अस्पतालको सिटी स्क्यान मेसिन गत माघदेखि नै बिग्रिएर बन्द रहेको सिटी स्क्यान फाँटका रेडियोलोजिस्ट डा. पुष्प अधिकारीले जानकारी दिनुभयो ।
अस्पतालका रेडियोलोजी विभागका इन्चार्ज प्रदीप साह सिटी स्क्यान मेसिनको ‘फ्युज पाइप’ खराब भएको बताउनुहुन्छ । उहाँका अनुसार चीनमा निर्मित उक्त मेसिनको ‘फ्युज पाइप’ पनि चीनबाटै ल्याउनुपर्ने भएकाले ल्याउन समय लागेको हो ।
यता अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ताले सिटी स्क्यान मेसिनको बदल्नुपर्ने उपकरण १० लाख रुपियाँभन्दा माथिको भएकाले पु¥याउनुपर्ने प्रशासनिक प्रव्रिmया र बदल्नुपर्ने उपकरण चीनबाट मगाउनुपर्दा समय लागेको बताउनुभयो । यो महिनाभित्र मेसिन सञ्चालनमा आइसक्ने उहाँकोे भनाइ छ ।
नारायणी अस्पतालमा २५ सय रुपियाँदेखि ५५ सय रुपियाँमा हुने सिटी स्क्यान जाँच निजी स्वास्थ्य संस्थामा जाँदा ४५ सयदेखि १० हजार रुपियाँ लाग्ने गरेकाले सेवाग्राहीलाई महँगोमा सिटी स्क्यान गराउनुपर्ने बाध्यता छ । अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले सिटी स्क्यान मेसिनमा लाग्ने ट्युब खराब भएर सञ्चालन नभएको बताउँदै अस्पतालको सिटी स्क्यान खराब भएपछि सेवा दिन नपाएको र अस्पतालको आम्दानीसमेत गुमेको बताउनुभयो ।
अस्पतालका जिन्सी शाखा प्रमुख सुशील यादवका अनुसार मेसिनको ट्युब फ्युज भएर माघदेखि नै मेसिन बन्द रहेको कुरा अस्पतालले आपूर्तिकर्ता लुम्बिनी साइसेन्सलाई जानकारी गराइसकेको र आपूर्तिकर्ताले दुई हप्तामा उपकरण उपलब्ध गराउने भने पनि चार हप्ता बितिसकेको छ । उहाँले भन्नुभयो, “आपूर्तिकर्तालाई ताकिता गरिरहेका छौँ । सप्लायर्सले पनि बाहिरबाट मगाउने हो, हामी त्यसमै लागिरहेका छौँ । यो महिनाभित्र सप्लायर्सले उपलब्ध गराउँछु भनेको छ । सामान उपलब्ध भएपछि चाँडै सञ्चालनमा ल्याउछौँ ।”