• १७ चैत २०८१, आइतबार

जबज दर्शन र ओली मार्ग

blog

मार्क्सवाद एक वैज्ञानिक दर्शन, राजनीतिक, अर्थशास्त्र र क्रान्तिकारी गतिशील समाज विज्ञान हो । यसले जीवन र जगत्लाई द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी ढङ्गले हेर्ने बुझ्ने, व्याख्या गर्ने र संसारको परिवर्तनका निमित्त बाटो देखाउने काम गर्छ । यो सर्वहारा श्रमजीवी वर्गको मुक्तिको सिद्धान्त हो । लेनिनको विचारमा – माक्र्सको सिद्धान्तमा रहेको मुख्य चिज त्यो हो, जसले समाजवादी समाजको निर्माताको रूपमा सर्वहारा वर्गको ऐतिहासिक भूमिकालाई उजागर गर्ने काम गर्छ । माक्र्स भन्छन्, “दार्शनिकले संसार यस्तो छ भनेर मात्र व्याख्या गरेका छन् तर मुख्य कुरा यसलाई बदल्नु हो ।”

एङगेल्सले–“मार्क्सवाद यो कुनै जडसूत्र नभएर कामका निम्ति दिशा निर्देशक हो भनेका छन् ।” लेनिनले–“माक्र्सवादका तीन अङ्ग छन्ः दर्शन, राजनीतिक, अर्थशास्त्र र वैज्ञानिक समाजवाद, जर्मन शास्त्रीय दर्शन (फायरवाखँ र हेगेल) बेलायती राजनीतिक अर्थशास्त्र (आदम स्मिथ र डेभिड रिकार्डो) र फ्रान्सेली समाजवाद यी तीन सङ्घटक अङ्गका प्रारम्भिक स्रोत हुन् । यी ती सङ्घटक अङ्गको एकीकृत र संश्लेषित समुच्चता नै माक्र्सवाद हो ।”

सामान्य अर्थमा भन्नुपर्दा माक्र्सद्वारा लिखित राज्य व्यवस्थामा श्रमको यथोचित फल मिल्नु पर्छ र पुँजीवादलाई सङ्घर्ष गरी पल्टाएर वैज्ञानिक समाजवाद स्थापित गर्नु पर्छ भन्ने विचारको सिद्धान्त नै माक्र्सवाद हो । किसान मजदुर सर्वहारा वर्गद्वारा क्रान्ति गरी देशको शासन सत्ता जनताको हातमा ल्याउने र राष्ट्रिय पुँजी तथा उत्पादनमा समान हक उपयोग कायम गर्ने राजनीतिक सिद्धान्तनै लेनिनवाद हो । लेलिनवादी सङ्गठनात्मक सिद्धान्त एवं जनवादी केन्द्रीयतालाई जबजले ग्रहण गरी आफ्नो सिद्धान्त बनाएको छ । माक्र्सवादको मार्ग दर्शन विश्व कम्युनिस्ट आन्दोलनको झन्डै १६० वर्षको अनुभव हो । नेपाली कम्युनिस्ट आन्दोलनको झन्डै आधा शताब्दीभन्दा धेरै लामो यात्राका शिक्षाका आधारमा मदन भण्डारीको अगुवाइमा नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रूपमा पाँचौँ राष्ट्रिय महाधिवेशनबाट जनताको बहुदलीयवादको प्रतिपादन र अनुमोदन गरियो । 

छैटौँ राष्ट्रिय महाधिवेशनले उक्त कार्यक्रमलाई नेपाली क्रान्तिको सिद्धान्त हो भन्ने निष्कर्ष निकाली पारित गरेको छ । नेकपा (एमाले) द्वारा आयोजित पाँचौँ, छैटौँ, सातौँ र आठौँ सबै महाधिवेशनले जबजलाई नेपालको सन्दर्भमा माक्र्सवादको सृजनात्मक संस्करणको रूपमा स्वीकार गरेका छन् । दार्शनिक आधारका रूपमा जबजको प्रमुख पक्ष बहुलताको अङ्गीकार गर्दै पार्टीले आफ्नो ठाउँमा बहुदलीय राजनीतिक प्रणाली अन्र्तगत सर्वहारा श्रमजीवी जनताको इच्छा आकाङ्क्षाको रक्षा र विकास गर्ने दृष्टिकोण लिएको छ ।

तत्कालीन राष्ट्रिय परिस्थिति

जनताका बहुदलीय जनवाद नेपालको विशिष्ट अवस्थामा माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्ने क्रान्तिकारी सिद्धान्त र कार्यक्रम हो । यो परम्परागत नयाँ जनवाद नभएर केही थप दार्शनिक एवं कार्यक्रमिक मान्यतासहितको नयाँ जनवाद हो । जबजका प्रणेता मदन भण्डारीका अनुसार जनताको बहुदलीय जनवादको तात्पर्य बहुदलीय प्रतिस्पर्धा भएको राजनीतिक शासन प्रणालीसहितको जनवादी राज्य सत्ता हो । बहुदलीय शासन प्रणालीलाई व्यक्त गर्न राखिएको शब्द हो भने जनवाद राज्यसत्तालाई परिभाषित गर्न राखिएको शब्द हो । जनताको बहुदलीय जनवादमा दार्शनिक एवं सैद्धान्तिक पक्ष, कार्यक्रमिक पक्ष, कार्यनीतिका पक्ष रहेका छन् । नेकपा (एमाले) माक्र्सवाद–लेनिनवादका आधारभूत प्रस्तावनामाथि निष्ठाका साथ लागिरहेको छ । उसले वैज्ञानिक समाजवादको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता जाहेर गर्दै दक्षिणपन्थी अवसरवादलाई परास्त गर्दै सङ्गठनात्मक अराजकतावादको अन्त्य गरौँ भन्दै नेपालको विशिष्ट परिस्थितिमा माक्र्सवादको सिर्जनात्मक ढङ्गले प्रयोग गर्ने दृढ मान्यता अँगालेको छ । जबजले द्वन्द्वात्मक एवम ऐतिहासिक भौतिकवादका मूल मान्यतामा आधारित भएर आफूलाई प्रस्तुत गरेको छ । 

जबजको दार्शनिक मान्यता तथा दर्शन 

द्वन्द्वको नियम सार्वभौम

जबजले – माक्र्सवादको दृष्टिकोण र दर्शन द्वन्द्वात्मक भौतिकवादलाई अङ्गीकार गरेको छ । द्वन्द्व सार्वभौम नियम नै हो । कुनै पनि राज्य व्यवस्थामा त्यसबेला विद्यमान समाजमा रहेका राजनीतिक दृष्टिकोणको बिचमा संविधानसम्मत ढङ्गले प्रतिस्पर्धा हुन दिनु पर्छ भन्दै द्वन्द्वको नियम सर्वत्र लागु हुने नियम भएकाले अन्य सबै क्षेत्रमा जस्तै राजनीतिक क्षेत्रमा पनि लागु हुन्छ र हुनु पर्छ भन्ने मान्यता अगाडि सारेको छ । संसारका सबै वस्तु र घटनामा दुई विपरीत पक्ष अर्थात् प्रतिपक्ष रहेका हुन्छन् र तिनीहरूका बिच एकता र सङ्घर्ष चलिरहन्छ भन्ने नियम माक्र्सवादी दर्शनको एउटा प्रमुख नियम हो । जबजले त्यसलाई मनन गरेर द्वन्द्वको नियम सर्वत्र लागु हुने नियम भएकाले अन्य क्षेत्रमा जस्तै राजनीतिमा पनि लागु हुन्छ भन्ने मान्यता अगाडि अँगालेको छ । त्यसैले जबजले द्वन्द्वको नियमलाई आफ्नो अपरिहार्य दर्शनको अङ्ग बनाएको छ । 

 सारको प्रधानता

जबजले हरेक वस्तुको रूप पक्ष र सार पक्ष हुन्छ भन्ने मान्यता स्वीकार गरेको छ । राजनीतिक सत्ताको सारपक्ष राज्ययन्त्रसँग सम्बन्धित हो भने त्यसको रूप पक्ष शासन तन्त्रसँग सम्बन्धित छ । हामीले रूप पक्षलाई समर्थन गर्ने र सारलाई सङ्घर्षमार्फत परिवर्तन गर्ने कुराको पक्षपोषण गरिरहेका छौँ भन्दै सारपक्षको प्रधानतामा जोड दिएका छौँ । संसारका सबै वस्तु र घटनामा सार पक्ष र रूप पक्षको अस्तित्व हुन्छ । हरेक वस्तु या घटनाभित्र निश्चित प्रकारका प्रतिपक्ष हुन्छन्, निश्चित आन्तरिक सम्बन्ध हुन्छन्, निश्चित प्रकारका आन्तरिक अन्तर विरोध हुन्छन्, विकासको स्वभाव पनि निश्चित प्रकारको नै हुन्छ । यी सबको समुच्चय या कुल योगलाई सार भनिन्छ । सारको आधारमा बनेको बाहिरी संरचना या ढाँचालाई रूप भनिन्छ । रूप सारको आधारमा बनेको हुन्छ भने सार रूपमा प्रकट हुन्छ । सारबिनाको रूपको अस्तित्व सम्भव छैन । रूपका अभावमा सारको प्रकटीकरण पनि हुन सक्दैन । यसरी सार र रूपबिचको द्वन्द्वात्मक सम्बन्ध हुन्छ । सार र रूपमध्ये सार पैधान हुन्छ र एउटा सार अनेक रूपमा प्रकट हुन सक्छ । यस दर्शनको मान्यतालाई जनताको बहुदलीय जनवादले अँगालेर आफ्नो दर्शन निर्माण गरेको छ ।


 क्रान्ति एक वस्तुगत प्रक्रिया

जबजले क्रान्ति मनोगत प्रक्रिया नभई वस्तुगत प्रक्रिया हो भन्ने मान्यता अगाडि सारेको छ । जबजको मान्यता यस्तो छ । माक्र्सवादी दर्शनका आधारमा क्रान्ति एउटा अनिवार्य वस्तुगत प्रक्रिया हो । मनोगत आग्रहले मात्र क्रान्ति हुन सक्दैन वस्तुगत विकासका नियम अनुकूल त्यसै दिशामा मनोगत शक्तिको प्रयास पनि केन्द्रित भयो भने क्रान्ति चाँडो गर्न सकिन्छ, त्यसो नभए त्यसमा विलम्ब हुन सक्छ । विद्यमान समाजको गर्भभित्र नै नयाँ समाजका तत्वको उदय र विकास नभई क्रान्ति हुन सक्दैन ।

क्रान्तिले पुरानो समाजको आधारलाई तोड्छ र नयाँ समाजको संरचनालाई सुदृढ बनाउँछ । आमरूपमा जनताको इच्छा अनुरूप एवं वस्तुगत परिस्थितिको विकासको परिपक्व अवस्थामा नयाँ समाजको जन्म हुन्छ । जनताको चेतना र निर्णायक पहलकदमीबाट नै क्रान्ति सम्पन्न हुन्छ । यसरी क्रान्तिलाई अनिवार्य वस्तुगत प्रक्रिया ठान्ने र त्यसमा जनताको भूमिका निर्णायक हुन्छ भनेर मान्ने जबजको यो मान्यता द्वन्द्ववादको क्रान्तिसम्बन्धी मूल मान्यता अनुरूप रहेको छ । यसरी जबजले क्रान्ति एक वस्तुगत प्रक्रिया ‘माक्र्सवादी दर्शनको एक विशेषतालाई अँगालेर आफ्नो दर्शन निर्माण गरेको छ ।’


 श्रमजीवी वर्गको पक्षपोषण र उत्पादक शक्तिको मुक्तिमा जोड

जबजले परिस्थिति, समय र स्थानको भिन्नताले माक्र्सवादलाई लागु गर्ने नीति एवं तरिकामा भिन्नता हुन सक्छ । जहाँसुकै र जहिले पनि एवं जुनसुकै परिस्थिति भए पनि माक्र्सवादको वर्ग स्वरूप फेरिन सक्तैन । व्यवहार निरनतर गतिशील भइरहने विषय हो । व्यवहारको गति र विकासका प्रत्येक अवस्थामा सिद्धान्तले त्यसलाई मार्ग दर्शन गरिरहनु पर्छ भन्दै हरेक दर्शन, सिद्धान्त, विचार र चिन्तनमा वर्ग पक्षधरता हुन्छ र तिनीहरू सबै गतिशील हुन्छन् भन्ने मान्यता अगाडि सारेको छ । 

जबजले माक्र्सवाद सर्वहारा श्रमजीवी उत्पादक शक्तिको मुक्ति र समृद्धिको सिद्धान्त हो भन्ने स्वीकार गरेको छ । माक्र्सवादले हरेक समाजमा हरेक बेला उत्पादक शक्तिको पक्षपोषण गरिरहेको हुन्छ । हाम्रो पार्टीले बहुदलीय राजनीतिक प्रणाली अन्र्तगत सर्वहारा श्रमजीवी जनताको इच्छा आकाङ्क्षाको रक्षा र विकास गर्ने दृष्टिकोण लिएको छ भन्दै नेपाली समाजको श्रमजीवी वर्ग र यहाँको उत्पादक शक्तिको पक्षमा जबजले आफूलाई उभ्याएको छ । यसरी जबजले श्रमजीवी वर्गको पक्षपोषण र उत्पादक शक्तिको मुक्तिमा जोड दिने माक्र्सवादी दर्शनको विशषतालाई अङ्गीकार गर्दै आफ्नो दर्शन बनाएको छ ।


 वर्ग सङ्घर्ष प्रधान, रूप सापेक्ष

जबजको मान्यता क्रान्ति सम्पन्न गर्न बाटोको हिसाबले समन्वय होइन, वर्ग सम्झौता होइन, वर्ग सङ्घर्ष नै मूल आधारभूत कुरा हो । सङ्घर्ष दुई विपरीत पक्षबिचको टक्कर हो, प्रतिस्पर्धा हो ।

जनताको बिचबाट, वर्ग सङ्घर्षबाट दुई विपरीत तìवबिचको सङ्घर्षबाट तय हुने कुरा हो । वर्ग सङ्घर्षबाट सामाजिक समस्याको समाधान हुन सक्ने कुरा दृढ विश्वास राख्छौँ भन्दै वर्गीय समाजलाई बदल्नका निम्ति अवलम्बन गरिने निर्णायक माध्यम वर्ग सङ्घर्ष हो । वर्गीय समाजमा वर्ग सङ्घर्ष निरपेक्ष ढङ्गले चल्छ ।

क्रान्तिकारीहरूले वर्ग सङ्घर्षको कुन रूप अवलम्बन गर्ने भन्ने कुरा परिस्थितिमा र व्यवहारमा भर पर्छ । वर्ग सङ्घर्षका समय र परिस्थिति सापेक्ष रूपको प्रयोग गर्नु पर्छ, सङ्घर्षको मैदानबाट नै सङ्घर्षको रूप तय हुन्छ, मनोगत आग्रहबाट होइन भन्ने जस्ता मान्यता अगाडि जबजले सारेको छ । यसरी जबजले ‘वर्ग सङ्घर्ष प्रधान, रूप सापेक्ष’ को मान्यता लाई माक्र्सवादी दर्शनले आफ्नो एक अभिन्न विशेषताको रूपमा लिएको छ भने त्यसैलाई ग्रहण गर्दै व्यवहारमा लागु गर्दै आफ्नो दर्शनमा समावेश गरेको छ ।


 जनताको जनवादी राज्य सत्ता

जबजको मान्यतानुसार अधिनायकत्व राज सत्ताको एउटा मुख्य र निर्णायक कामलाई अभिव्यक्त गर्ने शब्द हो । अधिनायकत्व भनेको राज्य हो । माक्र्सवादी दृष्टिकोण अनुसार राज्य भनेको वर्गीय हुन्छ । जनताको राज्यको काम आमजनताको नेतृत्व गर्दै जनताका निम्ति कल्याणकारी काम गर्नु हो, केवल नियन्त्रण र दमन गर्नु मात्र होइन । हामीले अधिनायकत्व शब्दको सट्टा आमरूपमा राज्यसत्ता भन्ने शब्द प्रयोग गरेका छौँ ।

पहिलो कुरा मुट्ठीभरका प्रतिगामीमाथि अधिनायकत्व भएको ९५ प्रतिशत जनताका निम्ति जनवाद दिने राज्य सत्ता भएको र राज्यसत्ताको काम केवल अधिनायकत्व मात्र नभएर जनता र राष्ट्रका निम्ति कल्याणकारी काम नै उसको प्रमुख जिम्मेवारी हो । राज्य सत्ताको एउटा मात्र पक्षलाई अभिव्यक्त गर्ने अधिनायकत्व अर्थात् जनताको जनवादी अधिनायकत्व भन्नुभन्दा जनताको जनवादी राज्यसत्ता भन्ने प्रयोग गरेका छौँ । जनताको राज्यसत्ता भन्ने मान्यता (माक्र्सवादी दर्शनको अनुरूपको मान्यता) अगाडि सार्दै जबजले आफ्नो दर्शनको विशेषतामा समावेश गरेको छ ।


 पुरानोका गुण नयाँमा

जबजले कुनै पनि वस्तु वा घटनामा गुणात्मक परिवर्तन हुँदा अस्तित्वको पुरानो रूपका केही गुण नयाँ रूपमा पनि आउन सक्छन् र आउँछन् भन्ने मान्यता अँगालेको छ । द्वन्द्वात्मक भौतिकवादको निषेधको निषेध हुने नियमले अस्तित्वको एउटा रूप निषेध हुँदा, त्यसका सम्पूर्ण पक्ष र गुण समाप्त हुँदैनन् । नयाँले पुरानोको स्थान लिन्छ, नयाँ शून्यबाट अस्तित्वमा आउने नभई नयाँ रूपमा पुरानोको निरन्तरता हो । निषेध विकासको पुरानो र नयाँ चरणबिच सम्बन्ध जोड्ने कडी हो ।

विकासको विच्छिन्नता र अविच्छिन्नताबिच एकताको कडी हो । समाजको विकासको क्रमलाई अध्ययन गर्दा दास प्रथात्मक समाजका कैयौँ गुण सामन्तवादी समाजमा, सामन्तवादी समाजका कैयौँ गुण पुँजीवादी समाजमा पाइन्छ । त्यसै गरी पुँजीवादी समाजका कैयौँ गुण समाजवादी समाजमा रहेका छन् । समाजवादमा पुँजीवादका कतिपय गुण कायम रहने छन्, भन्ने सम्बन्धमा माक्र्स, एङ्गेल्स र लेनिनका भनाइ मननयोग्य छन् । यही मान्यतालाई अँगाल्दै जबजले आफ्नो दर्शनको महìवपूर्ण विशेषतामा समावेश गरेको छ । 

जबजको दर्शन र ओली मार्ग

कमरेड अध्यक्ष ओलीसमेतको पहलमा २०७४ सालमा नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रको वाम गठबन्धन बनाएर आमनिर्वाचनमा भाग लिएका थिए । त्यसबेला करिब दुई तिहाइको ६८ प्रतिशत जनमत वाम एकताको पक्षमा जनमत खसेको थियो । ३ जेठ २०७५ मा नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र एकीकृत भएर नेकपा बनेको थियो तर त्यो लामो समयसम्म टिक्न सकेन । २३ फागुन २०७७ को सर्वोच्च अदालतको फैसलाले नेकपाको एकता भङ्ग गरिदियो । नेकपा (एमाले) र माओवादी केन्द्रलाई आफ्नो पूर्वस्थितिमा ब्यँुत्याइदियो । माओवादी केन्द्र छुट्टै भएर आफ्नो पहिलेको स्थितिमा गयो । त्यसपछि २०७८ साल भदौ पहिलो सातामा नेकपा (एमाले) बाट चोइदिएर फुटेर नेकपा (एकीकृत समाजवादी) बन्यो । एकीकृत नेकपा नटिकेर तीन वटा पार्टी बन्यो । २०७९ सालको निर्वाचन सम्म आइ पुग्दा विभिन्न टुक्रामा विभाजित कम्युनिस्ट पार्टीहरूको पक्षमा जम्मा ४८ प्रतिशत जनमत खस्यो । 

यस्तो जटिल, गम्भीर र सङ्कटमा पार्टीको आन्तरिक जीवनको समस्यालाई अध्यक्ष ओलीले ऐतिहासिक रूपमा सामना गर्नुभयो । अध्यक्षको अदम्य साहस, सृजनशील क्षमता, निर्णायक क्षमता, प्रतिभा र देशभरका इमानदार कार्यकर्ताको सहयोग र समर्थनले पार्टीले नयाँ जीवन प्राप्त ग¥यो ।

निष्कर्ष

जननेता मदन भण्डारीको रहस्यमय मृत्युसँगै जबजका कतिपय पक्षमा हुनुपर्ने सिर्जनात्मक बहस र थप विकास अवरुद्ध भए । २०७१ सालमा अध्यक्ष कमरेडले लेख्नुभएका नौ वटा गहन वैचारिक लेखको सँगालोको रूपमा ‘जबज र पार्टी जीवनको लोकतान्त्रीकरण’ नामक ग्रन्थको रूपमा सार्वजनिक भएको छ । यो पार्टीको आन्तरिक जीवनलाई सुदृढ गराउन उपयोगी सङ्ग्रह रहेको छ । जबजको व्याख्या र विश्लेषण गर्दै जबजलाई स्थापित र समृद्ध पार्न अध्यक्ष ओलीले लगातार मेहनत गरिरहनुभएको छ । 

पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशन आउँदै छ, हामी द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोणमा आस्था राख्ने व्यक्ति हौ, हरेक कुराको विकल्प हुन्छ तर नेकपा (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशनमा ओलीको विकल्प छैन, यो यथार्थ तथ्य हो, सत्य हो । जबजका यी दार्शनिक मान्यता छन्, यसका आधारमा एमालेले लोकप्रियता हासिल गर्दै ऐतिहासिक उपलब्धिसमेत चुमेको छ । जबजले अझ लोकप्रियता हासिल गर्न यसका दार्शनिक मान्यतालाई थप समृद्ध गराउन ओलीले मार्ग प्रशस्त गर्नु भएको गन्तव्य नै आजको हाम्रो गन्तव्य हो ।