• १७ चैत २०८१, आइतबार

स्वास्थ्यमा जलवायु परिवर्तन प्रभाव

blog

पछिल्ला वर्षमा नेपालमा नसर्ने रोगको कारण मृत्यु हुनेको सङ्ख्या बढ्दो छ । यसको प्रमुख कारणमध्ये जलवायु परिवर्तन प्रमुख कारण हो । जलवायु परिवर्तनले वायु, पानी र माटोमा असर गर्छ । वायु, पानी र माटोका कारण सरुवा रोगसँगै नसर्ने रोगको सङ्क्रमण पनि बढाउँछ । स्वास्थ्य विज्ञहरूका अनुसार जलवायु परिवर्तनको सबैभन्दा बढी असर स्वास्थ्य क्षेत्रमा पर्ने गरेको छ । नेपालमा गत असोजमा आएको अत्यधिक बाढी पहिरोका कारण थुप्रैले ज्यान गुमाए । कैयौँ बिरामी परे । यसो हुनुको प्रमुख कारण पनि जलवायु परिवर्तन नै हो । बाढीका कारण स्वास्थ्य संस्थासमेत डुबानमा परे । जलवायु परिवर्तनकै कारण पृथ्वीको तापक्रम बढ्दो छ । पछिल्ला वर्षमा किटजन्य रोगको सङ्क्रमण बढी रहेको छ । तराईमा हुने औलो हिमालसम्म पुग्नुको कारण पनि जलवायु परिवर्तन कारक तत्व रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमाल बताउनुहुन्छ । 

डा. धिमालका अनुसार पृथ्वीको तापक्रम एक प्रतिशत बढ्यो भने साढे चार प्रतिशत रोगको भार बढ्छ । नेपालमा कुपोषणको समस्या बढ्दै जानु र सरुवासँगै नसर्ने रोगको सङ्क्रमण बढ्दै जानुमा पनि जलवायु परिवर्तनको भूमिका रहेको डा. धिमालको भनाइ छ । नेपालमा हुने मृत्युमध्ये २१ प्रतिशतको मृत्यु जलवायु प्रदूषणका कारण निम्त्याउने स्वास्थ्य समस्याका कारण हुने गरेको छ । एक दशकसम्म नेपालमा सरुवा रोगको प्रकोपले धेरैको मृत्यु हुने गरेको थियो तर अहिले अवस्था फेरिएको छ । प्रत्येक घरमा कुनै न कुनै व्यक्ति नसर्ने रोगबाट पीडित छन् । नसर्ने रोगमध्ये पनि उच्च रक्तचाप र मधुमेह त सबैको साझा स्वास्थ्य समस्या नै बनेको छ । ती रोगमध्ये केही अस्वस्थ्यकर खानपान र जीवनशैलीका कारण लाग्छन् भने केही वातावरण र मेटाबोलिजमसँग सम्बन्धित छन् । वायु प्रदूषण, दूषित पानी र वातावरणीय परिवर्तनका कारण उत्पन्न हुने रोग पर्छन्, जसले श्वासप्रश्वाससम्बन्धी रोग र अन्य स्वास्थ्य समस्या निम्त्याउँछन् ।

मेटाबोलिजमसँग सम्बन्धित कारकमा उच्च रक्तचाप, मधुमेह र मोटोपनलगायत अवस्था पर्छन्, जसले हृदयघात, पक्षघात र अन्य गम्भीर रोगको जोखिम बढाउँछन् । त्यसै गरी व्यवहारजन्य कारकमा धूमपान, मदिरा सेवन, असन्तुलित आहार र शारीरिक गतिविधिको अभावले स्वास्थ्यमा नकारात्मक असर पार्दै दीर्घकालीन रूपमा मृत्युको मुखसम्म पु¥याउन भूमिका खेल्छन् । 

अमेरिकाको वासिङ्गटन विश्वविद्यालयको स्वास्थ्य मेट्रिक्स एनड इभ्यालुएसन इन्स्टिच्युटको नेतृत्वमा सम्पन्न भएको विश्वव्यापी रोगको भारको अनुमान प्रदान गर्ने ग्लोबल बर्डन अफ डिजिज २०२१ नामक अध्ययन अनुसार विश्वभरि मृत्युका प्रमुख तीन कारणमा मुटुसम्बन्धी रोग २८.६१ प्रतिशत, श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण तथा क्षयरोग १६.५ प्रतिशत र क्यान्सर १४.५ प्रतिशत छ । दक्षिण एसियामा मुटुसम्बन्धी रोग २४.७४ प्रतिशत श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण तथा क्षयरोग २०.८ प्रतिशत र श्वासप्रश्वाससम्बन्धी दीर्घ रोगले १०.३८ प्रतिशत मृत्युका प्रमुख तीन कारण देखिएका छन् । पछिल्लो समय मुटुसम्बन्धी रोग अधिक बढेको देखिन्छ जुन १९९० मा प्रति लाख ५४.९३ थियो भने २०२१ मा यो दरमा वृद्धि भएर ८८.७६ प्रति लाख पुगिसकेको छ । 

सन् १९९० मा श्वासप्रश्वाससम्बन्धी रोग विशेष गरी क्षयरोग र तल्लो श्वास नलीको सङ्क्रमण मृत्युको प्रमुख कारक तत्व थियो । पछिल्लो समय क्षयरोग र तल्लो श्वास नलीको सङ्क्रमणका कारणले मृत्यु हुने सङ्ख्यामा कमी आए पनि कोरोना महामारीको समयमा श्वासप्रश्वाससम्बन्धी रोगको दरमा अचानक वृद्धि देखिएको थियो । 

मृत्युलाई प्रभाव पार्ने प्रमुख जोखिम तत्वमा क्रमशः उच्च रक्तचाप, धूमपान र रगतमा उच्च मधुमेह पर्छन् । उच्च रक्तचाप र रगतमा चिनीको मात्रा बढ्दै जानुमा शारीरिक व्यायामको कमी, अस्वस्थ खानपान र जीवनशैली, वायु प्रदूषणलगायत कारण हुन् ।

दीर्घ श्वासप्रश्वासका लागि धूमपान प्रमुख कारण हो । यस्तै गरी वायु प्रदूषण, घरको धुवाँ, रासायनिक पदार्थ मिसिएको धुवाँको मुस्लोले श्वासप्रश्वासको रोग बढिरहेको छ । श्वासप्रश्वासको रोगमा लामो समयसम्म धूमपान गर्ने व्यक्ति, धुवाँ तथा वायु प्रदूषणमा रहने व्यक्ति (ट्राफिक, इँटाभटा, सिमेन्ट कारखानामा काम गर्ने आदि) जोखिममा हुन्छन् । यस्ता रोगबाट जोगिन धूमपानदेखि टाढै रहेर प्रदूषणबाट जोगिन आवश्यक छ । प्रदूषणबाट जोगिन बाहिरी वातावरणमा निस्कँदा मास्क लगाएर मात्र निस्कन आवश्यक हुन्छ । यसका साथै ग्रामीण क्षेत्रमा दाउरा तथा अन्य धुवाँ निस्कने वस्तुबाट खाना पकाउने कारणले पनि श्वासप्रश्वासमा समस्या बढाउँछ ।

वायु प्रदूषणका प्रभावमा पनि उल्लेखनीय परिवर्तन आएको छ । सन् १९९० को तुलनामा, विश्वभर वायु प्रदूषणका कारण हुने मृत्युदर प्रति लाख १३७.६३ बाट घटेर १०२.३९ पुगेको छ । विश्वभर यसलाई दोस्रो प्रमुख जोखिमको रूपमा मानिन्छ, त्यही दक्षिण एसिया र नेपालमा २०२१ मा वायु प्रदूषण सबैभन्दा बढी मृत्युको कारणको रूपमा देखिएको छ । घरायसी वायु प्रदूषण केही हदसम्म घटेको भए पनि यसले अझै पनि महत्वपूर्ण स्वास्थ्य जोखिमको रूपमा काम गरिरहेको छ । घरायसी वायु प्रदूषण घट्दै गएको भए पनि बाह्य वायु प्रदूषण वृद्धि हुँदै गएको छ, जसले मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको छ ।

विश्वभर वायु प्रदूषणका कारण हुने मृत्युदर प्रति लाख १३७.६३ बाट घटेर १०२.३९ पुगेको छ । विश्वभर यसलाई दोस्रो प्रमुख जोखिमको रूपमा मानिन्छ, त्यही दक्षिणएसिया र नेपालमा २०२१ मा वायु प्रदूषण सबैभन्दा बढी मृत्युको कारणको रूपमा देखिएको छ ।

यो बढ्दो वातावरणीय वायु प्रदूषणको कारण श्वासप्रश्वास, एलर्जी, हृदयसम्बन्धी समस्यालगायत स्वास्थ्य समस्या देखा परिरहेका छन् । यसले मानिसको जीवनशैली र स्वास्थ्यमा गम्भीर असर पु¥याइरहेको छ । साथै, जलवायु परिवर्तनले पनि रोगहरूको फैलावट तथा भारमा वृद्धि गरेको छ । 

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययन ‘बर्डेन अफ डिजिजको अध्ययन प्रतिवेदन २०१९’ मा नेपालमा हुने समष्टिगत मृत्यु, अल्पायुमा हुने मृत्यु र तिनका कारणहरू उल्लेख छ । प्रतिवेदनहरूमा विभिन्न स्वास्थ्य समस्याको कारण हुने अशक्तता र मृत्यु तथा अशक्तताका जोखिम तत्वहरूको अवस्था र प्रवृत्तिको विश्लेषण गरिएको छ ।

प्रतिवेदन अनुसार नेपालमा ३० वर्षको अवधिमा नसर्ने रोगका कारण हुने मृत्युदर दोब्बरभन्दा बढीले बढेको छ । सन् १९९० मा नेपालमा नसर्ने रोगका कारण हुने मृत्युको भार ३१.३ प्रतिशत थियो । सन् २००० मा उक्त दर बढेर ४३.२ प्रतिशत पुगेको थियो । यस्तै, सन् २०१० मा ५९.१ र सन् २०१९ मा आइपुग्दा ७१.१ प्रतिशत मृत्युको कारण नसर्ने रोग देखिएको छ । यसले पनि नेपालमा नसर्ने रोगको सुषुप्त महामारी फैलिइरहेको देखाउँछ । मुटु तथा रक्तनलीसम्बन्धी, मधुमेह, दीर्घ श्वासप्रश्वास तथा क्यान्सर जस्ता नसर्ने रोग नेपालमा पनि मृत्युको प्रमुख कारण बन्नु चिन्ताको विषय बनेको वरिष्ठ मुटु रोग विज्ञ डा. भगवान् कोइराला बताउनुहुन्छ । नसर्ने रोगको उपचारसँगै रोकथाममा विशेष रणनीति बनाएर अगाडि बढ्न ढिलो गरेको अवस्थामा अवस्था भयावह हुन सक्ने अनुमान डा. कोइरालाको छ । 

 नसर्ने रोगको बढ्दो प्रकोपका कारण विश्व नै आक्रान्त भइरहेका बेला नेपालले यसलाई व्यवस्थित रूपमा रोकथाम र नियन्त्रण गर्न नसर्ने रोगसम्बन्धी बहुक्षेत्रीय कार्ययोजना (सन् २०२१–२०२५) बनाएको छ । नेपालले नसर्ने रोगका कारणले अल्पायुमै हुने मृत्यु सन् २०२५ सम्ममा २५ प्रतिशतले घटाउने लक्ष्य लिएको छ । त्यसै गरी दिगो विकास लक्ष्यले समेत एक तिहाइले नसर्ने रोगका कारणले हुने मृत्यु घटाउने लक्ष्य लिएको छ । तर यो लक्ष्य पूरा गर्न त्यति सजिलो भने छैन । त्यसका लागि उपचारसँग रोकथामका कार्यक्रम पनि प्राथमकिताका साथ अगाडि बढाउनु पर्छ । स्वास्थ्य सरकारको र आमनागरिकको प्राथमिकतामा पर्नु पर्छ ।