प्रविधिको विकाससँगै भुक्तानीका साथै धनसम्पत्ति सञ्चय गर्ने नवीन साधन विकास भइरहेका छन् । यी साधनमध्ये अहिले विश्वको अर्थतन्त्रमा ठूलो प्रभाव पारेको र पार्न सक्ने साधनमध्ये एक क्रिप्टोकरेन्सी पनि हो ।
क्रिप्टोकरेन्सी निजी क्षेत्रबाट जारी गरिएको र मुद्राको रूपमा समेत कारोबार गर्न सकिने डिजिटल वस्तु हो । क्रिप्टोकरेन्सीका माध्यमबाट बैङ्क तथा वित्तीय संस्थाबिनै भुक्तानीसम्बन्धी कार्य गर्न सकिन्छ । क्रिप्टोकरेन्सी राज्यको स्वामित्व एवं दायित्व नभएको निजी क्षेत्रबाट निष्कासित वस्तु हो र यसको किनबेच अन्तर्राष्ट्रिय बजारमा मुद्राका रूपमा हुने गरेको छ ।
क्रिप्टोकरेन्सीको औपचारिक कारोबारको सुरुवात सन् २००९ मा Bitcoin बाट भएको मानिन्छ । शून्यबाट सुरु भएको Bitcoin को मूल्य सबैभन्दा उच्च सन् २०२१ अप्रिल १२ मा अमेरिकी डलर ६८ हजार ७८९ रहेकोमा हाल क्रमशः घटदै गएको छ । पुँजीबजारमा सेयर किनबेच भए जस्तै क्रिप्टोकरेन्सी किनबेच हुने गरेको छ ।
विश्वको कुनै पनि मुलुकमा राज्यको आधिकारिक मुद्रा जारी गर्ने निकाय एउटा मात्र हुन्छ । सामान्यतया सम्बन्धित मुलुकको केन्द्रीय बैङ्कलाई यसको जिम्मेवारी दिइएको हुन्छ । आधिकारिक मुद्रालाई राज्यले ग्यारेन्टी प्रदान गरेको हुन्छ । जस्तै नेपाली नोटमा नेपाल सरकारको जमानतप्राप्त यसको भुक्तानी माग्न आएमा तुरुन्त भुक्तानी पाइने छ भनी लेखिएको हुन्छ । यसको अर्थ नेपाली मुद्रालाई राज्यले सुरक्षा प्रदान गरेको छ । राज्यले स्वामित्व लिएका कारणले कागजबाट बनेको मुद्रालाई हामी स्वीकार गर्दछौँ ।
निजी क्षेत्रले जारी गरेको भए पनि कानुनी ग्राह्य मुद्रा जस्तै कारोबारमा प्रयोग हुने भएकाले क्रिप्टोकरेन्सीले मुद्राको काम त गर्दछ तर राज्यको नियमन तथा सुपरिवेक्षण यसमा हुँदैन । यो अन्तर्राष्ट्रिय रूपमा किनबेच हुने भएकाले खरिद गर्न त सजिलै होला तर बिक्री गर्नु परेमा क्रिप्टोकरेन्सीको कुनै ठेगान हुँदैन । कसलाई सोधपुछ गर्ने र उजुरी गर्ने भन्ने कुनै ग्यारेन्टी यसमा छैन । यसको जिम्मेवारी कसैले नलिने भएकाले यसको बिक्री गर्नुपर्दा अन्योल हुन्छ । यसैले क्रिप्टोकरेन्सी कारोबारमा पैसा हराउने तथा ठगीमा पर्ने सम्भावना प्रबल रहन्छ ।
नेपालमा क्रिप्टोकरेन्सी किन प्रतिबन्ध ?
फरक फरक देशमा क्रिप्टोकरेन्सीसम्बन्धी नियमनसमेत फरक फरक रहेको पाइन्छ । विभिन्न मुलुकले अवलम्बन गरेको मुद्रालगायत पुँजीको आप्रवाहसम्बन्धी नीतिगत व्यवस्था अनुरूपसमेत क्रिप्टोकरेन्सीको नियमन फरक फरक हुने गरेको छ । कानुनी रूपमा मान्यता दिइएका मुलुकमा पनि क्रिप्टोकरेन्सीलाई सबै क्षेत्र, वस्तु, सेवा वा स्थानमा कानुनी मान्यता नदिइएको र केही तोकिएका सेवा, वस्तु खरिद तथा प्रयोगका लागि तोकिएबमोजिम तोकिएको स्थानमा क्रिप्टोकरेन्सी प्रयोग गर्न इजाजत दिइएको हुनाले चलनचल्तीमा रहेको मुद्रा जस्तो सबै क्षेत्र, स्थान र सेवाको प्रयोगमा खुला देखिँदैन ।
नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी रहेको छ । किन त ? क्रिप्टोकरेन्सी कानुनी ग्राह्य नभएको, विदेशी विनिमय वा मुद्राका रूपमा क्रिप्टोकरेन्सीले कानुनी मान्यता नपाएको, नेपाल सरकारको जमानतप्राप्त नभएको र नेपाल राष्ट्र बैङ्कले निष्कासन नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको हुँदा Virtual Currency/Cryptocurrency को कारोबार गैरकानुनी रहेको छ ।
यसका साथै क्रिप्टोकरेन्सी पिरामिडमा आधारित Network Marketing प्रकृतिको, सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा लगानी हुन सक्ने, ठगी तथा कर छली, लगानीको असुरक्षा, पुँजी पलायन, मूल्यमा अस्थिरता एवं उतारचढाव, सट्टेबाजी आदिसम्बन्धी जोखिम अन्तरनिहित रहन्छन् ।
मुद्राका अतिरिक्त क्रिप्टोकरेन्सीलाई Intangible/Virtual/Digital सम्पत्तिका रूपमा समेत प्रयोग गर्ने गरिएको छ । क्रिप्टोकरेन्सीको मूल्यमा हुने उतारचढावले सोको प्रतिफल निर्धारण हुने गर्दछ । क्रिप्टोकरेन्सीको खरिद बिक्रीसम्बन्धी कार्यका लागि विनिमय बजारसमेत प्रचलनमा रहेको पाइन्छ ।
नेपालले अन्य मुलुकसँग हुने पुँजीगत कारोबारमा नियन्त्रित व्यवस्था गरेको र नेपालबाट विदेशमा लगानी गर्न प्रतिबन्ध रहेको हुँदा क्रिप्टोकरेन्सीको कारोबारबाट उक्त व्यवस्थाको बर्खिलाप हुन जाने हुँदा नेपाल राष्ट्र बैङ्कले क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउँदै आएको छ ।
क्रिप्टोकरेन्सी कारोबारबाट देशलाई मात्र नभई सोमा संलग्न व्यक्ति/लगानीकर्तालाई समेत विभिन्न जोखिम रहन्छ । क्रिप्टोकरेन्सीमा कुनै देश/सरकारको प्रत्याभूति/जमानत नहुने, कुनै पनि सुरक्षण नहुने, वित्तीय मध्यस्थकर्ता नहुने तथा सट्टेबाजी प्रयोजनबाहेक अन्य कुनै पनि उपयोगिता नहुने र उक्त अदृश्य वस्तु सर्वस्वीकार्य नभई केही निश्चित समूह मिली आफ्नै निहित स्वार्थका लागि मात्र जारी/प्रयोग हुने गर्दछ ।
यस प्रकार क्रिप्टोकरेन्सीबाट समग्र आर्थिक सन्तुलन कायम नहुने जोखिम, वित्तीय स्थायित्व नहुनेसम्बन्धी जोखिम, मौद्रिक नीति कार्यान्वयन नहुनेसम्बन्धी जोखिम, विदेशी विनिमय सञ्चितिमा नकारात्मक असर पुर्याउन सक्नेसम्बन्धी जोखिम, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कार्यमा वित्तीय लगानीसम्बन्धी जोखिम, वित्तीय ग्राहक संरक्षणसम्बन्धी जोखिम, लगानीको असुरक्षा हुनेसम्बन्धी जोखिम, ठगी तथा कर छलीसम्बन्धी जोखिम, अन्तर्राष्ट्रिय सङ्घ–संस्थासँगको सहकार्यविरुद्ध हुनेसम्बन्धी जोखिम, वित्तीय मध्यस्थता नहुनेसम्बन्धी जोखिम, Seigniorage Loss सम्बन्धी जोखिम विद्यमान रहेका छन् ।
अर्थ व्यवस्थामा चुनौती
नेपालमा पुँजी खाता अपरिवत्र्य रहेकाले यहाँको घरजग्गा बेचेको अथवा यहाँ कमाएको रकम मुलुकबाहिर लैजान कानुनबमोजिमका माध्यमबाहेक प्रतिबन्धित छ । सीमित पुँजी भएको मुलुकमा स्वदेशी पुँजी विदेश लैजान खुला गरिएमा देशको पुँजी बिदेसिन गई पुँजी पलायन हुने, लगानीका लागि पुँजीको अभाव हुने, पुँजी निर्माण हतोत्साहित हुने हुन्छ ।
यसैले नेपाल जस्तो स्वदेशी पुँजी विदेश लैजान बन्देज लगाइएको मुलुकमा क्रिप्टोकरेन्सीमार्फत पुँजी पलायन हुन सक्छ । यसै गरी क्रिप्टोकरेन्सी निजी क्षेत्रबाट सञ्चालित मुद्रा भएको र केन्द्रीय बैङ्कको नियन्त्रणबाहिर भएकाले यसको व्यापक प्रयोग भएमा अर्थतन्त्रमा मुद्रा प्रदायमा गणना हुन सक्तैन । जसले मौद्रिक नीतिको कार्यान्वयन प्रभावकारी हुन नसकी मूल्य नियन्त्रण कार्य प्रभावकारी हुँदैन । जसबाट मूल्य स्थायित्वमा असर पर्न गई समष्टिगत आर्थिक स्थायित्वमा नै नकारात्मक असर पर्दछ ।
Cyptocurrency को कारोबारबाट सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा लगानीसम्बन्धी जोखिम उच्च हुन सक्छ । क्रसबोर्डर पुँजी आगमन निर्बाध हुने भएकाले वित्तीय स्थायित्वमा Cryptocurrency ले नकारात्मक असर गर्ने निश्चित छ ।
नेपाल अहिले आयातमा आधारिक अर्थतन्त्र भएको मुलुक हुन पुगेको छ । हामीले आयातबापत धेरै विदेशी मुद्रा विदेशमा भुक्तानी गर्नु पर्दछ । क्रिप्टोको खरिदमा विदेशी मुद्रा लगानी हुने भएकाले नेपालबाट पुँजी पलायन हुन सक्ने र विदेशमा रहेका नेपालीबाट नेपाल आउनुपर्ने विप्रेषण विदेशमै लगानी हुन सक्ने हुँदा विदेशी मुद्राको सञ्चितिमा समेत नकारात्मक प्रभाव पर्न सक्ने देखिन्छ ।
–युवामञ्च