यदुप्रसाद भट्ट
मनाङ, चैत ११ गते । नार्पाभूमि गाउँपालिकाको तीन-चार वर्ष अगाडीदेखिको योजना अनुसार वडा नं. ४ फू गाउँमा रहेको क्याङछुमी नाकालाई व्यवस्थित गरी सशस्त्रको बोर्डर आउट पोस्ट ‘बिओपी’ स्थापना गरिने भएको छ ।
चीनको सिमानामा रहेको फू गाउँको क्याङछुमी नाका सुरक्षित बनाई संरक्षण गर्न तथा सदरमुकामबाट नियन्त्रण गर्न गाउँपालिकाले १५ रोपनी जग्गा दाखिला खारेज गरी लालपुर्जा नै बनाएर दिएको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष काञ्जोतेन्जिङ लामाले बताउनुभयो ।
आफ्नो घोषणापत्रमा उल्लेख गरिएको तथा गाउँपालिकाकै योजनाअनुरुप अन्तर्राष्ट्रिय नाका व्यवस्थापन गर्नका लागि ३÷४ वर्षअघिकै पहलस्वरुप सो कार्य अघि बढाइएको उहाँले जानकारी दिनुभयो । अस्थायी बिओपी सदरमुकाममा नभई अन्तिम गाउँमा राख्नुपर्ने भएकाले हिमाली क्षेत्रको २० रोपनी सार्वजनिक जग्गा ३० वर्षका लागि सशस्त्र प्रहरीलाई भाडामा उपलब्ध गराइएको अध्यक्ष लामाले बताउनुभयो । भौतिक पूर्वाधार तयार पारी सकेसम्म छिटो बिओपी स्थापना गरिने लामाले बताउनुभयो ।
समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेको फू गाउँमा बिओपी स्थापना गरिने जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले सीमामा सहजता र सुरक्षाका लागि बिओपी स्थापना गर्न लागिएको बताउनुभयो । सरकारी जग्गा आवश्यकताअनुसार सशस्त्र प्रहरीले उपयोग गर्ने गरी भाडामा जग्गा उपलब्ध गराइएको प्रजिअ आचार्यको भनाइ थियो ।
जग्गा भाडाको प्रमाणपत्र सशस्त्र प्रहरी बल नं. ३२ का गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक हीराबहादुर जिसीलाई हस्तान्तरण गरिसकिएको छ । फू क्षेत्र मनाङको विकट क्षेत्र भएको, हालसम्म सडक सञ्जाल समेत नपुगेकाले बिओपी स्थापनापछि सीमा सुरक्षा तथा निगरानीका साथै अन्तरदेशीय अपराध नियन्त्रण प्रभावकारी हुने अपेक्षा गरिएको प्रजिअ आचार्यले बताउनुभयो ।
बिओपीमा प्रहरी निरीक्षकसहित ३५ जना सशस्त्र प्रहरी खटाइनेछ । बिओपी स्थापनापछि शान्ति सुरक्षा, विपद् व्यवस्थापन तथा लेक लागेर बिरामी हुने पर्यटकको उद्धारमा थप प्रवाभाकारी हुने अपेक्षा गरिएको छ । नार्पाभूमि चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको पालिका हो भने फू गाउँ पुग्न सदरमुकाम चामेबाट दुई दिन लाग्दछ ।