धनगढी समाचारदाता
धनगढी, चैत ९ गते । पर्यावरणमैत्री संरचनाको अभावमा भँगेराको सङ्ख्या तीव्र रूपमा घटिरहेको बताइएको छ । घर वरिपरि सजिलै पाइने भँगेरा पछिल्लो समय घट्दै गएको चरा संरक्षणकर्मीले बताएका हुन् । विगतमा धेरै पाइने भँगेरा अचेल अन्य प्रजातिका चराको तुलनामा तीव्र रूपमा कम भइरहेको चराविद् हिरूलाल डङ्गौराले बताउनुभयो ।
सहरीकरणलगायतका कारणले संरचना पर्यावरणमैत्री नहुँदा भँगेराहरू घटिरहेको जनाइएको छ । यसै गरी ग्रामीण क्षेत्रमा मान्छेले विषादी हालेर पनि भँगेरालाई मार्ने गरेको बताइएको छ । विगतमा फुस र खरको छानो भएका काठका घर हुँदा घरमा भँगेराले सजिलै गुँड लगाउने र बस्ने गरेका थिए तर अचेल त्यस्तो संरचना छैनन् ।
आधुनिक भवनको निर्माण, बढ्दो सहरीकरण, रुखहरूको विनाश र आहाराको कमीलगायतका कारणले भँगेरा हाल एकदम कम मात्रामा देखिने गरेको डङ्गौराको भनाइ छ । उहाँले भँगेरा जोगाउनका लागि पर्यावरणमैत्री संरचना निर्माण गर्न आवश्यक रहेको औँल्याउनुभयो ।
नेपालमा घर भँगेरा, रुख भँगेरा, कैलो भँगेरा र पीतकण्ठे भँगेरा गरेर चार प्रजातिका भँगेरा पाइने गरेका छन् । मोटरसाइकल मर्मत गर्दै आउनुभएका वीरबहादुर चौधरीले मोटरसाइकलका पार्टपुर्जा राखेको बट्टा पसल वरिपरि झुन्ड्याइदिँदा त्यसमा भँगेराले गुँड बनाएर बचेरा निकाल्ने गरेको बताउनुभयो । यसै गरी धनगढी उपमहानगरपालिकाले भँगेरालगायत अन्य प्रजातिका चराले गुँड लगाउनका लागि धनगढीको सडक क्षेत्रमा चराका लागि कृत्रिम घर बनाइदिएको छ ।
यसैबिच बिहीबार कैलाली, कञ्चनपुरमा विश्व भँगेरा दिवस मनाइएको छ । आआफ्नो घर वरिपरि भँगेरा गणना गरेर, गुँड बनाउनका लागि घर र रुखमा बट्टा राखेरलगायतको कार्य गरेर दिवस मनाइएको हो । कञ्चनपुर पन्छी संरक्षण समूहले दिवसका अवसरमा विद्यालयमा भँगेरा संरक्षणसम्बन्धी जनचेतना फैलाउने कार्यसमेत गरेको थियो ।