• १६ चैत २०८१, शनिबार

भाषाको अस्तित्व रक्षामा चुनौती

blog

नेपाली भाषा नेपालको पहिचान, संस्कृति, र राष्ट्रिय एकताको प्रतीक हो । नेपाली भाषा नेपालको राष्ट्रिय भाषा हो, जुन सरकारी कामकाज, शिक्षण प्रणाली, सञ्चार माध्यम, तथा सामाजिक सञ्जालमा अनिवार्य प्रयोग गर्नु पर्छ । नेपाली भाषा सञ्चारको माध्यम मात्रै नभई नेपालको सांस्कृतिक सम्पदा, ऐतिहासिक दस्ताबेज, तथा साहित्यिक धरोहर पनि हो ।

पछिल्ला केही दशकमा नेपाली भाषाले विभिन्न चुनौती सामना गरिरहेको छ । अङ्ग्रेजी, हिन्दी, उर्दु, फारसी, तथा अन्य विदेशी भाषाको प्रभाव, प्रविधिमा नेपाली भाषाको न्यून प्रयोग, सरकारी प्रशासनमा अङ्ग्रेजीको वर्चस्व, निजी विद्यालय तथा विश्वविद्यालयमा अङ्ग्रेजीको प्राथमिकता, डिजिटल माध्यममा नेपाली भाषाको उपेक्षा, र प्रवासी नेपाली समुदायमा नेपाली भाषाको प्रयोगमा आएको गिरावट नेपाली भाषाका लागि गम्भीर चुनौतीका रूपमा देखिएका छन् । नेपालमा भाषा केवल सञ्चारको माध्यम मात्र नभई राष्ट्र निर्माणको आधार पनि हो । नेपालको विभिन्न कालखण्डमा नेपाली भाषा विभिन्न राजनीतिक, सामाजिक, तथा सांस्कृतिक परिवर्तनका कारण प्रभावित हुँदै आएको छ । नेपाली भाषाको इतिहास, वर्तमान अवस्था, विदेशी भाषाको प्रभाव, प्रमुख चुनौती, तथा दीर्घकालीन समाधानका उपायलाई गहिरो रूपमा विचार गर्नु आवश्यक छ ।

नेपालको भाषिक इतिहास समृद्ध छ । नेपाली भाषा संस्कृत, प्राकृत, अपभ्रंश, तथा तिब्बती–बर्मेली भाषा परिवारबाट प्रभावित हुँदै आएको छ । यसको विकास विभिन्न ऐतिहासिक कालखण्डमा विभाजन गर्न सकिन्छ । प्रारम्भिक इतिहासमा किराँतकाललाई भाषिक विकासको युग मानिन्छ । यस कालमा नेपालमा बोलिने भाषा तिब्बती–बर्मेली भाषा परिवारसँग सम्बन्धित थियो । त्यसपछि लिच्छविकालमा संस्कृत भाषाको अत्यधिक प्रभाव रह्यो । यस समयमा सरकारी दस्ताबेज, अभिलेखहरू, तथा शिलालेखहरू संस्कृतमै लेखिन्थे । मल्लकाल नेपाली भाषाको विकासको महत्वपूर्ण कालखण्ड हो । यस समयमा नेपाली, संस्कृत, तथा नेपाल भाषाको साहित्य फस्टायो । गुणकमल भिक्षु, जगज्योति मल्ल, तथा अन्य विद्वान्हरूले नेपाली भाषाको विकासमा महत्वपूर्ण योगदान दिए ।

पृथ्वीनारायण शाहद्वारा नेपाल एकीकरण भएपछि नेपाली भाषा राष्ट्रिय भाषाका रूपमा फैलन थाल्यो । उनले गोरखाली भाषालाई प्रशासनिक तथा सैनिक भाषा बनाए, जसका कारण यो नेपालभर मुख्य भाषा बन्न पुग्यो । शाहवंशीय शासनकालमा सरकारी पत्राचार, आदेश, तथा कानुनी निर्णय नेपाली भाषामै लेखिन्थे । राणाकालमा संस्कृत भाषा उच्च वर्गको भाषा बनाइयो, जबकि आम नेपाली जनताले पढ्न–लेख्न पाउने अवसर सीमित थियो । यस कालखण्डमा नेपाली भाषा शिक्षामा प्रयोग गरिएन । भानुभक्त आचार्यद्वारा लेखिएको ‘रामायण’ नेपाली भाषाको विकासमा महत्वपूर्ण योगदान बन्यो ।

१९५१ मा प्रजातन्त्र आएपछि नेपाली भाषाको प्रयोग शिक्षा प्रणाली, सञ्चार माध्यम तथा सरकारी प्रशासनमा तीव्र रूपमा बढ्यो । १९५६ मा सरकारले शिक्षा नीति लागु गरेपछि विद्यालयमा नेपाली भाषामा पठनपाठन अनिवार्य गरियो । संविधान १९५९, १९६२, १९९०, तथा २०७२ ले नेपाली भाषालाई राष्ट्रिय भाषा भनेर स्वीकार गरेको छ । नेपाल एक बहुभाषिक समाज भएको देश हो । यहाँ १२३ भन्दा बढी मातृभाषा छन् । यद्यपि पछिल्ला दशकमा नेपाली भाषामा हिन्दी, अङ्ग्रेजी, उर्दु, फारसी, तथा अन्य विदेशी भाषाको प्रभाव तीव्र रूपमा बढ्दै गएको छ ।

नेपालका २२ भन्दा बढी जिल्ला भारतसँग प्रत्यक्ष सीमाना जोडिएका छन्, जसले गर्दा हिन्दी भाषाको सांस्कृतिक, व्यापारिक, तथा सञ्चार माध्यममा प्रभाव बढिरहेको छ । भारतका टेलिभिजन च्यानल, चलचित्र, सङ्गीत, तथा समाचार माध्यम नेपालमा अत्यधिक रुचाइन्छन्, जसले गर्दा नेपाली भाषामा हिन्दी शब्दहरूको मिश्रण बढ्दै गएको छ । अङ्ग्रेजी भाषा नेपालमा शिक्षा, सरकारी प्रशासन, प्रविधि, व्यापार, तथा समाजमा अत्यधिक प्रभावशाली बनेको छ । नेपालका ७५ प्रतिशतभन्दा बढी निजी विद्यालयले अङ्ग्रेजीलाई प्रमुख शिक्षाको माध्यम बनाएका छन् । अङ्ग्रेजी भाषाको वर्चस्वका कारण नेपाली भाषामा लेखन, अनुसन्धान, तथा औपचारिक प्रयोगमा गिरावट आएको छ ।

नेपालका विश्वविद्यालयमा उच्च शिक्षा अधिकतम रूपमा अङ्ग्रेजी भाषामै पढाइन्छ । प्रतिष्ठित विद्यालय तथा कलेजहरूले परीक्षा तथा शोधपत्र अङ्ग्रेजीमा मात्र लेख्न निर्देशन दिने गरेका छन् । नेपालमा गजल, शायरी, कवितामा उर्दु तथा फारसी भाषाका शब्दहरूको अत्यधिक प्रयोग छ । नेपाली साहित्यमा फारसी तथा उर्दु शब्दको मिसावट बढ्दै गएको छ । नेपालको सरकारी कार्यालयहरूमा नेपाली भाषाको प्रयोग उच्चतम रहन सकेको छैन । सरकारी कतिपय कागजात, कानुनी पत्राचार तथा नीतिगत निर्णय अङ्ग्रेजीमै तयार गरिन्छ, जसले गर्दा सर्वसाधारण नेपाली नागरिक सरकारी प्रक्रियामा सहज पहुँच प्राप्त गर्न सक्दैनन् ।

नेपाल प्रहरी तथा सेनाका कतिपय आधिकारिक रिपोर्ट, गाडीका शब्द, गाडीका एम्बोस्ड नम्बरहरू अङ्ग्रेजी भाषामा मात्र तयार पारिन्छन्, जसले गर्दा सर्वसाधारण नेपाली नागरिकलाई कानुनी प्रक्रिया बुझ्न कठिनाइ हुन्छ । नेपालको शिक्षण प्रणालीमा अङ्ग्रेजी भाषा प्राथमिक बनाइएको छ, जसका कारण नेपाली भाषा पछि परिरहेको छ । उच्च शिक्षाका अधिकांश पाठ्यक्रम अङ्ग्रेजी भाषामा मात्र उपलब्ध छन्, जसका कारण नेपाली भाषामा अध्ययन गर्ने विद्यार्थीका लागि ज्ञान हासिल गर्न कठिनाइ भइरहेको छ । नेपालका विज्ञान, प्रविधि, चिकित्सा, व्यवस्थापन, तथा इन्जिनियरिङसम्बन्धी पुस्तक नेपाली भाषामा उपलब्ध छैनन् ।

डिजिटल प्रविधिमा नेपाली भाषाको प्रयोग सीमित छ । नेपालका ८० प्रतिशतभन्दा बढी सरकारी तथा निजी वेबसाइट अङ्ग्रेजी भाषामा मात्र सञ्चालन हुन्छन् । सरकारी तथा निजी बैङ्किङ प्रणाली, बिमा कम्पनी, अनलाइन सेवा तथा मोबाइल एप्लिकेसनमा पनि नेपाली भाषाको प्रयोग नगन्य मात्रामा पाइन्छ । नेपाली भाषाको प्रवर्धनका लागि सरकारी तथा निजी क्षेत्रले ठोस नीति ल्याउन आवश्यक छ ।

नेपाली भाषाको प्रवर्धनका लागि नेपालबाहिर रहेका नेपाली समुदायले महत्वपूर्ण भूमिका खेल्न सक्छन् । अन्तर्राष्ट्रिय नेपाली समाज, गैरआवासीय नेपाली सङ्घ र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जस्ता संस्थाले नेपाली भाषा संरक्षण र विकासका लागि विभिन्न अभियान सञ्चालन गरिरहेका छन् । प्रवासी नेपालीका लागि भाषा सिकाउने कार्यक्रम सञ्चालन गर्दै आएका यी संस्थाले नेपाली भाषा प्रवर्धनलाई प्राथमिकतामा राख्नु पर्छ ।

अन्तर्राष्ट्रिय नेपाली समाजले गोष्ठी, प्रतियोगिता, तथा साहित्यिक कार्यक्रम सञ्चालन गर्दै नेपाली भाषा तथा साहित्यलाई प्रवर्धन गरिरहेको छ । प्रवासी नेपालीलाई नेपाली भाषा सिकाउने अनलाइन कक्षा तथा साहित्यिक गोष्ठीमा पनि यसको भूमिका महìवपूर्ण छ । गैरआवासीय नेपाली सङ्घले प्रवासी नेपाली समुदायलाई एकीकृत गर्दै भाषा तथा संस्कृतिको प्रवर्धन गर्न विभिन्न देशमा नेपाली भाषा पाठ्यक्रम सञ्चालन गर्दै आएको छ । 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली भाषा र साहित्य प्रवर्धन गर्न साहित्यिक कार्यक्रम, पुस्तक प्रकाशन तथा डिजिटल अनुवाद कार्य सञ्चालन गर्दै आएको छ । प्रवासी नेपाली समुदायमा भाषा सिकाउने कक्षा सञ्चालन गर्न आवश्यक नीति निर्माण गरिनु पर्छ । यी संस्थाहरूले दीर्घकालीन योजना निर्माण गर्न सकेनन् भने, नेपाली भाषा प्रवासी नेपालीमाझ लोप हुने खतरा छ । तसर्थ, सरकारले प्रवासी नेपाली समुदायलाई नेपाली भाषा सिकाउन प्रेरित गर्ने नीति निर्माण गर्नु पर्छ ।

नेपालमा शिक्षा प्रणालीमा सुधार गर्दै नेपाली भाषालाई अनिवार्य रूपमा लागु गर्नु आवश्यक छ । हाल नेपालमा अधिकांश निजी विद्यालयले अङ्ग्रेजी माध्यमलाई प्राथमिकता दिएका कारण विद्यार्थी नेपाली भाषाको लेखन, वाचन, तथा सम्प्रेषण क्षमतामा कमजोर बन्दै गएका छन् । उच्च शिक्षाका पाठ्यक्रमलाई नेपाली भाषामा अनुवाद गरिनु पर्छ । विज्ञान, प्रविधि, चिकित्सा, व्यवस्थापनलगायतका विषयमा नेपाली भाषाको पहुँच विस्तार गर्न आवश्यक छ ।

सरकारी प्रशासनमा नेपाली भाषाको प्रयोग सीमित छ । सरकारी कार्यालयमा प्रशासनिक कागजात नेपाली भाषामा उपलब्ध गराइनु आवश्यक छ । कानुनी प्रक्रिया नेपाली भाषामा सञ्चालन गर्न आवश्यक छ ताकि सर्वसाधारण नागरिकलाई कानुनी प्रक्रिया बुझ्न सहज होस् । सरकारी वेबसाइटलाई नेपाली भाषामा सञ्चालन गर्न नीति निर्माण गर्नु पर्छ ताकि नागरिकले सरकारी सूचना सजिलै प्राप्त गर्न सकून् ।

डिजिटल प्रविधिमा नेपाली भाषाको प्रभाव विस्तार गर्न आवश्यक छ । नेपाल सरकारले प्रविधि कम्पनीहरूसँग सहकार्य गरी डिजिटल प्लेटफर्महरूमा नेपाली भाषा समावेश गर्ने नीति ल्याउनु पर्छ । स्मार्टफोन, कम्प्युटर सफ्टवेयर, तथा एप्लिकेसन नेपाली भाषामा निर्माण गरिनु पर्छ । नेपाली भाषाका डिजिटल प्लेटफर्मलाई प्रवर्धन गर्न सरकारी सहयोग आवश्यक छ ।

व्यापार तथा विज्ञापन क्षेत्रमा नेपाली भाषाको प्रयोग बढाउनुपर्ने आवश्यकता छ । बैङ्क तथा वित्तीय संस्थाले आफ्नो सेवा नेपाली भाषामा उपलब्ध गराउनु पर्छ । नेपालका व्यापारिक संस्थाले नेपाली भाषामा प्रचार सामग्री तयार गर्नु पर्छ, जसले गर्दा नेपाली भाषाको औपचारिक प्रयोग बढ्न सकोस् ।

नेपाली भाषाको संरक्षण तथा प्रवर्धन गर्न शिक्षा, प्रशासन, प्रविधि, सञ्चार, तथा प्रवासी नेपाली समुदायमा विशेष ध्यान दिनु पर्छ । नेपाल सरकार, निजी क्षेत्र तथा नागरिक समाजले संयुक्त रूपमा नेपाली भाषालाई मजबुत बनाउने नीति अवलम्बन गर्नु पर्छ । 

नेपाली भाषाको प्रयोग सरकारी कागजात, शिक्षा प्रणाली, डिजिटल प्लेटफर्म, तथा व्यापारिक क्षेत्रमा बढाइएन भने, भविष्यमा नेपाली भाषा कमजोर बन्ने खतरा रहन्छ । तसर्थ, नेपाली भाषालाई प्राथमिकतामा राख्दै यसको प्रवर्धन गर्न ठोस रणनीति निर्माण गर्न ढिलाइ गर्नु हुँदैन । भाषा सांस्कृतिक धरोहर, तथा सामाजिक एकताको आधार हो । यसको संरक्षण, प्रवर्धन, तथा विकास गर्न नेपाल सरकार, शिक्षण संस्थाहरू, प्रवासी नेपाली समुदाय, तथा आमनागरिकले संयुक्त रूपमा पहल गर्नु पर्छ । 

हामीले समयमै उचित कदम नचाल्ने हो भने, नेपाली भाषा वैदेशिक भाषाहरूको अतिक्रमणबाट कमजोर बन्न सक्छ । शिक्षा प्रणालीमा नेपाली भाषालाई मजबुत बनाउन, सरकारी प्रशासनमा यसको प्रभावकारिता बढाउन तथा प्रविधि तथा व्यवसायमा यसको उपयोगिता उच्च बनाउन ठोस नीति आवश्यक छ । 

नेपाल सरकार, गैरसरकारी संस्था तथा प्रवासी नेपाली समुदायले नेपाली भाषा प्रवर्धन गर्न ठोस रणनीति अवलम्बन गर्नु पर्छ । नेपाली भाषालाई शिक्षा, प्रशासन, प्रविधि तथा व्यापारमा समान अवसर प्रदान गरिएन भने, भविष्यमा नेपाली भाषा कमजोर बन्ने खतरा छ । 

नेपालको नीति, तथा प्रशासनिक प्रक्रियामा नेपाली भाषालाई पहिलो प्राथमिकता दिन आवश्यक छ । डिजिटल प्लेटफर्म, गाडीका एम्बोस्ड नम्बरहरू, प्रविधि, तथा अन्तर्राष्ट्रिय तहमा नेपाली भाषाको विस्तार गर्न नेपाल सरकार, प्रवासी नेपाली समुदाय तथा नागरिक समाजले सक्रिय भूमिका खेल्नु पर्छ ।