अविनाश चौधरी
धनगढी, चैत ७ गते। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीनै तहका सरकारले एक अर्काको अस्तित्व स्वीकार्न आवश्यक रहेको बताउनुभएको छ।
राष्ट्रिय योजना आयोगले धनगढीमा आयोजना गरेको १६ औँ योजनाको कार्यान्वयन तथा विशेष अनुदान र बहुक्षेत्रीय पोषण योजना सम्बन्धी दुई दिने अन्तरक्रिया कार्यक्रमको आज उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो। स्थानीय, प्रदेश र संघ सरकारले सहकारिता, सहभागिता र सह–अस्तित्व कायम गरेर अगाडि बढ्नु पर्ने मुख्यमन्त्रीको जोड थियो।
उहाँले सुदूरपश्चिममा जलविद्युतको सम्भावना रहेकाले यस्ता आयोजना अगाडि बढाउन संघ सरकारलाई आग्रह गर्नुभयो। जलविद्युत आयोजना अगाडि बढाइएमा प्रदेश सरकारले लगानीको वातावरण बनाउने मुख्यमन्त्री शाहको भनाइ थियो।
उहाँले बजेट विनियोजन र कार्यान्वयनलाई सरकारले प्रभावकारी बनाउने उल्लेख गर्नुभयो। कार्यक्रममा प्रदेशका ८८ वटै स्थानीय तहबाट सहभागिता रहेको छ।