शशिधर पराजुली
विराटनगर, चैत ७ गते । विराटनगरमा तीन दिने ढाका महोत्सव सुरु भएको छ । कोशी प्रदेशका १४ वटै जिल्लामा ढाकाका कपडा तथा विभिन्न सामग्री उत्पादन गरिरहेका उत्पादकहरुलाई विराटनगरको जैन भवन परिसरमा जुटाएर महोत्सव मार्फत उत्पादन प्रवद्र्धनको प्रयास गरिएको हो ।
महोत्सवमा ढाका कपडा, ढाकाबाट बुनेको झोला, सल, साडी, कोट, टाई, टोपी आदि अनेकौं वस्तुहरु प्रदर्शनका लागि राखिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश महिला उद्यमी विकास समितिको संयोजना आयोजना भएको महोत्सव चैत ९ गतेसम्म सञ्चालन हुने छ । महोत्सवमा उपभोक्ताहरुको उल्लेख्य सहभागिता रहने आयोजकको विश्वास छ।
महोत्सवको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशका निजामती र शिक्षक कर्मचारीहरुको पोशाकको रुपमा ढाकाको कपडा प्रयोग गर्ने नीति प्रदेश सरकारले बनाउने घोषणा गर्नुभयो । तर कोशी प्रदेशमा हिमाल, पहाड र तराई तीनै क्षेत्रमा प्रयोग हुन सक्ने पोशाक उत्पादन गर्न सकिने नसकिने भन्ने अध्ययन हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, "हिमालदेखि तराईसम्मका कर्मचारीलाई उपयोगी हुने कपडा उत्पादन भए सरकारले आउँदो नीति कार्यक्रममा समावेश गरेर बजेट प्रबन्ध गर्नेछ । शिक्षक, शिक्षिका र कर्मचारीहरुको पोशाकमा पनि यो नीति लागू गर्न सकियो भने बरु प्रदेश सरकारले पनि केही लगानी गरिदिनेछ । यो कार्यक्रम सफल भएमा आन्तरिक उत्पादन, रोजगारी र आत्मनिर्भर अर्थतन्त्र विकासमा योगदान पुग्ने छ ।"
मुख्यमन्त्री कार्कीले नेपालीहरुमा उत्पादन नहुँदा भएन भन्ने, उत्पादन गर्दा गुणस्तरीय भएन भन्ने र गुणस्तरीय उत्पादन गर्दा महंगो भयो भन्ने तर विदेशी उत्पादनलाई ब्राण्डेड भन्दै बढी खर्च गर्ने दोहोरो चरित्र देखिएको पनि बताउनुभयो । उहाँले महिला उद्यमीहरुले ढाका उत्पादनमा गरिरहेको योगदानको प्रसंशा गर्नुहुँदै सरकार सधैं साथमा रहेको विश्वास व्यक्त गर्नुभयो ।
साथै उहाँले घरेलु उत्पादनको रुपमा रहेको ढाका उत्पादन प्रवद्र्धन गर्न प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी, सामाजिक विकास र पर्यटन तथा वन वातावरण मन्त्रालयका बिचमा सहकार्य र समन्वय गर्न आग्रह पनि गर्नुभयो । उहाँले स्थानीय उत्पादन प्रवद्र्धन र बजारीकरणका लागि आवश्यक पर्ने कानुनको बारेमा सुझाव दिन पनि सरोकारवालाहरुलाई आग्रह गर्नुभयो । "कस्तो कानुन बनाउँदा स्थानीय उत्पादनलाई राष्ट्रिय बजारमा प्रवर्धन गर्न सकिन्छ र कस्तो नीति बनाउँदा निर्यात गर्न सकिन्छ भन्ने सुझाव दिनुहोला त्यस अनुसार सरकारले नीति बनाउन भूमिका खेल्छ," मुख्यमन्त्री कार्कीले बताउनुभयो ।
सोही कार्यक्रममा बोल्नुहुँदै सामाजिक विकास मन्त्रालयका सचिव हेमराज तामाङले सरकारले पोशाकका लागि नियमित खर्च दिने गरेकोले स्वदेशी उत्पादन खरिद गरी ढाकालाई कार्यालय पोशाकको रुपमा सरकारले निर्णय लिन सक्ने बताउनुभएको थियो । यसले ढाका उत्पादनलाई औद्योगिक विकास गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले कोशी प्रदेशमा ढाकाको उत्पादन अवस्था राम्रो रहेको र उत्पादन विस्तार गर्न सकिने आधार र जनशक्ति भएकोले यसलाई बजारीकरण गरी निर्यातसमेत गर्न सकिने बताउनुभयो । त्यसका लागि महासंघले सरकारको साथ र सहयोग खोजेको उहाँको भनाइ थियो ।
कार्यक्रममा महिला उद्यमी विकास समितिकी संयोजक सरु केसी लगायतले महोत्सव सफलताको शुभकामना दिनुभयो ।