प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पक्षमा अर्थात् उहाँका मान्यतामा आधारित भएर स्थापित भाष्य हो, ‘समृद्ध नेपाल, सुखी नेपाली’ । समग्र राजनीतिक कार्यभार सम्पन्न गर्ने सन्दर्भमा ‘ओलीसूत्र’ को मियो हो, ‘सुदृढ एमाले’ । देशको प्रधानमन्त्रीले समृद्ध मुलुक निर्माण गर्ने र जनता सुखी चाहना राख्ने कुरा स्वाभाविक हुन्छ तर प्रधानमन्त्री ओलीले यो मान्यतालाई सूत्रबद्ध गर्दै त्यसको सार्थकताका लागि खेलिरहनुभएको भूमिका अन्य प्रधानमन्त्रीको तुलनामा सराहनीय छ । अहिले चर्चा गरिन लागेको विषय हो, सुदृढ एमालेको ।
नेकपा (एमाले) मुलुकका श्रमजीवी, न्यायप्रेमी तथा आमूल रूपान्तरणकारी जनसमुदायको आशा र भरोसामा निर्मित राजनीतिक दल हो । यो राजनीतिक दल जति सुदृढ, एकताबद्ध र सशक्त ढङ्गले अगाडि बढ्छ, मुलुकको समृद्धि, सुशासन र जनताको जीवनस्तरमा उति नै प्रभाव पार्छ । तसर्थ, प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीभन्दा पहिला नेकपा (एमाले)को अध्यक्षका रूपमा चिन्ने हो भने उहाँको पहिलो कार्यभारका रूपमा ‘सुदृढ एमाले’ पर्छ । त्यसका निम्ति उहाँले पार्टी नेतृत्वमा रहेर त्यसका विभिन्न अङ्गको परिचालन, व्यवस्थापन र संयोजनका जे जस्ता विधि अवलम्बन गर्नुभएको छ, त्यो माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादमा आधारित छ । त्यसो हुनु भनेको वर्गीय पक्षधरताको रक्षा गर्दै एउटा सुदृढ कम्युनिस्ट अभियानलाई घनीभूत बनाउनु हो तर राजनीतिकवृत्तमा ‘हात्तीउपर कुकुर भुकाइ’ देखिन्छ । ओली हात्ती झैँ लम्किरहने, विरोधी कुकुर झैँ भुकिरहने प्रवृत्ति व्याप्त छ ।
ओली र एकता
अध्यक्ष ओलीलाई एकताविरोधी भन्ने भ्रम फिँजाइएको छ । पङ्क्तिकार स्वयम् केही समय विभाजित धारमा जाँदा दक्षिणपन्थी अवसरवादको पिछलग्गु भएर पार्टीमा फर्किएको र फर्किएपछि न्यायोचित भूमिकाका साथ अगाडि बढिरहनुभएका व्यक्ति हुनुका नाताले ओलीलाई एकताविरोधी भनेर फिँजाइएको भ्रम वास्तविकभन्दा आकाश र पाताल झैँ फरक विषय भन्ने अनुभूति छ तर ओली एकताका सर्त फरक छन् । सुदृढ पार्टी निर्माण गर्ने सन्दर्भसँग आधारित भएर उहाँले अगाडि सार्नुभएको एकताको सूत्र सान्दर्भिक र प्रभावकारी छ । एकताभन्दा पहिलो सर्त हुन्छ, सुदृढ एमाले । एमालेलाई सुदृढ बनाउनका निम्ति विगतमा विभिन्न कारणले पार्टी छोडेको, भूमिकाविहीन भएका वा निष्क्रिय रहेका व्यक्तिलाई पुनः पार्टी र त्यसका अभियानसँग जोड्ने विषय प्रमुख रूपमा अगाडि आउँछ ।
एउटा पार्टी सुदृढ र सशक्त हुनुका निम्ति कस्तो खाले एकता चाहिन्छ ? यस सन्दर्भमा ओलीले दिनुभएको अभिव्यक्ति मननीय छन् । जस्तो कि, राजनीतिक घटनाक्रमलाई बुझ्ने सन्दर्भमा गलत बुझाइ बोकेर हिजो नेकपा (एमाले) विभाजित गर्ने एउटा पङ्क्ति अहिले पनि अलग नाममा दल सञ्चालन गरिरहेको छ । जो उक्त दलमा लागे, तीमध्ये अधिकांशले त्यो बाटो गलत हो भनेर एमालेमा फर्किरहेका छन् । अध्यक्ष ओलीले फर्किने नाममा जो पनि, जस्ता पनि मान्छेलाई फर्किने ठाउँ छैन भन्नुभएको छ । त्यस्ता मान्छे फर्किनु पर्छ, जो एमाले निर्माणका निम्ति, यसको सशक्तीकरण र सुदृढीकरणका निम्ति भूमिका खेल्न सक्छन् ।
एमालेले विगतमा कतिपय ‘बुख्याँचा’ लाई पार्टीभित्र पालिरह्यो । तिनले आन्दोलनमा कुनै योगदान दिएनन्, इतिहास बेचेर भावुकताको गीत मात्रै गाइरहे । आफ्नो स्वार्थ रक्षाका निम्ति प्रधान अन्तरविरोधी शक्तिसँग साँठगाँठ गरिरहे । कम्युनिस्ट पङ्क्तिमा त्यसलाई ‘वर्ग समन्वयवादी’ भन्ने गरिन्छ । विरोधी कित्तालाई मलजल गरेर कम्युनिस्ट आन्दोनलाई क्षति पु¥याउने गतिविधिलाई ‘दक्षिणपन्थी’ भनिन्छ । उनीहरू यथास्थितिका पक्षपोषक हुन्छन् र अग्रगामी कम्युनिस्ट अभियानका विपक्षमा उभिन्छन् । माधवकुमार नेपाल, झलनाथ खनालहरूले त्यो कित्ताको प्रतिनिधित्व गरिरहनुभएको छ । त्यसको पिछलग्गु बन्न गएकाहरू पालैपालो एमालेमा फर्किरहेका छन् । हिजो एमाले हुँदा उनीहरू जुन भूमिका र जिम्मेवारीमा थिए, त्योभन्दा एक तहमाथि वा त्यही भूमिकामा रहेर पार्टीको सृदृढीकरणमा योगदान पु¥याउँछु भन्नेहरूलाई पार्टीले काम र भूमिका दिइरहेको छ । त्यसको एउटा भुक्तभोगी स्वयम् पङ्क्तिकार पनि हो तर पार्टीमा फर्किने क्रममा हिजो एमालेले काम नलागेर रछ्यानमा फ्याँकेका पात्रहरू बोकेर आउने कुरा एमालेका निम्ति स्वीकार्य छैन ।
इतिहास बेचेर जहिल्यै भावुकताको गीत गाउने तर पार्टी आन्दोलनका परिवर्तित चुनौतीलाई चिरेर अगाडि बढ्न नसक्ने मान्छे अहिले एमालेलाई चाहिएको छैन । एमालेलाई सुदृढ पार्टी, समृद्ध मुलुक र सुखी जनताका पक्षमा काम गर्ने कामकाजी मानिस चाहिएको छ । जो पार्टी र आन्दोलनबाट विभिन्न कारणले टाढा पुगे, समयक्रममा तिनले आफ्नै पार्टी चाहिँदो रहेछ भन्ने कुरा महसुस गरे–एमाले त्यस्ता कर्मठा नेता–कार्यकर्तालाई स्वागत गर्न हरदम तयार छ । यसो भनेर सधैँ कुण्ठाको गीत गाइरहने, विरहको बासुरी बजाइरहने, मरिच जत्रो चित्त भएका नेता जतिसुकै इतिहास र आदर्शवान् किन नहुन्, एमालेलाई चाहिएको छैन ।
मोलमाइ चल्दैन
बाटो बिराएर फर्किनेसँग गल्ती महसुस गर्ने सुविधा उपलब्ध छ । हिजोको गल्ती वा कमजोरीका कारण प्रतिशोधी व्यवहार नहुने कुराको सुनिश्चितता एमालेभित्र गरिएको छ । त्यसको एक भुक्तभोगी स्वयम् पङ्क्तिकार पनि हो तर पार्टी छोडेर जाँदाको हैसियत बिर्सिएर विभाजित दलका पद र हैसियत देखाउँदै एमालेमा पद माग्न पाइँदैन । एकताका निम्ति एमालेको अर्को महत्वपूर्ण सर्त वा सूत्र यो पनि हो । हिजो एमालेमा कोही १९ नम्बरमा थियो भने आज २० नम्बर माग्न पाइयो । हिजो १७ नम्बरमा हुनेले आज २० नम्बर मागेर पाइँदैन । त्यसरी दिनु पनि हुँदैन । किनभने एमाले अभियान गुच्चा खेलेर वा जुवाको खालबाट चलाइएको ख्यालख्यालको अभियान होइन । यो आन्दोलन र अभियान यहाँसम्म आइपुग्दा थुप्रै मानिस भौतिक रूपले बलिदान भएका छन् । थुप्रैले जिन्दगीका सुख र सपनाहरू यो आन्दोलनका नाममा विसर्जन गरेका छन् । त्यसो गर्दा थुप्रैले दुःख पाएका छन् तर सुखी मन बनाएर पार्टीलाई सुदृढ र सशक्त बनाउन दिनरात नभनी डटेका छन् । त्यसैले विभिन्न कारणले पार्टीबाट टाढा भएर फर्किनेले हिजोको हैसियतसँग मिल्दोजुल्दोबाहेकको हैसियत खोज्नु हुँदैन, खोज्नेलाई दिनु पनि हुँदैन ।
अलमलिनु क्षति हो
विभिन्न कारणले पार्टीबाट विभाजित, निष्क्रिय वा भूमिका बाहिर भएका तर पार्टी र आन्दोलनका निम्ति आवश्यक व्यक्तिले लामो समय अलमलिनु हुँदैन । त्यसले पार्टीलाई त क्षति पु¥याएको हुन्छ नै, स्वयम् व्यक्तिका राजनीतिक भविष्य र सम्भावनामाथि ठुलो क्षति पु¥याइरहेको हुन्छ । एउटा योग्यतम कम्युनिस्ट कार्यकर्ता उत्पादन गर्ने कुरा फौजीका सिपाही उत्पादन गरेभन्दा ठुलो सकसपूर्ण अभ्यासबाट मात्रै सम्भव हुन्छ । त्यसरी उत्पादित कम्युनिस्ट कार्यकर्ता प्रकारान्तरमा कुनै कारणले विभाजित, निष्क्रिय वा भूमिका विहीन छन् भने उनीहरूलाई समयमै पार्टी कामसँग जोड्नु पार्टीको दायित्व हो तर त्यो दायित्वबोध पहिला सम्बन्धित पार्टी नेता वा कार्यकर्ताले गर्नु पर्छ ।
माधवकुमार नेपालहरूले चलाएको पार्टी बनाउनका लागि होइन, हिजो एमाले भएर पाउन नसकेका कुरा पाइहालिन्छ कि भनेर खोलिएको च्याँखे दाउ मात्रै हो । राजनीतिमा च्याँखे थापेर पाइने चिजको भविष्य हुँदैन । एक पटक च्याँखे थापेर पाइएको चिजलाई अर्को पटक अर्कैले च्याँखे थापेर लैजान्छ । त्यसैले दिगो राजनीतिक क्रियाशीलता र फलदायी राजनीतिक यात्राका निम्ति बाटो बिराउनेहरू एमालेमा फर्किनु पर्छ । नेताको मुख ताकेर होइन, आफ्नै इतिहास र हैसियतलाई साक्षी राखेर घर फर्किनु पर्छ । सुदृढ र सशक्त एमाले निर्माणका निम्ति यही नै ‘ओलीसूत्र’ हो ।