विसं २०६२/६३ को जनआन्दोलन उत्कर्षमा पुग्दै गर्दा सिंहदरबारको दक्षिण ढोकाअगाडि शाही सत्ताले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको टाउको फुटाइदियो । टाउकोबाट लगातार रगत बगिरहँदा घोसेमुन्टो लगाउँदै उनले भनेका थिए, “प्रजातन्त्रका लागि यो मेरो अन्तिम लडाइँ हो । अब मैले जस्तो जीवनभर भाबी पुस्ताले प्रजातन्त्रका लागि लडिरहन नपरोस् । फेरि कसैले पनि खोस्न नसक्ने पूर्ण प्रजातन्त्र स्थापना भयो भने मलाई पुग्छ । यो बुढो गिरिजाप्रसाद प्रजातन्त्रका लागि जीवन बलिदान गर्न तयार छ । प्रजातन्त्र पुनस्र्थापनाले मात्र अगाडिको गन्तव्य तय गर्ने छ ।”
प्रतिनिधि सभा पुनस्र्थापना एक्लो कोइरालाको माग थियो । पूरा नहुने माग राखेको भन्दै पार्टीभित्र र बाहिरबाट उनी निकै आलोचित थिए । आलोचनाको पर्वाह नगरी निरन्तर अघि बढिरहे । आखिर उनले जे चाहेका थिए त्यो पूरा गर्न दरबार बाध्य भयो । कोइरालाको टाउकोबाट बगेको रगतको मूल्य दरबारका लागि निकै महँगो प¥यो । कुनैबेला कांग्रेस सिध्याउन दरबारबाट प्रयोग भएका कम्युनिस्टलाई समेत दरबारको विरोधमा आफ्नो पछाडि हिँडाउन कोइराला सफल भए । प्रतिनिधि सभा पुनस्र्थापनाको माग १० बर्से सशस्त्र सङ्घर्ष समाप्त पार्ने ब्रह्मास्त्र मात्र बनेन दुई सय ४० वर्षे राजतन्त्र समाप्त पारेर मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश ग¥यो । हो, एक्लो व्यक्तिको प्रयासले मुलुकमा यति ठुलो परिवर्तन सम्भव भयो । आज परिवर्तनका पक्षधर यति धेरै हुँदा पनि किन इतिहासले किनारा लगाएको शक्ति पुनरागमनको प्रयास गर्दै छ ? आत्मसमीक्षा गर्ने साहस देखाउने बेला भएन र ?
मुलुक १२ बुँदे सम्झौताको जगमा अडिएको छ । कोइराला १२ बुँदेका पिता नै मानिन्छन् । तत्कालीन दरबारिया शक्ति आज पनि विदेशी भूमिमा भएको सम्झौताले नेपालको भलो नहुने भन्दै निरन्तर बाह्रबुँदेको विरोध गरिरहेको छ । बाह्रबुँदे सम्झौता माओवादीलाई लोकतन्त्रको मूल धारमा ल्याउन मात्रै थियो कि नेपाली जनताले चाहेको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि ? त्यो सम्भव भयो
त ? यस्ता प्रश्न उठ्नु स्वाभाविक हो ? शाही शासन हुन्थ्यो भने २०३३ पुस १६ गते मेलमिलापको नीतिसहित भारतबाट निर्वासित जीवन त्यागेर स्वदेश फर्केका बिपी कोइरालालाई झैँ पोखराबाट काठमाडौँ फर्केका पूर्वराजालाई गणतान्त्रिक सरकारले सिधै केन्द्रीय कारागारमा लैजान्थ्यो होला नि ? हो, गिरिजाप्रसादहरूले स्थापित गरेका मान्यताकै कारण आज सत्ताका चर्का आलोेचक पनि आआफ्ना व्रिmयाकलाप गर्न स्वतन्त्र छन्, अभिव्यक्ति स्वतन्त्रताको निर्बाध उपभोग गरिरहेका छन् । यही त हो लोकतन्त्रको गहना । अनावश्यक मूर्खता नदेखाएको भए सायद राजतन्त्र जाँदैनथ्यो कि ?
१२ बुँदे सम्झौता सही थियो वा गलत त्यो इतिहासले मूल्याङ्कन गर्ने विषय हो । तत्कालीन परिस्थितिमा युद्धका नाममा निहत्था मान्छे मार्ने क्रम रोक्न पनि माओवादीलाई शान्तिको मार्गमा ल्याउन आवश्यक थियो । १२ बुँदे त्यसैको उपज हो । मुलुकलाई शान्तिको मार्गमा हिँडाउन पाए देशले निकास पाउँथ्यो भन्नेबाहेक कोइरालामा व्यक्तिगत र पार्टीगत स्वार्थ केही पनि थियो जस्तो लाग्दैन । दरबारसँग भित्री सम्झौता भएको थियो भन्ने विषय बेला बेलामा उठिरहेको छ के थियो त त्यो भित्री सम्झौतामा ? किन कसैले भन्न सक्दैन ? धमिलो पानीमा माछा मार्नुको साटो त्यो भित्री सम्झौता खुलाइदिए हुन्थ्यो नि !
बेबी किङको कुरा त स्वयम् कोइरालाले पनि उठाइरहेका हुन्थे, किनकि कांग्रेसको स्थापनाकालीन सिद्धान्त तोड्न उनलाई पनि मन थिएन । सिंहदरबारअगाडि टाउकोबाट बगेको रगतसँगै बेबी किङको सपना पनि बगेर गयो । कृष्णप्रसाद भटट्राईले समेत जीवनको उत्तरार्धमा पार्टी छोड्नुपर्ने कारण पनि यही बन्यो । कोइरालाले सिद्धान्तभन्दा माथि उठेरै समाधानको प्रयास नगरेको भए मान्छे मारिने व्रmम रोकिने थिएन । १२ बुँदेको जगमा माओवादीसँग विस्तृत सम्झौता भएपछि फूलले मात्र होइन काँडाहरूले पनि कोइरालालाई कोमल देखिरहेका थिए !
कोइरालाको अवसान भएको पनि १५ वर्ष पूरा भयो । उनले बनाइदिएको घरमा बलियोसँग छानो हाल्न नसक्दा चुहिन थालिसकेको छ । १२ बुँदेको एक मात्र जीवित हस्ताक्षरकर्ता भएको नाताले भनिरहने पुष्पकमल दाहालले आफ्नो भूमिकाको दायरालाई बढाउनुको साटो खुम्च्याउँदै जानु भयो । कोइरालाको अवसानपछि मुलुकलाई नेतृत्व दिनुपर्ने जिम्मेवारी उहाँकै थियो तर जग ध्वंसको राजनीति भएकाले निर्माणमा ध्यानै जान सकेन । आफू सत्ताको नेतृत्वमा भए मात्र सबैथोक हुन्छ भन्ने गलत मान्यताले उहाँको उत्तरार्ध त्यति सुखद हुने सङ्केत देखिँदैन । संसद्को रोस्ट्रममा उभिएर कसैलाई सत्तोसराप गर्दैमा जनविश्वास आर्जन गर्न सकिन्न । यहाँनेर चाहिन्छ, कोइरालाले भन्ने गरेको सहमति, सहकार्य र एकताको राजनीति गर्ने आँट र साहस । त्यसको नेतृत्व लिन फराकिलो छाती चाहिन्छ, सत्ताको च्याँखे दाउ होइन ।
हिजो कोइरालालाई संविधान सभाको निर्वाचनमा कांग्रेस हार्दै छ भन्ने थाहा थियो । पार्टी हारेर मुलुकले जित्छ भने निर्वाचनमा जानु पर्छ भनेरै एकोहोरो ढिपी गरिरहे । निर्वाचनमा पार्टीको लज्जास्पद हार भयो । माओवादीले निर्वाचन जित्यो । दाहाल प्रधानमन्त्री हुनुभयो । मुलुकको प्रधानमन्त्री भए पनि युद्धबाट आएको पार्टीको नेताबाट बाहिर निस्कन नसक्दाको परिणाम दोस्रो संविधान सभामा देखियो । सहमतिको राजनीतिका प्रणेता मानिने कोइराला ईष्र्याको मात्रै होइन आशाका पनि पात्र थिए तर १२ बुँदेका हस्ताक्षरकर्ता दाहाल आशाका पात्र हुन सक्नु भएन । कोइरालाको उत्तराधिकारी बन्न सहमतिको राजनीति अघि बढाउन सक्नुपथ्र्यो । यो उहाँको आलोचना गरेको होइन, आशा गरेको नेताले सही बाटो हिँडेन भने मुलुकले दुःख पाउँछ भन्ने एउटा उदाहरण मात्रै हो । दाहालले कोइरालाको उत्तराधिकारी बन्ने अवसर चुकाउनु भयो । गल्ती गर्ने र पछुताउने उहाँको बानीमा आजसम्म सुधार आउन सकेको छैन । मुलुकले जित्छ भने राजनीति छाड्न पनि तयार हुनु पर्छ । आखिर कोइरालाले पनि पार्टी हराएर मुलुकलाई जिताएको होइन र ? नत्र काँडाहरूको पनि प्रिय कसरी बन्न सकिन्छ ?
हो अघिल्लो पुस्ताको एउटा नेताले सबैथोक गरेर जान सक्दैन । कोइरालाले गणतान्त्रिक लोकतन्त्रको उत्तम बाटो खनेर गए, त्यो बाटो कालोपत्रे गर्ने काम पछिल्लो पुस्ताको हो । कांग्रेस आज पनि ठुलो पार्टी हो तर उसले नेतृत्वदायी भूमिका निर्वाह गर्न सकिरहेको छैन । कोइरालाको राजनीतिक यात्रा गतिशील थियो । पार्टीका कार्यकर्तालाई सुख दुःखमा भेटिरहे । उनी कहिल्यै अलमलिएनन् । आफ्नो पथ पनि छाडेनन् । गल्ती नै होस् बरु तत्काल निर्णय गर्ने उनको बानी थियो । सायद २०५१ सालमा मध्यावधि निर्वाचनमा नगएको भए मुलुकले यति धेरै पीडा सहनुपर्ने थिएन कि ? त्यसमा उनी चुकेकै हुन् ।
कोइराला कसैले पूजा गरेर स्थापित भएका नेता होइनन् । जीवनको दुई तिहाइभन्दा बढी समय जनताको मुक्ति र लोकतन्त्र स्थापनाको सङ्घर्षमा होमिएरै बिताए । त्यसैले त कोइराला बाँजुन्जेल राजनीति उनकै वरिपरि घुमिरह्यो । निराशा भन्ने उनको शब्दकोषमा थिएन । निर्वाचनमा पार्टीको लज्जास्पद हार हुँदा पनि राष्ट्रको जित भएको अभिव्यक्ति दिने कोइरालाप्रति सच्चा श्रद्धाञ्जली भनेको लोकतन्त्रमाथि कसैलाई औँला ठड्याउने ठाउँ नदिनु हो । सहमति, सहकार्य र एकताको उनको सूत्र यतिबेला झनै सान्दर्भिक छ । दलहरूले सत्तालाई होइन, मुलुकलाई शिरमा राखेर हिँड्ने हो भने पुनरुत्थानवादी शक्तिको नुर आफैँ गिर्ने छ । जनताले इतिहासले पछाडि पारेको शक्ति होइन, शान्ति, लोकतन्त्र र विकास चाहेको छ । जनताको मतबाट निर्वाचित संविधान सभाका ९० प्रतिशत सदस्यले बनाएको संविधान जोगाउँदैमा जनतालाई न्याय गरेको ठहरिँदैन । प्रजातन्त्रको आत्मा जोगाएर सडकमा ओर्लिएको जनताको भावनालाई सम्बोधन गर्न सक्यौँ भने कोइरालाप्रति सच्चा श्रद्धाञ्जली हुने छ । आफ्नो कुरा बोलौँ, अरूको होइन, व्यवस्था होइन बेहोरा सुधारौँ । जनप्रतिनिधिमूलक थलो एकले अर्कालाई गाली गर्ने संस्कृतिको मञ्च होइन, कोइरालाले भन्ने गरेको सहमति, सहकार्य र एकताको साझा थलो बनाऔँ । व्यवस्थामाथि प्रश्न उठे भनेर मात्र एक हुने होइन, जनभावना जित्न एक हुनु पर्छ ।
राजनीतिमा देखिएका सबै खाले विरोधाभाष र नियतिलाई चिर्दै उत्तरार्धमा सबैका प्रिय पनि भएका कोइरालाको पुस्ताले हामीलाई लोकतान्त्रिक नेपाल दिएर गएको छ, त्यसलाई फुलाउने/फलाउने दायित्व हाम्रो हो । जनताको मत मात्रै होइन मन जित्ने कोसिस ग¥यौँ भने त्यो सपना पूरा हुने छ । आज कताकता नेतृत्व कुहिराको काग जस्तो भएको आभास हुँदै छ, बाहिर निस्कने आँट गर्नु पर्छ । परिआए पार्टी र सत्ताको साँचो नयाँ पुस्तालाई सुम्पेर अघि बढ्न पनि तयार हुनु पर्छ । कोइरालाले भने झैँ ‘जीवन त एक्लो हो, लोकतन्त्र संस्थागत भयो भने सबै नेपालीको जीवन सुरक्षित हुने छ ।’ आखिर सबैको ध्येय ‘समुन्नत नेपाल, सुखी नेपाली’ होइन र ? सगरमाथा र बुद्ध जन्मिएको देश, मठमन्दिरको पवित्र भूमिलाई शान्त बनाउन नेतृत्वले धेरै काम गर्नु पर्दैन मान, सम्मान र सान त्यागेर जनताको सुख दुःखको साथी मात्र बनिदिने हो भने धमिलो पानीमा माछा मार्नेहरू आफैँ बिलाएर जाने छन् । कोइरालाले भने झैँ लोकतन्त्र कसैले खोस्न सक्ने छैन ।