• १९ चैत २०८१, मङ्गलबार
blog

नेपालको राजनीतिक इतिहासमा गिरिजाप्रसाद कोइरालाको विशिष्ट स्थान छ । उनको राजनीतिक इतिहास विराटनगरको जुटमिलसँग जोडिएको छ । मजदुरका नेताका रूपमा २००३ सालदेखि उनी एकतन्त्रीय राणा शासनविरुद्धको आन्दोलनमा होमिए । स्वाभावैले निडर मानिएका कोइराला परिवारको राजनीतिक योगदान नेपालको इतिहासमा भुल्नै नसकिने खालको छ । कृष्णप्रसाद कोइरालाले थालनी गरेको राणाविरोधी आन्दोलनलाई उहाँका छोराहरू बिपी, मातृका, गिरिजा र तारणीप्रसाद कोइरालाले सफलीभूत पारेको मान्न सकिन्छ । त्यसैले २००७ सालको जनक्रान्ति सफल भएको थियो । यसको अर्थ अमर सहिदप्रति योगदान र त्यस बेलाका जनताको हिम्मतलाई कम आकलन गर्न खोजिएको होइन । सफल नेतृत्व कोइराला परिवारको कायम थियो मात्र भन्न खोजिएको हो । जसमा महत्वपूर्ण राजनीतिक पात्रका गिरिजाप्रसादलाई पनि लिन सकिन्छ । 

गिरिजाप्रसाद विद्रोही राजनीतिक पृष्ठभूमिका रूपमा परिचित छन् । विसं २०१७ देखि ३० वर्षसम्म पञ्चायत व्यवस्थाविरुद्ध यिनले गरेको सङ्घर्ष सम्झन लायक छ । सफल जनआन्दोलन २०४६ पछि पनि उनको जिन्दगी सङ्घर्षपूर्ण नै रह्यो । २०४८ सालको आमचुनावमा नेपाली कांग्रेसले बहुमत ल्यायो । कोइराला नेपालको प्रधानमन्त्रीमा नियुक्त भए । पार्टीभित्र ३६ र ७४ को भागबण्डाका कारण संसद्मा सरकारले ल्याएको नीति तथा कार्यक्रम असफल भयो । स्पष्ट बहुमत रहेको सरकारको त्यो अवस्था देखेर कोइरालाले मध्यावधि निर्वाचन घोषणा गरे । पार्टीभित्रको घात अन्तर्घातका कारण कांग्रेस ८३ सिटमा सीमित रह्यो । नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारी देशको प्रधानमन्त्री बने । नेपालको इतिहासमा वामपन्थी शक्तिले सरकार निर्माण गरेको त्यो पहिलो पटक हो । एमाले नेतृत्वको सरकार नौ महिना मात्र टिक्यो । सरकार फेरबदल हुने क्रम चलिरह्यो । फेरि २०५६ को आमचुनावमा कांग्रेसले बहुमत ल्यायो । माओवादी सशस्त्र सङ्घर्षका कारण कुनै पनि सरकार स्थिर हुन सकेनन् । राजाले शासन सत्ता आफ्नो हातमा लिए । राजाको प्रत्यक्ष शासन प्रणालीका विरुद्धमा त्यसबेला लाखौँ जनता सडकमा उत्रिए जननिर्वाचित संसद् पुनस्र्थापना गरिनु पर्छ भन्ने माग राखे । ८० वर्षको उमेरमा पनि आन्दोलन गर्न नथाक्ने गिरिजाप्रसाद त्यसबेलाका सबै दलका अभिभावक नै थिए । सडक आन्दोलन उत्कर्षमा पुगेपछि अन्ततः संसद् पुनस्र्थापनाको माग पूरा गर्न राजा तयार भए । संसद् पुनस्र्थापना गणतन्त्रको यात्रासम्म पुग्यो । 

सहमति, सहकार्य र एकताका प्रमुख सुत्रधार गिरिजाप्रसादको पहलकदमीमा विसंं २०६५ साल जेठ १५ गते सिंहदरबारस्थित ग्यालेरी बैठकबाट संवैधानिक राजतन्त्रको ठाउँमा लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा गरियो । संवैधानिक राजतन्त्र बचाउन गिरिजाप्रसादले ‘‘बेबी किङ” को अवधारणा नल्याएका होइनन् तर जनताका अगाडि बागमतीमा धेरै पानी बगिसकेको थियो । तत्कालीन सभामुख सुवासचन्द्र नेम्बाङले संसद्बाट सो ऐतिहासिक घोषणा गर्दा केही महिनाका लागि राजनेता कोइराला सरकार प्रमुख मात्र नभएर राष्ट्रप्रमुख पनि बनेका थिए । संसद्बाट अनुमोदित भएर कोइराला नेपालको प्रथम राष्ट्रपति बन्न चाहेका थिए तर माओवादीले राजनीतिक बेइमानी गरेका कारण बन्न सकेनन् । 

२०६२/६३ पछि बनेको अन्तरिम संविधान अनुसार गणतन्त्र नेपालको राष्ट्रपति बन्न दुई तिहाइ संसद्को समर्थन चाहिने प्रावधान राखिएको थियो । संविधान सभा निर्वाचनपश्चात् सो प्रावधानबाट राष्ट्रपति निर्वाचित हुन असम्भव देखिएपछि तत्काल संविधान संशोधन गरी सामान्य बहुमतका आधारमा भन्ने प्रावधान राखियो डा. रामवरण यादव राष्ट्र बन्नुभयो । संविधान निर्माणको यात्रा सुरु भयो । पहिलो कार्यकालमा संविधान निर्माण हुन सकेन । संविधान सभाको दोस्रो कार्यकालमा संविधान बन्यो । २०७२ असोज ३ गते लोकतान्त्रिक नेपालको संविधान सार्वजनिक घोषणा गरियो । २००७ सालदेखि नेपाली जनताको संविधान प्रतिको चाहना ६५ वर्षपछि पूरा भयो । जसको सूत्राधार गिरिजाप्रसाद थिए । विसं २०६६ चैत ७ गते कोइरालाको निधन भयो । राष्ट्रले भरपर्दो राजनीतिक अभिभावक गुमायो । 

गिरिजाप्रसादको राजनीतिक जिन्दगी रोचक र घोचक छ । आफ्नाविरुद्धमा उत्रेका जोसुकैलाई किनारा लगाउन खप्पिस उनले सर्वोच्च कमाण्डर गणेशमान सिंह र सन्तनेता कृष्णप्रसाद भट्टराईलाई पनि पार्टीबाट पाखा लगाए भन्ने आरोप छ । यसै गरी हालका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री भएकै बेला विसं २०५८ मा पार्टीको साधरण सदस्य पनि नरहने गरी निष्कासन गरेका थिए । परिणाम देउवाले नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गर्नुभयो । काङ्ग्रेस पार्टीको ठुलै समूह (४० प्रतिशत) देउवाका पक्षमा उभियो । चार वर्षको आन्तरिक कलहपछि गिरिजाप्रसादकै पहलकदमीमा २०६३ असोजमा दुवै कांग्रेस एक भएको घोषणा भयो । 

नेपाली कांग्रेस पार्टीलगायत राजनीतिक दलमाथि अन्याय गर्दै आएका तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई नारायणहिटीबाट नागार्जुनमा ससम्मान पु¥याइ शीतल निवासलाई राष्ट्रपति कार्यालय स्थापना गर्ने साहसका सूत्रधार पनि उनै गिरिजाप्रसाद थिए । उनी चार पटक देशको प्रधानमन्त्री बने । उनको हरेक कार्यकालमा देशले राजनीतिक विवादबाट मुक्त हुन पाएन । धमिजा र लाउडा काण्डसँग उनको नाम जोडियो । राजनीतिक पृष्ठभूमि नभएकी छोरीलाई अगाडि बढाएको आरोप पनि लगाइयो उनीमाथि । गिरिजाप्रसाद जस्तो प्रजातन्त्र र लोकतन्त्रको अग्लो व्यक्तित्वले नै द्वन्द्वमा फस्न लागेको मुलुक बचाए भन्न सकिन्छ । आफू प्रधानमन्त्री बनेपछि विदेश भ्रमणमा उनको रोजाइ हुन्थ्यो छिमेकी मित्रराष्ट्र भारत । भारत भ्रमणमा जाँदा उनको स्वागतका लागि सरकारप्रमुख स्वयम् एयरपोर्टमा आउने गर्थे । छिमेकी भारत र अन्य छिमेकी मुलुकको भ्रमण गर्दा उनी र कृष्णप्रसादको जस्तो स्वागत पछिल्ला कुनै पनि प्रधानमन्त्रीले पाउन सकेका छैनन् । 

नरममा नौनी र कडामा पथ्थर जस्तो स्वाभाव भएका गिरिजाप्रसादको देशमा बहुदलीय व्यवस्था स्थापना गर्न र लोकतान्त्रिक शासन व्यवस्था कायम राख्न अतुलनीय योगदान छ । उनी नेपालका राजनेता थिए भन्ने कुरा उनको ८६ वर्षको उमेरमा निधन हुँदा शोक मनाउन आएका भारतलगायत दक्षिण एसियाली मुलुक, नेपालस्थित अमेरिकी प्रतिनिधि, युरोपियन युनियन, चीन, जापानलगायतका मुलुकका विशिष्ठ व्यक्तित्वको शोक सभामा देखिएको हार्दिक उपस्थितिले देखाउँथ्यो । लोकतन्त्रका पर्याय वा गणतन्त्रका पिता कोइरालाप्रति हार्दिक श्रद्धासुमन !