पार्टीले अवलम्बन गरेको विचारको आधारमा पार्टीको आफ्नै मार्गदर्शक सिद्धान्त हुन्छ, मार्गदर्शक सिद्धान्तका मूलभूत मान्यताका आधारमा पार्टीको कार्यक्रम, कार्यनीति, वैचारिक तथा राजनीतिक कार्यदिशा निर्धारण गरिन्छ । पार्टीका कार्यक्रम, कार्ययोजना तथा रणनीति तयार गर्दा तथा कार्यान्वयन गर्दा पार्टीले अवलम्बन गरेको कार्यनीति र कार्यदिशालाई आधार बनाएर अगाडि बढ्ने पार्टी नै सफल र सशक्त हुन्छन् । स्पष्ट कार्यनीति र कार्यदिशाविहीन पार्टी विधिवत् रूपमा सञ्चालन नहुने र व्यक्तिवाद हाबी हुने भएकाले क्रमिक रूपमा अस्तव्यस्त हुँदै ध्वस्त हुन पुग्छन् । त्यसैले पार्टीलाई जीवन्त बनाउन पार्टीको स्पष्ट कार्यक्रम, कार्यनीति तथा कार्यदिशा अपरिहार्य हुन्छ ।
पार्टी र पार्टी संरचनालाई एकतामा बाँधेर राख्ने तथा पार्टीलाई गतिशील बनाउने शक्ति नै पार्टीले अवलम्बन गरेको मार्गदर्शन सिद्धान्त हो । पार्टीले मार्गदर्शक सिद्धान्तको आधारमा नै सङ्गठनात्मक सिद्धान्त अवलम्बन गरेर पार्टी निर्माण र सञ्चालन गर्ने गरिन्छ, त्यसलाई दिगो र गतिशील बनाउन पार्टी संरचनामा लोकतान्त्रिक विधिलाई स्थापित गर्नु पर्छ । पार्टीले अवलम्बन गरेको आधारभूत कार्यदिशालाई अवसरवादी कार्यदिशामा परिणत गर्ने संशोधनवादीसँग पार्टी सचेत रहँदै तिनीहरूलाई पार्टीबाट अलग गर्नु पर्छ । अन्यथा पार्टी संशोधनवादी भासमा फस्ने छ । पार्टीको कार्यदिशाबारे निरन्तर रूपमा पार्टी कमिटीहरूमा छलफल गर्ने र पार्टीको कार्यदिशाबारे स्पष्ट दृष्टिकोण राख्न सक्ने नेता तथा कार्यकर्ताको विकास गर्नु पर्छ ।
असल पार्टी निर्माण गर्न सबैभन्दा पहिले पार्टीको कार्यदिशा स्पष्ट हुनु पर्छ, यदि कुनै पनि पार्टीको कार्यदिशामा स्पष्टता भएन भने नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरी अन्य पार्टीमा जाने वा राजनीतिक रूपमा निष्क्रिय हुने खतरा बढेर जान्छ । पार्टीले आफूले अँगालेको विचार, सिद्धान्तको आधारमा पार्टीलाई कसरी परिचालन गर्ने भन्ने नीति तथा कार्यनीति बनाउनु पर्छ । पार्टीले अगाडि सारेका नीतिबारे आमकार्यकर्ता र जनतालाई प्रस्ट पार्दै कार्यकर्ता तथा जनताबाट आएका रचानात्मक सुझावलाई ग्रहण गरेर निरन्तर नीतिगत सुधारमा जोड दिनु पर्छ ।
पार्टीले लिएको नीति तथा कार्यदिशामा अलिकति पनि हलचल नगरी नेता तथा कार्यकर्ताले कार्यान्वयनमा दक्षता देखाउनु पर्छ । समस्या समाधानका लागि खुला रूपले जनता तथा विज्ञको विचार बुझ्ने र निचोड निकाल्ने कामलाई पार्टी संयन्त्रले निरन्तरता दिनु पर्छ । नेतृत्वले पार्टीका योजना र निर्देशनलाई कार्यान्वयन गर्न पार्टी कमिटीभित्र व्यापक छलफल गरेर उचित उपायको खोजी गर्ने, कार्यान्वयनका लागि योग्य नेतृत्व चयन गरी जिम्मेवारी दिने, पार्टीको योजना पूरा गर्न सङ्गठित शक्ति परिचालन गर्ने रणनीति लिई पार्टीका कार्यदिशा तथा कार्यनीति व्यावहारिक बनाउँदै पार्टीलाई थप उचाइ प्रदान गर्नु पर्छ । विचारधारात्मक र राजनीतिक कार्यदिशा सही हुनु पर्छ, त्यस्तो राजनीतिक दलले सरकारको नेतृत्व गर्दा नै विकास र समृद्धिले गति लिने गर्छ । अद्वितीय विकास र समृद्धिका पछाडि पार्टीको सही विचार, नीति, योजना र कार्यक्रमले नै महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
पार्टीले अङ्गीकार गरेको विचार र सिद्धान्तका विरुद्ध अन्य विचार र सोच पार्टीमा हाबी भएको खण्डमा पार्टीले लिएको कार्यदिशाको कार्यान्वयनमा बाधा पुग्ने गर्छ । त्यस्ता खराब विचारलाई हटाउन पार्टीभित्र वैचारिक शुद्धीकरण अभियान सञ्चालन गरी पार्टी सदस्यलाई प्रशिक्षित गरेर पार्टीको सही कार्यदिशामा एकताबद्ध बनाउनु पर्छ । पार्टीलाई निरन्तर रूपमा शीर्ष स्थानमा राख्न पार्टी परिवारका सबै सदस्यले आपूmलाई तोकिएको जिम्मेवारी पूरा गर्न पार्टीको कार्यदिशा र नीति अनुसार मेहनतका साथ अनुशासित, इमानदार र लगनशील भएर कार्यान्वयनमा लाग्नु पर्छ । पार्टी परिवारले अध्ययनमा प्राथमिकता दिई आफ्नो वैचारिक तथा सैद्धान्तिक स्तर उठाउने र आफ्नो आचरण तथा काममा सुधार गरी उपलब्धिमूलक प्रगति गर्नु पर्छ ।
पार्टीको राजनीतिक कार्यदिशाका आधारमा पार्टी सदस्य र पार्टीभन्दा बाहिर रहेको शुभचिन्तकलाई हौसला जगाएर परिचालन गरी पार्टीका निर्धारित लक्ष्य पूरा गर्न मेहनतका साथ काम गर्नु पर्छ । पार्टीले योग्यता, क्षमता, सक्रियता, पार्टीमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गरी अनुशासित र निःस्वार्थ व्यक्तित्वलाई नियुक्ति र जिम्मेवारी दिनु पर्छ । त्यसले पार्टीलाई अनुशासित बनाई एकताबद्ध ढङ्गले अगाडि बढ्न मद्दत गर्छ । कृपावादलाई कुनै पनि हालतमा प्रश्रय दिनु हुँदैन । नेतृत्वले फरक धारणा राख्ने नेता तथा कार्यकर्तालाई पनि मित्रवत् व्यवहार गर्दै पार्टीको कार्यदिशा, नीति तथा कार्यक्रमप्रति सचेत गराउँदै सानातिना तिक्ततालाई बिर्सेर सबैसँग घुलमिल गरी समेटेर अगाडि बढ्नु पर्छ । सबैलाई समान रूपले समेट्न सक्ने तथा सेवाका लागि उत्कृष्ट वस्तु र सेवा छनोट गर्न सक्ने नेतृत्वलाई नै महत्वपूर्ण जिम्मेवारी र पद समाल्नुपर्ने परिस्थिति आइलाग्ने गर्छ ।
पार्टी बलियो बनाउन पार्टीका कमिटीहरू तथा जनवर्गीय सङ्गठनलाई क्रियाशील बनाउनु पर्छ । पार्टीका नीति तथा कार्यक्रमप्रति पार्टी सदस्य तथा साधारण सदस्यलाई गौरवको अनुभूति हुने गरी पार्टीले नीति तथा कार्यक्रम अगाडि सार्नु पर्छ । त्यसले सदस्यमा जोस, जाँगर र उत्साह जगाउनुका साथै नीति तथा कार्यक्रमको कार्यान्वयनबाट उच्च प्रतिफल प्राप्त हुन्छ । पार्टीको कार्यदिशा स्पष्ट हुनु पर्छ, नेतृत्व तथा कार्यकर्ता उक्त कार्यदिशामा प्रतिबद्धताका साथ अगाडि बढ्नु पर्छ । पार्टी सन्देश पार्टी कमिटीका सबै तहमा छिटो माध्यमबाट पु¥याउने संयन्त्रको विकास गरी कार्यान्वयनमा एकरूपता ल्याउनु पर्छ । पार्टीलाई बलियो बनाउन पार्टीका नीति तथा कार्यक्रम अगाडि बढाउने सङ्गठनका पुराना आधार भत्किन नदिन नेतृत्व सधैँ सचेत भएर लाग्नु पर्छ ।
समाजिक तथा आर्थिक रूपान्तरणमा सधैँ अन्य पार्टीभन्दा आफ्नो पार्टीलाई अग्र स्थानमा उभ्याउन सक्नु पर्छ । त्यसका लागि आर्थिक र सामाजिक परिवर्तनका लागि रोचक नीति तथा कार्यक्रम ल्याई समाजलाई विकासको मूलधारमा अगाडि बढाउनु पर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दामा पार्टीभित्र छलफल गराएर सही निष्कर्ष निकाली कार्यान्वयनमा लैजानु पर्छ । त्यसले पार्टीका नेता तथा कार्यकर्ताको आवाजमा एकरूपता आउनुका साथै आमजनसमुदायले पनि पूर्ण समर्थन गर्छन् । पार्टी नेतामुखी नभएर नीतिमुखी हुनु पर्छ, नेतृत्वले पार्टीलाई संस्थागत रूपमा अगाडि बढाउनु पर्छ । वैचारिक, सैद्धान्तिक, नैतिकता र इमानदारितामा विचलन आउन दिनु हुँदैन ।
नेतृत्वले पार्टीको योजना, कार्यक्रम र कार्यनीतिको वास्तविक कार्यान्वयनको समीक्षा गर्दा कामको ठोस परिणामलाई ध्यान दिनु पर्छ । काम विवेकपूर्ण ढङ्गले गरिएको छ छैन भन्ने कुरा सम्बन्धित कार्यक्षेत्रमा नै अध्ययन गर्नु पर्छ, अध्ययनबाट निस्केको निचोडको आधारमा सुधार गर्नुपर्ने क्षेत्रलाई व्यवस्थित गर्दै सुधारलाई निरन्तरता दिनु पर्छ । पार्टीका राजनीतिक, साङ्गठानिक तथा आर्थिक कार्यदिशाको बुझाइमा सबै पार्टी तह, नेता तथा आमकार्र्यकर्तामा एकरूपता कायम गराउन विशेष अभियान सञ्चालन गर्नु पर्छ । पार्टी बलियो बनाउन बिनामापदण्ड कसैलाई पनि नेतृत्वमा पु¥याउने परिपाटीको अन्त्य गरिनु पर्छ । विश्वव्यापीकरणमा आइरहेको परिवर्तनलाई आत्मसात् गर्दै पार्टी पनि परिवर्तित रणनीतिका साथ अगाडि बढ्न सक्नु पर्छ । साथै पार्टी शुद्धीकरण र सुदृढीकरणमा पनि विशेष ध्यान पार्टी नेतृत्वले दिनु पर्छ ।
पार्टी शुद्धीकरण र सुदृढीकरण हुँदै जाँदा पार्टी सदस्यको सङ्ख्या क्रमिक रूपमा बढ्दै जाने, पार्टीभित्रका आन्तरिक अन्तरविरोध पनि हल हुँदै जाने, पार्टी विधिवत् रूपमा चलयमान हुने, आमजनताको धारणा पार्टीप्रति सकारात्मक बन्ने र पार्टीमा जनताको आकर्षण बढ्ने गर्छ । पार्टीभित्र गलत संस्कृति र प्रवृत्तिलाई संस्थागत रूपमा मौलाउन नदिन निष्ठाको राजनीतिलाई पार्टीको आदर्श बनाउँदै सिद्धान्त र आदर्शसँग व्यवहार, बोली र प्रतिबद्धताबिच एकरूपता कायम गर्दै शुद्धीकरण र सुदृढीकरणको अभियानमा जोड दिनु पर्छ । पार्टीले नेता तथा कार्यकर्ताको विचार, चिन्तन, कार्यशैली, व्यवहार तथा पार्टी पद्धति, सङ्गठन, व्यवस्थापनमा देखा परेका समस्याको समाधान गरी शुद्धीकरण र सुदृढीकरण अभियानलाई निरन्तरता दिनु पर्छ । साथै पार्टीले वैचारिक बहस, विधि र पद्धतिसहितको सङ्गठनात्मक शुद्धीकरण प्रक्रियामा विशेष जोड दिनु पर्छ ।