• ३ चैत २०८१, आइतबार

निर्माणको समय सकियो अस्पताल निर्माण अलपत्र

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, चैत ३ गते । गाउँपालिका स्तरीय अस्पतालको भवन निर्माणको समय सकिएको दुई वर्ष वित्नै लागेको भए पनि भवन तयार भने हुन सकेको छैन । नेपाल सरकारले सबै स्थानीय तहमा अस्पताल बनाउने कार्य योजना अनुरूप थालिएको म्याग्दीको मङ्गला गाउँपालिकाको निर्माणाधीन अस्पताल भवन हाल अलपत्र जस्तै भएको छ । 

निर्माणको जिम्मा लिएको ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण उक्त अस्पताल भवन निर्माणको कार्य ठिक तवरले अगाडी बढ्न सकेको छैन । २०७९ असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने भवनको दुई पटक म्याद थप्दा पनि भौतिक प्रगति १७ प्रतिशत मात्रै  भएको छ । अघिल्लो वर्षको फागुन सम्म १० प्रतिशत मात्रै काम भएको भवनको एक वर्षको अवधिमा ७ प्रतिशत मात्रै थप काम भएको छ ।

पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकाका साथै बेनी नगरपालिका तथा मालिका गाउँपालिकाको पनि निश्चित क्षेत्रले सेवा लिन सक्ने उक्त अस्पताल भवन निर्माण हुन ढिलाइ हुँदा सर्वसाधारणहरूले सास्ती व्यहोर्न परेको छ । अस्पताल बनेपछि गाउँमै सेवा लिने आशा थियो तर भवन निर्माण नै कहिले हुने टुङ्गो नहुँदा सर्वसाधारण निराश बनेको– स्थानीय युवा चिरञ्जीवी शर्माले बताउनुभयो । हाल सम्म हेर्दा अस्पताल निर्माणका लागि थालिएको भवनको फाउन्डेसन तयार पारी पिलर मात्रै उठाइएको छ । भवन निर्माणका लागि ठाडो पारेका फलामे रडहरुमा खिया लागेको देखिन्छ भने भवन परिसरमा पनि अवस्था निकै दयनीय देखिन्छ उहाँले भन्नुभयो । 

भवन निर्माणको जिम्मा लिएको ठेकेदारलाई पटक पटक ताकेता गर्दा पनि काम तर्फ ध्यान नदिएको गाउँपालिकाका इन्जिनियर अरुण पौडेलले जानकारी दिनुभयो । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजना अनुसार २०७७ पुस १५ गते गाउँपालिकाको वडा नम्बर ५ स्थित हाँडेभिरमा अस्पताल भवनको शिलान्यास गरिएको थियो । अस्पताल भवन निर्माणका लागि गाउँपालिकाले ओम बुद्ध इन्टरनेशनल कन्स्ट्रक्सन काठमाडौँसँग २०७८ असारमा ९ करोड ११ लाख रुपियाँमा ठेक्का सम्झौता गरेको थियो भएको थियो । 

मुख्य ठेकेदारबाट पेटी ठेक्का लिएका ठेकेदारले समयमै काम नगर्दा योजना समयमै सम्पन्न हुन नसकेको हो । भवन निर्माणलाई गति दिन गाउँपालिकाले पटक पटक ताकेता गर्दा पनि ठेकेदारले खासै चासो दिएनन् मुख्य ठेकेदार र पेटी ठेकेदारका बिच आपसी विवादका कारण भवन निर्माणले समयमै गति लिन नसकेको गाउँपालिकाको भनाइ छ । 

गत वर्ष मुख्य ठेकेदार दीपेश लामा सम्पर्कमा आएर भवन बनाउने प्रतिबद्धता व्यक्त गरेको भए पनि लामाले पनि कामलाई गति नदिँदा समस्या भएको छ । २०८० को अन्तिममा काम गर्ने भन्दै म्याद थप माग गरेपछि २०८१ असार मसान्त सम्म ठेक्का सम्झौताको म्याद थपिएको र त्यस पछि पनि म्याद थप गरेर २०८१ चैत ९ गते सम्म पुर्याइएको भए पनि हाल सम्म १७ प्रतिशत मात्रै काम भएकोले अब म्याद थप्नु कुनै अर्थ नदेखिने इन्जिनियर पौडेलको भनाई छ ।

पटक पटक ताकेता गरिएको र अब पनि नआए पालिकाले आवश्यक कारबाही प्रक्रिया अगाडी बढाउँछ भनेर ठेकेदारलाई ताकेता गरेपछि काममा आएको जस्तो देखाएर गत वर्ष म्याद थपेका रहेछन् अहिले पनि म्याद थपका लागि पत्र पठाएका थिए –इन्जिनियर पौडेले भन्नुभयो । अब कामको गति र भौतिक प्रगति हेर्दा म्याद थप्नु बेकार छ । अब पनि म्याद थप्नु भन्दा ठेक्का तोडेर अगाडी बढ्नु नै मनासिब देखिने राय धेरैले व्यक्त गरेका छन्–उहाँले भन्नुभयो ।

ठेकेदारले समयमा भवन निर्माणको काम अगाडी नबढाउँदा सङ्घीय सरकारबाट प्राप्त हुने बजेट प्राप्त गर्न कठिनाइ हुनुका साथै ठेकेदारलाई काममा लगाउन ठुलो सङ्घर्ष गर्नुपर्ने अवस्था सिर्जना भएको मङ्गला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । ‘योजनाको कार्यसम्पादन प्रगति प्रतिवेदनका आधारमा मात्र बजेट प्राप्त हुने हो । तर ठेकेदारले काम नगर्दा बजेट आउने कुरा पनि भएन । 

आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्ष सहितको भूकम्प प्रतिरोधी क्षमताको  ३५ कोठा भएको अपाङ्गमैत्री भवन  निर्माण हुनेछ । अस्पतालका लागि गाउँपालिकाले अर्मन स्वास्थ्य चौकी परिसरमा  आठ रोपनी जग्गा व्यवस्थापन गरेको थियो ।