रमेश विश्वकर्मा
गुल्मी, चैत १ गते । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले अति विशिष्ट पदाधिकारीहरूको सेवा सुविधा घटाउन माग गर्नुभएको छ । शुक्रबार नेपाली कांग्रेस गुल्मी क्षेत्र नम्बर–२ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
नेता भण्डारीले देश आर्थिक संकटमा गइरहेका बेला विशिष्ट पदाधिकारीको सेवा सुविधा बढाउने प्रस्ताव स्वीकार्य नहुने बताउनुभयो । विशिष्ट व्यक्तिका सेवा सुविधा कटौती गरेर जनताको सुविधा बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले शीर्ष नेताहरूलाई सम्मानजनक रुपले विस्थापित गरी आफूहरुले देशलाई निकास दिन लागि परेको बताउनुभयो । नयाँ पुस्ताका नेताहरूलाई साथ दिन देशभरका मतदाताहरूलाई उहाँले आग्रह गर्नुभयो ।
पुराना नेताहरूको व्यवहारकै कारण राजावादीहरूको आत्मबल बढेको तर्क गर्दै उहाँले नेपालमा फेरि राजतन्त्र फर्किने सम्भावना छैन भन्नुभयो । लोकतन्त्रको विकल्प राजतन्त्र होइन, बरु पुराना नेताहरूको विकल्प नयाँ नेताहरू हुन सक्छन्य, ही व्यवस्थाभित्र सुधारका लागि सबै लाग्न जरुरी रहेको बताउनुभयो ।
देशका हरेक मोडमा निकासको नेतृत्व सधैँ कांग्रेसले मात्रै गरेको दृष्टान्त प्रस्तुत गर्दै अब पनि कांग्रेसले नै निकास दिने बताउनुभयो । उहाँले सबैभन्दा बढी सम्भावना कांग्रेसबाटै भएकाले यसको विकल्पमा नलाग्न पनि शुभेच्छुकहरूलाई आह्वान गर्नुभयो ।
कार्यक्रममा राष्ट्रियसभा सदस्य विष्णु सापकोटा, कांग्रेसका लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ, कांग्रेस गुल्मीका सभापति एवम् रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीलगायतका नेताहरूले केन्द्रीय नेताहरू सुध्रिनुपर्ने र आम कार्यकर्ता निराश नभई खबरदारी गरिरहनुपर्ने बताउनुभयो ।