• २९ फागुन २०८१, बिहिबार

अपराध अनुसन्धानमा चुनौती

blog

प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीलाई सम्बोधन गर्नुहुँदै प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने । तस्बिर : केदार तिमल्सिना

बनेपा समाचारदाता 

बनेपा, फागुन २९ गते ।  बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले विश्व प्रविधिमा आएको विकास तथा कृतिम बौद्धिकताका कारण अपराध अनुसन्धानमा चुनौती थपिएको बताउनुभएको छ । 

प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री लामिछानेले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगले अपराध अनुसन्धानका क्षेत्रमा चुनौती थपिएको बताउनुभएको हो । पछिल्लो समयमा विश्वमा भएका विभिन्न घटनामा सामाजिक सञ्जाल मतियारका रूपमा रहेको उहाँको भनाइ छ । 

“न्याय, विधिको शासनलगायतका विषयमा धेरै हदसम्म बहस र पैरवी भइरहेका छन्,” उहाँले भन्नुभयो, ‘पीडितले न्याय पाउने, वास्तविक पीडकले सजाय पाउने आधारभूत सिद्धान्त त्यतिबेला पूरा हुन्छ, जतिबेला अनुसन्धानका प्रमुख तीन स्तम्भ अनुसन्धान, अभियोजन र न्याय निरूपणमा आपसमा समन्वय र सहकार्य हुन्छ,” मन्त्री लामिछानेले भन्नुभयो । उहाँले कतिपय घटनामा गहिरो रूपमा अनुसन्धान नभएका कारण अभियोजन प्रमाणित नभएको बताउनुभयो । केही घटना गहिरो रूपमा अनुसन्धान भएर पनि राजनीतिक र सामाजिक दबाबले गर्दा अभियोजन नै दर्ता नभएका उदाहरण रहेको उल्लेख गर्नुभयो ।

अनुसन्धान कार्यमा संलग्न व्यक्ति र कार्यालय संवेदनशील, पारदर्शी र निष्पक्ष हुनु जरुरी रहेको उहाँले बताउनुभयो । दर्ता भएका घटना र जिम्मेवारी बहन गर्नुपर्ने प्रहरी जनशक्तिको तुलना गर्दा जनशक्तिको अपर्याप्तता रहेको छ । यसमा वृद्धि गर्नुपर्ने आवश्यकता छ । “बागमती प्रदेशमा सबैभन्दा बढी अपराधका घटना बढेका छन्, त्यसमा पनि सबैभन्दा बढी आर्थिक गतिविधिसँग सम्बन्धित रहेको देखिन्छ । यसले वित्तीय अपराध नियन्त्रणको छुट्टै ब्युरो स्थापना गर्न ढिला भएको पुष्टिसमेत गरेको छ,” मन्त्री लामिछानेले भन्नुभयो, “वित्तीय अपराध विचलन, एन्टी मनी लन्ड्री, काउन्टर टेरोरिजम फाइनान्सिङ मापदण्डमा भएका कमजोरीले गर्दा नेपाल ‘ग्रे लिस्ट’ मा परेको हो ।”

उहाँले प्रदेश सरकारले हालसम्म ६८ वटा प्रहरी भवन निर्माण गरी हस्तान्तरण गरेको र तीन वटा भवन हस्तान्तरणको अन्तिम चरणमा रहेको बताउनुभयो । प्रदेश सरकारले बागमती प्रदेश प्रहरी अस्पतालका साथै सिन्धुलीको भीमान र मकवानपुरको रातामाटामा अत्याधुनिक एकीकृत सुरक्षा जाँच चौकी निर्माणलाई प्रदेश गौरवको आयोजनाका रूपमा लिएको जानकारी दिनुभयो । अपराध अनुसन्धानका लागि किट बक्स खरिद तथा प्रदेश विधि विज्ञान प्रयोगशाला र डिजिटल फरेन्सिक ल्याब निर्माण गर्न प्रदेश सरकारको आगामी वार्षिक कार्यक्रममा समावेश गर्न छलफलका क्रममा रहेको बताउनुभयो । 

कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले अपराधमा हुने सूचना प्रविधिको दुरुपयोग, क्रिप्टो कारोबार, विद्युतीय कारोबार, सम्पत्ति शुद्धीकरणका विषयले अपराध अनुसन्धानलाई जटिल बनाउँदै लगेको बताउनुभयो । उहाँले देशको राजधानीमा हुने अपराधले अन्य प्रदेशमा समेत असर पर्ने भएकाले सबै अनुसन्धान, अभियोजन र न्याय निरूपण गर्ने निकायबिच आपसी समन्वय र सहकार्य कायम गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले जनसङ्ख्या र प्रहरीको दरबन्दीको हिसाब गर्दा बागमती प्रदेशमा एक प्रहरीले ४३३ जना नागरिकको सुरक्षा गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले पछिल्लो समय मुलुकको सङ्घीय राजधानीका साथै बागमती प्रदेशका विभिन्न जिल्लामा आपराधिक गतिविधिका घटना बढ्दो क्रममा रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा उच्च अदालत पाटनका न्यायाधीश श्यामकुमार भट्टराईले नेपाल प्रहरीले पक्षको गोपनीयता कायम राख्नका लागि प्रभावकारी ढङ्गले काम गरेको बताउनुभयो । 

गोष्ठीमा बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता सुकदेव काफ्ले, नेपाल प्रहरी अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायत, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले अपराध अनुसन्धान गोष्ठीको औचित्य र प्रभावकारिताबारे आफ्ना भनाइ राख्नुभएको थियो ।