मुलुक गणतान्त्रिक यात्रामा हिँडेको करिब दुई दशक भएको छ । शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक बाटोबाट मुलुकलाई अघि बढाउन मुख्य दल सहमत भएसँगै गणतान्त्रिक यात्रा सम्भव भएको थियो । यो दुई दशकको अवधिमा मुलुकमा थुप्रै राजनीतिक आरोहअवरोह आए तर पनि गणतान्त्रिक यात्रासँगै सुरु भएको समृद्ध मुलुकको सपना साकार पार्न यस सम्बद्ध सबै पक्षको बलियो समर्थनका कारण त्यस्ता अवरोध सहजै पार भएका छन् । मुलुकमा राजनीतिक स्थायित्व पनि सम्भव भएको छ । मुलुक सामन्तवादविरुद्ध उदार पुँजीवाद हुँदै समाजवादतर्फ अगाडि बढिसकेको अवस्थामा पछिल्लो समय फेरि पनि विविध उल्झन थापेर मुलुकलाई पछाडि फर्काउने तत्व सलबलाउन थालेको आभास हुन थालेको छ । लोकतान्त्रिक पद्धतिबाट अवलम्बन गरिएको अहिलेको मार्गबाट मुलुकलाई पछाडि फर्काउने दुष्प्रयास भने कदापि सफल हुन्न । जनताले शासन गर्ने गणतन्त्रभन्दा राम्रो अन्य कुनै व्यवस्था हुन सक्दैन । हामीले अवलम्बन गरेको प्रतिस्पर्धाको माध्यमबाट जोकोही पनि अगाडि बढ्न सक्ने प्रणाली नै सबैभन्दा राम्रो प्रणाली हो ।
हो, यतिबेला कुनै पक्षसँग अनावश्यक वादविवाद गर्नुभन्दा सबैको कुरा सुन्न र यथोचित छलफल तथा बहस गर्न सरकार तयार हुनु पर्छ । कतिपय कुरा मिलेका छैनन् भने छलफलबाट मिलाउनु पनि पर्छ । फेरि पनि कुनै एक अमूक व्यक्तिको स्वार्थसिद्धिका लागि मुलुकलाई पछाडि धकेल्न खोज्नु मुलुकको लोकतान्त्रिक शासनप्रणालीलाई नै उखेल्न खोज्नुसरह हो । मुलुकको राष्ट्रिय एकता खलबल्याउनेतर्फ कोही पनि अग्रसर हुनु हुँदैन । सरकारले आफ्नो कामबाट जनता खुसी पार्न सकेमा अनावश्यक माग थोपर्दै सडक आन्दोलन गर्न खोज्ने समूह पनि आफैँ हराउँछन् । देशलाई शान्ति र राष्ट्रिय एकता चाहिएको छ । विविधतामा एकता र सम्पन्नतातर्फ मुलुकलाई अगाडि लैजानु पर्छ । शान्तिपूर्ण बाटो नै समृद्ध मुलुकको आधारशिला हो भन्ने यथार्र्थ कसैले पनि बिर्सनु हँदैन ।
समृद्ध मुलुक निर्माणका लागि सरकारले आफ्ना कामकारबाही प्रभावकारी बनाउनु पर्छ । जनतामा भरोसा जगाउने काम गर्न सकियो भने मात्रै सरकारप्रति विश्वास बढ्छ । जनविश्वास आर्जन गर्न सरकार भ्रष्टाचार नियन्त्रण तथा विगतमा उठेका भ्रष्टाचार काण्डका छानबिन तथा सुशासन कायम गर्नेतर्फ प्रतिबद्ध हुनु पर्छ । लोकतन्त्रलाई जनताको जीवन र आर्थिक विकाससँग जोड्नु पर्छ । जनताको संस्कृति र सभ्यतासँग जोड्न सक्ने हो भने मुलुकलाई साँचो अर्थमा अगाडि बढाउन सकिन्छ । रोजगारी सिर्जना, कृषिलाई आधुनिकीकरण गर्ने, आधारभूत तहतर्फको शिक्षालाई अनिवार्य तथा पूर्ण निःशुल्क तथा माध्यमिक तहको शिक्षाको संवैधानिक व्यवस्था कार्यान्वयन गर्नेतर्फ लाग्नु पर्छ ।
मुलुकको आर्थिक अवस्थामा व्यापक सुधार अहिलेको टड्कारो आवश्यकता हो भन्ने यथार्थलाई कसैले पनि बिर्सनु हुन्न । आर्थिक रूपमा सम्पन्न मुलुक निर्माणका लागि लगानीको वातावरण सिर्जना गरेर ठुला ठुला लगानीकर्तालाई आकर्षित गर्ने नीति अवलम्बन गर्नु पर्छ । लगानी बढेमा मात्रै सहजै रोजगारी सिर्जना हुन्छ, बेरोजगारलाई रोजगारीमा आबद्ध गराउन सकिएमा मुलुकमा अनेक बहाना थोपरेर सडकमा भिड जम्मा गर्ने क्रम पनि रोकिन्छ । रोजगारीका दअवसर सिर्जना गर्न सकिए बेरोजगार जमातलाई बटुलेर आफ्नो स्वार्थसिद्धिमा प्रयोग गर्ने समूह आफैँ निस्तेज हुने छन् ।