गुणबहादुर रोका
सुलीकोट, फागुन २८ गते । गोरखाको आरुघाट गाउँपालिकाले पालिका भित्रका उत्कृष्ट कृषि र पशुपालक किसानलाई प्रोत्सहन स्वर"प नगदसहित सम्मान गरेको छ । गाउँसभाको सोह्रौ अधिवेशनमा उत्कृष्ट किसान छनोट गरी नगद १५ हजारसहित सम्मानपत्रका साथ सम्मान गरिएको आरुघाट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठले जानकारी दिनुभयो ।
गाउँपालिकाले किसानलाई उत्पादनको आधारमा विभिन्न क्राइटएरिया छुट्याइ किसानको मनोबल उच्च बनाउनका लागि सम्मान गरिएको छ । माछा पालन गर्ने आरुघाट– १० का सन्दिप श्रेष्ठ, बाख्रा पालन गर्ने आरुघाट– ३ का सेते खत्री र कुखुरापालन गर्ने आरुघाट– १० का गीता श्रेष्ठलाई उत्कृष्ट किसान छनोट गरी सम्मान गरिएको पशु सेवा शाखा प्रमुख इन्द्रहरि खनालले बताउनुभयो ।
त्यस्तै, मसलाबालीतर्फ अलैची खेती गर्दै आएका आरुघाट– २ का रामबहादुर गुरुङ, फलफूल खेती केराखेती गर्दै आएका आरुघाट– १ का बीरबहादुर लामा र तरकारी खेती गर्ने आरुघाट– ७ का गोपाल बाँनियालाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष राजु गुरुङले पालिका भित्र उत्पादन बढाएर किसानको आयआर्जनमा गाउँपालिकाले सक्दो भूमिका निर्वाह गरी किसानलाई उत्पादनको आधारमा सहयोग र अनुदानको व्यवस्था गर्न गाउँपालिका लागि परेको बताउनुभयो ।
उहाँका अनुसार पालिकाले आगामी बजेटबाट कृषि र पशुपालका लागि आवश्यक बजेट विनियोजन गरी पालिकामा तरकारी, माछा, मासुमा आत्मनिर्भर हुने गरी गाउँपालिकाले योजना बनाएको उहाँले बताउनुभयो ।