चैनपुर (बझाङ), फागुन २६ गते । बझाङमा एसईई परीक्षाका लागि जिल्लाभर २० वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षा समन्वय समितिले चैत ७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि परीक्षा केन्द्र निर्धारण गरेको हो ।
यस वर्ष प्राविधिक धारतर्फ एक वटा परीक्षा केन्द्र थप गरिएको शिक्षा विकास तथा समन्वय इकाइ बझाङका सूचना अधिकारी बसन्तबहादुर सिंहले जानकारी दिनुभयो । प्राविधिक धारतर्फका सबै विद्यालयका परीक्षार्थीका लागि सत्यवादी माध्यमिक विद्यालय भोपुर (ख) केन्द्र कायम गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार दुर्गा भवानी मावि तलकोट, सत्यवादी मावि भोपुर (क), सत्यवादी मावि भोपुर (ख), कुलमष्टोजन मावि भातेखोला, बालविकास मावि गोलाई, जालपा मावि देवल, खप्तड मावि कालुखेती, लामातोला मावि लामातोला, जनप्रिय मावि बगडगाउँ, थलारा मावि खोली, भैरव मावि झोता, चौधरी मावि जुजी, शान्ति मावि चौघानपाटा, बान्निचौर मावि बान्निचौर, चन्द्रोदय मावि भाटशैन, शिक्षोदय मावि बागथला, सुनकुडा मावि चिर, सरस्वती मावि विजगडा र महादेव मावि अठपालीमा परीक्षा केन्द्र तोकिएको छ ।
यस वर्ष बझाङमा ४ हजार ६ सय ४४ जना परीक्षार्थी सहभागी हुनेछन् । नियमित साधारणतर्फ १ हजार ८ सय ५ छात्रा र १ हजार ८ सय २१ छात्रगरी ३ हजार ७ सय ६ जना तथा एक्जाम्टेड (ग्रेडवृद्धि) तर्फ ३ सय ७२ छात्रा तथा ३ सय १२ छात्र गरी ६ सय ८४ जना परीक्षार्थी सहभागी हुनेछन् ।
यस्तै, प्राविधिक धारतर्फका एकसय ३३ छात्रा र एकसय २१ छात्र गरी जम्मा दुईसय ५४ जना विद्यार्थी सहभागी हुने सूचना अधिकारी सिंहले बताउनुभयो । परीक्षा शान्त, मर्यादित र अनुशासित रूपमा सम्पन्न गर्न सबैको समन्वय र सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ ।