• २६ फागुन २०८१, सोमबार

मिथिला मध्यमा परिक्रमाः बेवारिसे विश्रामस्थल, निर्माणको छैन ठोस योजना

blog

१५ दिने मिथिला मध्यमा परिक्रमाको डोला निस्कने मिथिला बिहारी मन्दिर परिसर । तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी
जनकपुरधाम, फागुन २६ गते ।
मिथिला मध्यमा परिक्रमा हिन्दू धर्मावलम्बीहरूका लागि मात्र नभई विश्वकै सबैभन्दा लामो धार्मिक पदयात्राका रूपमा परिचित छ, यसलाई मिथिलाको महाकुम्भ पनि भन्ने गरिन्छ । तर परिक्रमा यात्रीको विश्राम स्थल बेवारिसे अवस्थामा छन् भने विश्राम स्थलका लागि कुनै ठोस योजना समेत बनाइएको छैन ।

महाशिवरात्रिपछि सुरु भएको १५ दिने मध्यमा परिक्रमा सोमबार १२ औं दिनमा धनुषाको औरही गाउँपालिकास्थित परिक्रमा गाछीमा विश्राम गर्नेछ । परिक्रमा अवधिभर परिक्रमा यात्रुहरूले नेपालको ११ र भारतका चार गरी जम्मा १५ विश्रामस्थलको विभिन्न धार्मिक स्थलहरूको दर्शन गर्दै पदयात्रामा सहभागी परिक्रमा यात्री महावीर साहुले बताउनुभयो ।

यो धार्मिक पदयात्रा आस्थाको प्रतिकसँगै सहनशीलताको परीक्षा पनि बनिरहेको छ । विशेष गरी, विश्रामस्थलहरूमा आवश्यक सुविधाको अभावले यात्रुहरूलाई कठिनाइ भोग्नुपरेको छ । पर्याप्त आवास, पानी, तथा अन्य आधारभूत आवश्यकताहरूको व्यवस्था नहुँदा परिक्रमावासीहरूका लागि यात्रा कठिन भएको परिक्रमावासीहरू बताउँछन् ।

विगत १० वर्षदेखि परिक्रमामा सहाभागी हुँदै आउनुभएकी ६० वर्षीया दुखनी देवीले अहिले कलियुगमा छौं, तर त्रेता युगदेखि चल्दै आएको यस यात्राका सहभागीहरूलाई स्थायी विश्रामस्थलको व्यवस्था नहुँदा यात्रुहरूलाई कठिनाई भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “देशमा तीन सहको सरकार हुँदा पनि परिक्रमा यात्रीको बारेमा कुनै सरकारले ध्यान नदिएको देखिन्छ, अन्य कामका लागि कराेडौं खर्चिने सरकारले विश्वकै लामो धार्मिक पदयात्राका लागि कुनै योजना नबनाउनु यात्रालाई बेवास्ता गरिएको देखिन्छ ।” 

भर्खर मात्रै सम्पन्न भारतको महाकुम्भ व्यवस्थाको उदाहरण हेर्न सकिन्छ भन्नुहुँदै उहाँले भारत सरकारले गरेका कामबाट हाम्रो सरकारले पनि सिक्न आवश्यक रहेको बताउनुभयो । यस्तो रह्यो भने नेपालको धार्मिक पर्यटकीय स्थलको विकास कसरी हुन्छ भन्ने कथन परिक्रमा यात्रस् दुखनी देवीको कथन थियो ।

यस्तै, १० वर्षदेखि परिक्रमा सहभागी हुँदै आउनुभएको समुद्री चौधरीले परिक्रमा यात्रुको विश्रामस्थल व्यवस्थित बनाउनमा सरोकारवाला निकाय मौन रहेको धारण व्यक्त गर्नुभयो । उहाँले मिथिलाको सभ्यता बोकेको धार्मिक यात्रा प्रति सरकार उदासिन देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बाटोघाटो जस्तो भएपनि पडावस्थलहरूमा उचित व्यवस्था हुनुपर्ने हुन्छ । तर यहाँको पडाव स्थलहरूमा व्यवस्थित वासस्थान र शौचालय पनि छैनन् ।”

यसैगरी, कमला नगरपालिका हथमुन्डाकी रुकमिणी देवी पाँच वर्षदेखि परिक्रममा गर्दै आउनुभएको छ । उहाँले परिक्रमा सुरु गरेको पाँच वर्ष हुँदा पनि परिक्रमा विश्रामस्थलमा कुनै सुधार नआएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो वर्षको अनुभव जस्तो थियो अहिले पनि त्यस्तै छ, भगवानको नाममा पदयात्रा गर्दै छौं, थोरै दुःख कष्ट सहनु पर्छ भनेर चित्त बुझाएर हिँडेका छौं ।”

यता विश्रामस्थलमध्येका औरही गाउँपालिकाले परिक्रममा यात्रु अस्थायी शौचालय, खानेपानी, फलफूल र स्वागतद्वारका लागि वार्षिक पाँच लाख रुपियाँ बजेट विनियोजन गर्दै आएको प्रमुख प्रशासकिय अधिकृत अशोककुमार यादवले जानकारी दिनुभयो । उहाँले पालिकाले परिक्रमा विश्राम स्थललाई स्थायी रूपले व्यवस्थित गर्न सङ्घ र प्रदेश सरकारसँग पहल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विश्रामस्थल व्यवस्थित बनाउन पालिकाको बजेटले मात्र गर्न नसक्ने हुँदा परिक्रमाविश्राम स्थलमा धर्मशाला तथा शौचालयका निर्माणका लागि सङ्घ तथा प्रदेश सरकारसँग समन्वय गरिरहेका छौं ।”

यस्तै, मधेश प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले परिक्रमाको विश्रामस्थलका लागि कुनै ठोस योजना बनाएको देखिएन । मन्त्रालयले गत वर्ष स्वागत ब्यानर र सर्वत पानी वितरणको व्यवस्था मात्र गरेको मन्त्रालयका निमित्त सचिव सुशिलकुमार साहले बताउनुभयो । उहाँले परिक्रमाका लागि भनेर कुनै बजेट विनियोजन नगरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘परिक्रमा जनकपुरधाम आइपुग्दा अन्तिम दिन कार्यालयको खर्चबाटै परिक्रमावासीका लागि स्वागत ब्यानर र सर्वत वितरण गरिने योजना रहेको छ ।” 

१५ वटै विश्रामस्थलमा सुविधा न्यून
मिथिला महात्म्य अनुसार परिक्रमा अवधिमा तीर्थयात्रीहरूले नेपालका धनुषा र महोत्तरी गरी ११ र भारतका चार स्थानका १५ विश्रामस्थलमा बास बस्छन् । यी स्थानहरू धार्मिक रूपमा पवित्र भए पनि तिर्थयात्रुका लागि सुविधाजनक व्यवस्थाको अभाव देखिएको छ । प्रत्येक विश्रामस्थल विशेष धार्मिक महत्त्व बोकेको मानिन्छ, जहाँ राम–सीता विवाहका विभिन्न विधिहरू सम्पन्न भएको धार्मिक मान्यता छ ।

परिक्रमा अवधिमा परिक्रमा यात्रुहरूले मिथिला बिहारीको कचुरीबाट यात्रा सुरु गरी जनकपुरधामको हनुमाननगर, भारतको कलानेश्वर, गिरिजास्थान, करुणा, बिसौल, महोत्तरी जिल्लाको मटिहानी, जलेश्वर, मडई ध्रुवकुण्ड,  कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही गाउँपालिकास्थित परिक्रमा गाछी, र जनकपुरधाममा रात्री विश्राम गर्छन् । यी विश्रामस्थलहरूमा आवश्यक पूर्वाधार संरचना निर्माण तथा न्यूनतम सुविधासम्म पनि व्यवस्थापन गरिएको छैन । न्यून सङ्ख्यामा कतैकतै भौतिक संरचना खडा गरिए पनि संरक्षण संवर्धनको अभाव देखिएको छ  ।