रामकृष्ण बोहरा
बागलुङ, फागुन २६ गते । सदरमुकाम बागलुङ बजारसँग सीमा जोडिएको वडा हो 'तित्याङ' । २७ वटा ग्रामिण सडक रहेको तित्याङमा स्थानीय तह गठन भएको वर्षाैं बितिसग्दासम्म एउटा सडक कालोपत्रे हुन सकेको छैन । वर्षायाम र चाडपर्वमा भने सडक सरसफाइको काम चलिरहन्छ । बजारसँग जोडिएको वडा भए पनि गुणस्तरीय सडक नहुँदा त्यहाँका नागरिकले यात्रा गर्दा बाह्रैमास सास्ती खेप्न बाध्य छन् ।
पटक पटकको आग्रहपछि पनि स्थानीय सरकारले जीर्ण बनेका सडक स्तरोन्नतिमा चासो नदेखाएको भन्दै बागलुङ नगरपालिका ९ तित्याङको ठुल्स्वाँरावासी सडक मर्मतमा जुटेका छन् । बागलुङ नगरपालिका र वडा कार्यालयले सडक मर्मतमा बेवास्ता गरेको ठुल्स्वाँरावासीको आरोप छ । तर सिमित स्रोत र साधन हुने वडाले सक्दो प्रयास गरिरहेको वडाध्यक्ष राजु थापा बताउनुहुन्छ ।
स्थानीयवासी र त्यहाँ रहेका सामाजिक सङ्घसंस्थाबाट चन्दा सङ्कलन गरी जेसिबी मेसिन भाडामा लिएर तित्याङको ठुल्ढुङ्गादेखि पाखाबारी–ठुल्स्वाराहुँदै टिमुरबोट जोड्ने सडक मर्मत गर्न थालिएको स्थानीय उपभोक्ता अर्जुन थापाले जानकारी दिनुभयो ।
तित्याङको स्वास्थ्यचौकी अड्डाँडा, खानीगाउँ हुँदै डोयसम्म जाने सडकको (खोलाटे) खण्ड र भुजाकाटे, गामा, अड्डाँडाहुँदै टिमुरबोट जोड्ने सडक जीर्ण हुँदा स्थानीयले अत्यासलाग्दो यात्रा गर्नुपरेको थापाले गुनासो गर्नुभयो । गाउँले मिलेर १ लाख रुपियाँ सङ्कलन गरी सडक स्तरोन्नति गर्न लागिएको थापाले जानकारी दिनुभयो ।
‘नगरपालिकाले गाउँका जनताको दुख नदेखपछि गाउँले मिलेर जुटाएको रकमबाट सडक स्तरोन्नति गरेर यात्रा सहज बनाउने प्रयास भइरहेको छ,’ थापाले भन्नुभयो । हिउँदमा जसोतसो गाडी आउजाउ गरेपनि वर्षा याममा तित्याङका जनताले निकै नै सास्ती खेपेर यात्रा गर्न बाध्य भएको थापाले सुनाउनुभयो । सडक मर्मतका लागि एक लाख रुपियाँ पर्याप्त नभएपनि सडक छेउका डाँडा काट्ने र खाल्डाखुल्डी पुर्ने काम मात्रै गर्न संभव भएको थापाको भनाइ थियो ।
सडक मर्मतको लागि दबाब सिर्जना गर्न तित्याङको कुवापानी, फूल्पाती, गामा, अड्डाँडा, खानेगाउँ डोय, टिमुरबोटका १ सय ९० घरधुरीको भेलाले सन्देश जिसीको अध्यक्षतामा २४ सदस्यीय सडक उपभोक्ता समिति गठन गरिएको छ । ‘सशरीर उपस्थित भएर बागलुङ नगरपालिकालाई दबाब दिएपनि सडक मर्मतको काम अहिलेसम्म हुन सकेको छैन’ अध्यक्ष सन्देश जिसीले भन्नुभयो ।
वडा कार्यालयले सडक मर्मतमा मात्रै चालु आर्थिक वर्षमा ५ लाख रुपियाँ बजेट खर्चिसकेको छ । नगरपालिकाको १ लाख र वडाको ४ लाखबाट सडक मर्मत गरिएको हो । तित्याङमा धेरै सडक हुँदा सबैलाई प्राथमिकता राखेर काम गर्न बजेट अपुग भएको वडाध्यक्ष राजु पुन बताउनुहुन्छ । ‘असार २८ को भीषण वर्षापछि क्षतविक्षत भएका सडकको अनुगमन गरी नाली बनाउनेदेखि मर्मतसम्मका भएका छन्’ थापाले भन्नुभयो, ‘वडाका चार मुख्य र सबै शाखा सडकमा मेसिन चलाउँदा वडालाई १ लाख रुपियाँ ऋण समेत लागेको छ ।’ सिमित बजेटमा सबै सडकलाई यसअघि फागुन ४ गते तित्याङवासीले वडाका जीर्ण सडक तत्काल मर्मत गर्न माग गर्दै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठसहित वडाध्यक्ष राजु थापालाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।
सो समयमा नगर प्रमुख श्रेष्ठले हरेक वर्ष ग्रामिण सडक मर्मत भइरहेको र यसवर्ष पनि त्यसलाई निरन्तरता दिने प्रतिबद्वता जनाउनुभएको थियो । नगरपालिकाले तित्याङका सडक स्तरोन्नतिको लागि १५ लाख रुपियाँको लागत स्टमेट तयार गरेको छ तर स्रोत साधनको अभावमा काम हुन नसकेको नगरपालिकाका उपप्रमुख राजु खड्का बताउनुहुन्छ।
बजारको सम्मुखमा रहेर पनि तित्याङका सडक पूर्वाधारको अवस्था अत्यन्तै कमजारे रहेको उमप्रमुख खड्काले स्वीकार्नुभयो । नगरपालिकाको जेसिभी मेसिन बिग्रिदा सडक मर्मत गर्न नसकिएको खड्काले बताउनुभयो । ‘तित्याङवासीको धेरै ठुलो माग पनि होइन, सडक सरफाइ गरेर तत्कालको माग सम्बोधन गर्न सकिन्छ’ उपप्रमुख खड्काले भन्नुभयो, ‘त्यहाँका मुख्य सडकलाई गुणस्तरीय बनाउन प्रदेश र सङ्घिय सरकारसँग छलफल गर्ने तयारी समेत भइरहेको छ ।’