काठमाडौं, फागुन २६ गते । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्वाचित हुँदैमा कोही पनि जनप्रतिनिधि विधि र नियमभन्दा माथि नहुने बताउनुभएको छ । सोमबार आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ नयाँ बानेश्वरमा रहेको श्री शिद्धेश्वर महादेव मन्दिरको शिलान्यास गर्नुहुँदै उहाँले जनप्रतिनिधि विधि र नियमअनुसार चल्नुपर्ने बताउनुभयो ।
त्यस्तै उहाँले संघ, प्रदेश र स्थानीय तीनै तहका जनप्रतिनिधि र स्थानीय मिलेर काम गरे विकास निर्माणका काम सहज हुने पनि बताउनुभयो । उहाँले तिनै तहको सरकार विधि र नियमअनुसार चल्नुपर्नेमा जोड दिनुभयो ।
‘‘निर्वाचित हुँदैमा विधि र कानुनभन्दा माथि कोही पनि हुँदैन । जनप्रतिनिधि भइसकेपछि म विधिभन्दा माथि छु भन्ने ठानेपछि अलोकतान्त्रिक र तानाशाही भएको गन्ध आउँछ,’’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘‘स्थानीय नागरिकको चाहना र जनप्रतिनिधिबिच कम्युनिकेशन सही रुपमा नहुँदा समस्या आउने गरेको छ । जनचाहना बुझेर जनप्रतिनिधिले विधि र नियमअनुसार काम गर्नुपर्छ ।’’
त्यस्तै, उपप्रधानमन्त्री सिंहले तानाशाहबाट देश र समाज विकास हुन नसक्ने पनि बताउनुभयो । आफ्नै भोगाइले त्यस्तो निष्कर्षमा पुगेपछि समाजेसवाका लागि सशक्त माध्यम भएकाले राजनीतिमा आएको पनि उहाँको भनाइ छ । ‘‘राजनीतिमा आएको ठुलो मान्छे बन्न होइन । पदमा भए पनि नभएपनि केही छैन । प्राप्त अधिकार सुरक्षित र संस्थागत गर्दै नेपाली जनताको जीवन र जिविकोपार्जन सहज बनाउन दलहरु मिलेर काम गर्नुपर्छ,’’ उहाँले भन्नुुभयो ।
नदि प्रणाली सुधार्न सेफ्टी ट्याङ्की
त्यस्तै, उपप्रधानमन्त्री सिंहले उपत्याकाको नदि प्रणाली सुधार गर्नुपर्ने भन्दै त्यसका लागि सबैको साथको आवश्यक्ता रहेको बताउनुभयो । ‘‘यहाँको नदि प्रणाली सुधार गर्नुपर्यो । सिंहदरबार जाँदा धोबीखोला गन्हाउँछ । विष्णुमति, धोबिखोला किनारमा पनि अवस्था उस्तै छ । यसको सुधार सरकारले मात्र गरेर हुन्छ ? सबैले चासो राख्नुपर्यो,’’ उहाँले भन्नुुभयो, ‘‘बाग्मती, विष्णुमति, धोबिखोलालगायतका नदिनाला ढलमा परिणत भइरहेको छ । यसलाई रोक्न आफ्नो घरको ढल नदि नालामा नपपठाउन गर्नुपर्ने काममा सजग हुनुपर्यो ।’’
उहाँले हरेक घरमा र नभए सम्भव हुने ठाउँमा बनाउनुपर्ने बताउनुभयो । त्यस्तै, उपप्रधानमन्त्री सिंहले नदि किनारमा अतिक्रमित जग्गा फिर्ता ल्याउनुपर्ने बताउँदै उहाँले त्यसका लागि सरकारले काम अघि बढाउँदा नागरिकले साथ दिनुपर्नेमा जोड दिनुभयो ।