• २६ फागुन २०८१, सोमबार

न्यायालयमा महिलाको उपस्थिति पर्याप्त छैनः न्यायाधीश मल्ल

blog

सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल सोमबार ललतिपुरमा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, फागुन २६ गते । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले न्यायालयमा महिलाको उपस्थिति केही बढेको भए पनि पर्याप्त नरहेको बताउनुभएको छ ।

सोमबार ललतिपुरमा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले निर्णायक तहमा महिलाको उपस्थिति अझै कमजोर रहेको बताउनुभयो । उहाँले उपस्थितिलाई कसरी बाक्लो बनाउने, कसरी प्रभावकारी बनाउने भन्नेकुरा आजको बहसको विषय भएको बताउनुभयो । उहाँले पुरुषको क्षमताको प्रश्न नउठ्ने तर महिलाको सक्षमताको बारेमा हरेक क्षण प्रश्न उठ्ने गरेको भन्दै महिलाले आफूलाई स्थापित पनि गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

न्यायाधीश मल्लले अहिले न्यायालयमा पनि महिलाको उपस्थिति बाक्लो रहेको जानकारी दिनुभयो । उहाँले कर्मचारी, सुरक्षा, वकील लगायत न्याय क्षेत्रको पत्रकारितामा पनि माहिलाहरुकै नेतृत्व रहेको देख्दा खुशी लागेको बताउनुभयो ।

‘‘युएन वुमेनले एक्सेस टु जस्टिसको अध्ययन गर्दा एक पटक सय जना महिलालाई अध्ययन गरेर हेरेको थियो । उनीहरुले ७५ प्रतिशतले हामी अदालत जाँदैनौँ भने । किनभने कानून पनि विभेदपूर्ण छ । न्यायपालिकामा जाँदा सबै पुरुष नै पुरुषका बीचमा आफ्ना कुरा भन्नै अप्ठ्यारो लाग्छ । सहज वातावरण कसरी सिर्जना गर्ने ? आजकाल त गर्व लाग्छ ।,’’ न्यायाधीश मल्लले भन्नुभयो, ‘‘किनभने महिला अधिकृतहरु बेन्चमा हुनुहुन्छ, बहस गर्ने सरकारी वकील पनि धेरै महिला हुनुहुन्छ, वैतनिक पनि महिला हुनुहुन्छ र निजी क्षेत्रबाट धेरै वकील नै हुनुहुन्छ । सुरक्षा दिन पनि महिला नै हुनुहुन्छ ।’’

न्यायाधीश मल्लले स्वच्छ र समानतामुलक न्याय आजको आवश्यकता भएको बताउनुभयो । 

‘‘पत्रकारहरुले जुन कभर गर्नुहुन्छ कानुनको त्यहाँ पनि महिलाले नै नेतृत्व गर्नुहुन्छ । त्यो भनेर हामीले पुरुष पनि हाम्रो लागि महत्त्वपूर्ण हुन्छ । महिलाको उपस्थिति केही हदसम्म देखिएको छ तर पर्याप्त छैन । निर्णायक तहमा महिलाको उपस्थिति कम छ ।,’’ उहाँले भन्नुभयो, ‘‘उपस्थितिलाई कसरी बाक्लो बनाउने, कसरी प्रभावकारी बनाउने हो । पुरुषको क्षमताको प्रश्न उठ्दैन तर महिलाको सक्षमताको प्रत्येक दिन, प्रत्येक क्षण प्रश्न उठ्छ । हामीले आफूलाई स्थापित पनि गर्नुपरेको छ ।’’