• १९ चैत २०८१, मङ्गलबार

महोत्तरीमा एसइई दिने परीक्षार्थीको सङ्ख्या वृद्धि

blog

महोत्तरीको गौशालास्थित त्रिभुवन मावि केन्द्रमा गत वर्ष एसईई दिँदै परीक्षार्थी ।

रवीन्द्र उप्रेती

बर्दिबास, फागुन २५ गते । एसइई परीक्षामा महोत्तरीबाट सहभागी हुने परिक्षार्थीको सङ्ख्या यो वर्ष (०८१) १ दशमलव ०३२ प्रतिशतको झिनो अङ्कले वृद्धि भएको छ । तथापि नियमित साधारणतर्फका परीक्षार्थीको सङ्ख्या भने ७९ जनाले घटेको छ । 

शिक्षा विकाश तथा समन्वय एकाइ कार्यालय महोत्तरीका अनुसार आगामी चैत ७ गतेदेखि सञ्चालन हुने एसइईमा महोत्तरी जिल्लाबाट सहभागी हुने परीक्षार्थीको सङ्ख्या दस हजार ९४६ पुगेको हो । यसमध्ये नियमित साधारणतर्फ आठ हजार ७५२, प्रविधिकतर्फ ५०९ र ग्रेड वृद्धितर्फका परीक्षार्थीको सङ्ख्या एक हजार ६५० जना रहेको छ । यो वर्ष एसइई दिने छात्राको सङ्ख्या पाँच हजार ४६६ पुगेको एकाइ कार्यालय परीक्षा फाँटका पंकज झाले बताउनुभयो ।

गत वर्ष (०८०) मा महोत्तरीबाट एसइई दिनेको कुल सङ्ख्या नौ हजार ४३१ मात्र थियो । त्यसमध्ये नियमित साधारणतर्फका परीक्षर्थीको सङ्ख्या आठ हजार ८३१ जना थियो। यो वर्ष परीक्षार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि नभएकोले गत वर्षको ३२ वटा परीक्षा केन्द्रलाई नै यो वर्ष पनि कायम राखिएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख रेविका अमात्यले बताउनुभयो ।

तोकिएका केन्द्रमध्ये लक्ष्मी चण्डी मुरारका मावि जलेश्वरवाट सबैभन्दा बढी ४५७ जना तथा सबैभन्दा कम श्री मावि भङ्गाहा सीतापुरबाट २०८ जना विद्यार्थी सहभागी छन् । 

यो वर्ष महोत्तरीमा एसइईमा सहभागी हुने सामुदायिक विद्यालयको सङ्ख्या गत वर्षभन्दा ५ वटाले वृद्धि भई १०७ पुगेको छ । ३० वटा संस्थागत गरी १३७ माध्यमिक विद्यालयले यो वर्ष एसइईमा विद्यार्थी सहभागी गराएका अमात्यले जनाउनुभयो. । गत वर्ष सहभागी हुने विधालयको सङ्ख्या १३२ वटा मात्र थियो । 

यसअघि प्रमुख जिल्ला अधिारी लालवावु कवाडीको अध्यक्षतामा बसेको जिल्ला परीक्षा समन्वय समितिको बैठकले केन्द्र निर्धारण गरे पनि केन्द्रध्यक्ष भने अहिलेसम्म तोकेको छैन । यसबिच होली पर्ने भएकोले त्यसलगत्तै समितिले केन्द्रध्यक्ष तोक्ने र केन्द्रध्यक्षले सहायक केन्द्रध्यक्ष लगायतका परीक्षाकर्मी खटनपटन गर्ने सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जनाउनुभयो । 

उहाँले भन्नुभयो, "प्रश्न पत्रको सुरक्षाको सवाल पनि भएकाले परीक्षाको दुई तीन दिन अघिमात्र केन्द्रध्यक्षलाई अभिमुखिकरण, उत्तरपुस्तिका लगायत परीक्षा सामग्री वितरण, सुरक्षाकर्मी परिचालन जस्ता बन्दोवस्ति गरिने छ ।"

एकाइ प्रमुख रेविका अमात्यले परीक्षालाई स्वच्छ, मर्यादित र सदाचार युक्त बनाउन सवैको सहयोग, सहकार्य र शुभेच्छा प्राप्त हुनेमा आफूहरू आशावादी रहेको बताउनुभयो ।