• ७ वैशाख २०८२, आइतबार

महिला, हिंसा र बलात्कारका विषयमा जवाफ दिन सरकारलाई रुलिङ

blog

अध्यक्ष नारायणप्रसाद दाहाल आइतबार बसेको राष्ट्रियसभा बैठकमा बोल्नुहुँदै । तस्बिर : केशब गुरुङ

काठमाडौँ, फागुन २५ गते । राष्ट्रियसभाले महिला, बालबालिका, हत्या, हिंसा, बलात्कारका विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेको छ ।

सभाको तर्फबाट आइतबारको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शून्य र विशेष समयमा सांसदहरूले सभाको बैठकमा उठाउनुभएका महिला, बालबालिका, हत्या, हिंसा, बलात्कारलगायतका विषयमा जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको हो ।

बैठकमा अध्यक्ष दाहालले शिक्षकहरूको आन्दोलन, स्वर्गद्वारी गुठीका समस्या, दलित, आदिवासी, जनजाति, किसानका समस्या, सुशासन, सेवा प्रवाह लगायतका समसामयिक विषयमा गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदै राष्ट्रियसभाको नियमावलीले तोकेको समयावधि भित्र सभामा आई जवाफ दिन नेपाल सरकार र सम्बन्धित मन्त्रीहरूलाई आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘‘११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा साथै शून्य समय र विशेष समयमा मान्य सदस्यहरूले आफ्ना भनाइ राख्ने क्रममा उठाउनुभएका महिला, बालबालिका, हत्या, हिंसा, बलात्कार लगायतका विषय, शिक्षकहरूको आन्दोलन, स्वर्गद्वारी गुठीका समस्या, दलित, आदिवासी, जनजाति, किसानका समस्या, सुशासन, सेवा प्रवाह लगायतका समसामयिक विषयमा गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदै राष्ट्रियसभाको नियमावलीले तोकेको समयावधि भित्र सभामा आई जवाफ दिन नेपाल सरकार र सम्बन्धित मन्त्रीहरूलाई आग्रह गर्दछु ।’’

राष्ट्रियसभाको अर्को बैठक चैत्र ४ गते सोमबार सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।