ललित बसेल
सुर्खेत, फागुन २५ गते । आगामी जेठ ३ गतेदेखि कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मूल आयोजक समितिको सचिवालय सुर्खेतमा स्थापना गरिएको छ ।
आइतवार युवा तथा खेलकुद मन्त्री तथा प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष तेजुलाल चौधरी, कर्णाली प्रदेशका मुख्यमन्त्री एवं प्रतियोगिता मूल आयोजक समितिका सहअध्यक्ष यामलाल कँडेलले वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा सचिवालयको उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले जेठ ३ गतेदेखि तोकिएको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अब कुनै बहानामा नसर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले विगतमा दुई पटक मिति तोकेर पनि विभिन्न प्राविधिक कारणले प्रतियोगिता हुन नसके पनि अहिले ती समस्याहरु समाधान गर्दै गएकोले जेठ ३ गतेदेखि प्रतियोगिता हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।
मन्त्री चौधरीले कर्णालीले उत्कृष्ट रङ्गशाला निर्माण गरेर खेल पर्यटनको विकास गरेकोमा धन्यवाद व्यक्त गर्दै प्रतियोगिताको सचिवालय स्थापना भएपछि प्रतियोगिता हुँदैन कि भन्ने आशङ्काको अन्त्य भएको बताउनुभयो । उहाँले कर्णाली प्रदेश खेलकुद परिषद् सदस्य सचिवविहीन भएको हुँदा छिटो नियुक्त गर्न निर्देशनसमेत दिनुभयो ।
प्रतियोगिताका लागि आवश्यक पर्ने खदिर आदेशलगायतका टेण्डरहरु प्रक्रियामा गइसकेकोले अब तोकिएकै मितिमा प्रतियोगिता हुने र तयारीमा जुट्न उहाँले आग्रह गर्नुभयो ।
जेठमा गर्मी हुने भए पनि त्यसको उचित व्यवस्थापना गरेर प्रतियोगिता हुने र जेठमा पनि नभए यो आर्थिक वर्षमा प्रतियोगिता हुन नसक्ने भएकोले कुनै बहाना र निहुँमा प्रतियोगिता नसर्ने खेलाडी तथा सरोकार पक्षलाई उहाँले अपिल गर्नुभयो ।
कर्णालीका मुख्यमन्त्री एवं प्रतियोगिता मूल तयारी समितिका सहअध्यक्ष यामलाल कँडेलले प्रतियोगिता सचिवालय स्थापना गरिएपछि प्रतियोगिता नहुने आशङ्का अन्त्य भएको बताउनुभयो । उहाँले मूल आयोजक समितिले अब प्रतियोगिताको मिति नसार्न आग्रह गर्दै उहाँले सवैले तोकिएकै मितिमा प्रतियोगिता हुन्छ भन्ने सन्देश फैलाउन आग्रह गर्नुभयो ।
सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले अब खेलाडी र प्रशिक्षकहरुलाई प्रतियोगिताको तयारी गर्न आग्रह गर्नुभयो भने राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले प्रतियोगिताले कर्णालीमा खेल पर्यटनको विकास हुने जिकिर गर्नुभयो ।
उहाँले प्रतियोगिताले खेलाडीहरुको खोजी, उत्पादन र संरक्षण गर्ने भएकोले अब तोकिएको मितिमा प्रतियोगिता हुने दाबी गर्नुभयो । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले प्रतियोगितालाई व्यवस्थित गराउनका लागि स्थानीय तहले पूर्ण प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले यही फागुन २० गते मूल आयोजक समितिको बैठकले फागुन २५ गते सुर्खेतमा सचिवालय स्थापना गर्ने निर्णय अनुसार आइतवार कर्णाली प्रदेश रङ्गशालामा सचिवालय स्थापना गरिएको बताउनुभयो । उहाँले अब यही सचिवालयबाट प्रतियोगिताका प्रशासनिकलगायत कामहरु सञ्चालन गरिने जानकारी दिनुभयो ।