काठमाडौं, फागुन २५ गते । राष्ट्रियसभामा नेपाली कांग्रेसका सांसद कमला पन्तले राज्यको विभिन्न निकायमा महिलाको सहभागिता उल्लेख वृद्धि भएको बताउनुभएको छ । आइतबार रष्ट्रियसभाको विशेष समयमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
सांसद पन्तले स्थानीय तह सरकारमा महिलाको सहभागिता सबैभन्दा बढी ४१ प्रतिशत पुगेको बताउनुभयो । उहाँले सहभागिताको हिसावले महिलाको सङ्ख्या वृद्धि भएको देखाए पनि अर्थपूर्ण सहभागितामा धेरै कमजोरी रहेको जानकारी दिनुभयो ।
महिला तथा बालबालिकाको क्षेत्रमा राज्यले गरेको कतिपय प्रतिबद्धता नारामा सीमित भएको उहाँको भनाइ छ । उहाँले राज्यका निकायहरुमा महिलाको उपस्थिति अर्थपूर्ण बनाउनका लागि थप उदार नीति अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।
‘‘महिला र बालबालिका भनेपछि एकआपसमा अन्तरसम्बन्ध छ भन्ने हाम्रो मान्यता पनि हो र वास्तविकता पनि त्यही हो । तर केही समययता केही कुरा नारामा सीमित भएका छन् । अब प्रोग्रेसिभ हुँदै जानुपर्नेमा हाम्रा केही ठाउँमा हामीले गरेका प्रतिबद्धता लागू भएका छन् । सहभागिताका हिसाबले वृद्धि भएको छ । तर अर्थ पूर्ण सहभागितामा कमजोरी छ । महिलाहरुको अबको मुद्दा भनेको अर्थपूर्ण सहभागिता हुनुपर्यो ।,’’ सांसद पन्तले भन्नुभयो, ‘‘केही छिद्र भेट्टाउने बित्तिकै महिलाहरुलाई बाइपास गर्ने कमजोर बनाउने पछि पार्ने परिपाटी अहिले पनि छदै छ । यसमा सकारात्मक पक्ष भन्दा सङ्घीय संसदमा ३४ प्रतिशत प्रदेशसभामा ३६ दशमलव ५ प्रतिशत स्थानीय तहका ४१ दशमलव १ प्रतिशत र निजामती सेवामा केही वर्ष अघि चार प्रतिशत रहेकोमा अहिले २८ प्रतिशत पुगेको छ । यसमा थप उदार हुनुपर्ने अवस्था छ ।’’
राष्ट्रियसभा सदस्य पन्तले महिला भएकै कारणले महिलाले असमानता बेहोर्नुपरेको बताउनुभयो । छोरी र छोराको बिचमा विभेदको अन्त्य गराउन बलियो कानुन आवश्यक भएको उहाँको भनाइ छ ।